
काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तन र पर्यावरण संरक्षणको एजेन्डालाई मुख्य केन्द्रविन्दुमा राख्दै कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यस वर्षको बीपी स्मृति दिवसलाई भिन्न किसिमले मनाएको छ । पारम्परिक राजनीतिक औपचारिकता–बिलासा बाहिर निस्किएर प्रतिष्ठानले खेलकुद, कला र बौद्धिक संवादको अनौठो संयोजनमार्फत पर्यावरण जोगाउने सन्देश प्रवाह गरेको छ ।
आज साउन ६ गते आयोजित कार्यक्रममा ‘ग्रीन रन’ दौडसँगै जलवायु परिवर्तनको संकटलाई उजागर गर्ने उद्देश्यले सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिएका थिए । कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको ‘ग्रीन टेबल संवाद’ मा ‘जलवायु परिवर्तन र नेपाल स् प्रकृति, लोकतन्त्र र भावी पुस्ता’ भन्ने गम्भीर विषयमाथि गहन बहस भएको थियो ।
उक्त प्यानल डिस्कसनमा जलवायु विज्ञहरू मञ्जित ढकाल, अभिषेक यादव, डा. मनु कार्की र सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले नेपालले भोगिरहेको जलवायु संकट र यसको राजनीतिक–सामाजिक असरबारे विचार राखेका थिए भने संवादको सहजीकरण रोशनी गिरीले गरेकी थिइन् ।
वातावरण संरक्षणप्रतिको सचेतनालाई कलामार्फत अभिव्यक्त गर्न लाइभ चित्रकला प्रदर्शनीलाई पनि विशेष प्राथमिकता दिइएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरसहित २१ जना ख्यातिप्राप्त तथा युवा कलाकारहरूले प्रत्यक्ष रूपमा क्यानभासमा जलवायु र प्रकृतिको यथार्थ उतारेका थिए ।
प्रतिष्ठानका सदस्य गोकुल लिम्बूको संयोजनमा भएको यो कला प्रदर्शनले पर्यावरण संकटप्रति जनचेतना जगाउन कला क्षेत्रको बलियो भूमिका रहेको सन्देश दिएको छ ।
यसैगरी, स्वस्थ जीवनशैली र पर्यावरणमैत्री गतिशीलताको संदेश बोकेको ‘ग्रीन रन’ प्रतियोगितामा नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो । प्रतियोगिताका लागि ३ हजार ३ सय ८४ जनाले अनलाइन दर्ता गराएकोमा १ हजार ७६० जना धावकहरूले मैदानमा प्रतिस्पर्धा गरेका थिए ।
दौडमा मुकेशबहादुर पाल प्रथम, नरेन्द्रसिंह रावत द्वितीय र सञ्जय श्रेष्ठ तृतीय भएका थिए । खेलकुद, कला र नीतिगत बहसलाई एकैसाथ जोडेर आयोजना गरिएको यो कार्यक्रमले राजनीतिक दलहरूले पनि जलवायु परिवर्तन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा समाजलाई गोलबन्द गर्नुपर्ने खाँचोलाई स्पष्ट पारेको छ ।
कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिने धावक, कलाकार, प्यानलिस्ट, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूप्रति प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस नोटमार्फत आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया