सबै क्षेत्र र निकायबाट भ्रष्टाचारको जरा उखेल्ने उद्देश्य
सरकारले पहिलो पटक ल्यायो राष्ट्रिय सदाचार नीति
विक्रम रत्न२०८३ असार २५ गते ६:०० मा प्रकाशित
‘सरकारले जुन हिम्मतले नीति पारित गर्यो, त्यही हिम्मतले लागू पनि गर्नुपछ’
गोपीनाथ मैनाली
२०७४ सालमै यो नीति मसौदा गरेर मन्त्रिपरिषद्मा पठाइएको थियो । तर, विभिन्न स्वार्थ समूहका कारण आउन सकेन । ९ वर्षपछि भए पनि नीति आउनु सकारात्मक छ । अहिलेको सरकार एकल बहुमतको छ, यसले साहस गरेर नीति कार्यान्वयन गर्नुपर्छ । राजनीति, व्यापार र प्रशासनको क्षेत्रमा यो नीति बढी लागू हुनुप¥यो । त्यसपछि क्रमशः संवैधानिक निकाय, न्यायालयलगायतमा हुनुपर्छ । कार्यालय सहयोगीदेखि राष्ट्रपतिसम्मलाई समान रूपमा लागू हुनुपर्छ । सानो क्लबदेखि ठुलो आइएनजिओ, सानो पसलदेखि ठुलो बहुराष्ट्रिय कम्पनीसम्म समान हुनुपर्छ । नियमित अनुगमन हुनुपर्छ । प्रधानमन्त्री कार्यालयमा सदाचार सेल हुनुपर्छ । – गोपीनाथ मैनाली, पूर्वसचिव
काठमाडौँ । सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गरेको छ । गत साता बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति पारित गरेको हो । समाजका सबै क्षेत्रमा इमान, निष्ठा र सदाचार कायम गर्दै सुशासन प्रवर्धन गर्ने उद्देश्यले नीति ल्याइएको सरकारले जनाएको छ । यसअनुसार संघ, प्रदेश र स्थानीय तहले आवश्यक ऐन, कानुन र आचारसंहिता निर्माण गरी सदाचारलाई संस्थागत गर्नुपर्नेछ । नीति कार्यान्वयन भए–नभएको अनुगमन गर्न संयन्त्रसमेत बनाइने व्यवस्था गरिएको छ ।
सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन र नागरिकमा सदाचारयुक्त चेतना विकास गर्ने लक्ष्यसहित नीति ल्याएको हो । सदाचारसम्बन्धी संवैधानिक, कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था हुँदाहुँदै प्रभावकारी कार्यान्वयन, समन्वय र एकीकृत दिशानिर्देशनको अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकारको निष्कर्ष छ । विभिन्न निकायका प्रयास छरिएर रहेकाले सदाचार प्रवर्धनमा एकरूपता कायम हुन नसकेको भन्दै स्पष्ट लक्ष्य, प्राथमिकता र कार्यान्वयन ढाँचासहितको एकीकृत नीति आवश्यक भएको सरकारले जनाएको छ । नीतिले सदाचारयुक्त समाजमार्फत् सुशासन र समृद्धि हासिल गर्ने दूरदृष्टि लिएको छ । समाजका सबै क्षेत्रमा इमान्दारिता, निष्ठा र सुशासन प्रवर्धन गर्नु, सुसंस्कृत समाज निर्माण गर्नु, सदाचारसम्बन्धी अध्ययन–अनुसन्धान तथा नियमनको संस्थागत व्यवस्था गर्नु तथा कार्यान्वयन, अनुगमन र स्वनियमन प्रणाली विकास गर्नु यसको प्रमुख उद्देश्य हो । नीतिअनुसार सार्वजनिक निकायका मूल्य–मान्यतालाई सदाचारमैत्री बनाइनेछ । निर्णय प्रक्रियामा पारदर्शिता, जबाफदेहिता र सहभागिता सुनिश्चित गरिनेछ । सदाचारसम्बन्धी अध्ययन तथा अनुसन्धानबाट प्राप्त सुझावलाई नीतिनिर्माणमा उपयोग गरिने र विद्यालयदेखि विभिन्न प्रशिक्षण कार्यक्रमसम्म सदाचार शिक्षालाई समावेश गरी मानवीय मूल्य प्रवर्धन गरिने उल्लेख छ ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवर्धन गर्ने, नियामक निकायलाई सबल बनाउने, नागरिकका गुनासो सम्बोधन प्रणालीलाई प्रभावकारी बनाउने, मूल्यांकन तथा सम्मानमा सदाचारलाई आधार बनाउने र स्वनियमन, स्वमूल्यांकन तथा स्वपरीक्षणलाई प्रोत्साहन गर्ने व्यवस्था पनि नीतिमा समेटिएको छ । नीति कार्यान्वयनका लागि सरकारले सबै क्षेत्रमा लागू हुने सदाचार ऐन निर्माण गर्ने कार्यनीति लिएको छ । सार्वजनिक निकायमा स्पष्ट आचारसंहिता लागू गरिने, संस्थागत संरचनामै नैतिक आचरणका मापदण्ड समावेश गरिने तथा तालिम, कार्यशाला र सञ्चारमाध्यममार्फत् जनचेतना अभियान सञ्चालन गरिने उल्लेख छ ।
राष्ट्रिय सतर्कता केन्द्रबाट सार्वजनिक, निजी तथा गैरसरकारी क्षेत्रलाई आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । विद्यालय, विश्वविद्यालय र अनौपचारिक शिक्षाको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गरिने तथा शिक्षक र प्रशिक्षकलाई तालिम दिने व्यवस्था गरिएको छ । सबै तहका प्रशिक्षण कार्यक्रममा सदाचार शिक्षा समावेश गरिने र लोकसेवा आयोगलगायत भर्ना निकायको पाठ्यक्रममा नैतिकता तथा सदाचारका विषय राखिनेछ । प्रत्येक सार्वजनिक निकायमा सदाचार परिपालना संयन्त्र गठन गरी जोखिममा आधारित सुपरीवेक्षण गरिने पनि नीतिमा उल्लेख छ ।
नीतिले नागरिक, जनप्रतिनिधि, सार्वजनिक पदाधिकारी, राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, शैक्षिक तथा प्राज्ञिक क्षेत्र, कूटनीतिक निकाय, वित्तीय संस्था, धार्मिक तथा सामाजिक संघसंस्था र विदेशी नागरिकको समेत भूमिका निर्धारण गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले सबै निकायमा नीति, कानुन र आचारसंहिताको कार्यान्वयन नियमित अनुगमन तथा निरीक्षण गर्नेछ । कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती र सुधारका उपाय समेटिएको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र प्रधानमन्त्री कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सदाचारिता मूल्यांकनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा ५ सदस्यीय विज्ञ समूह गठन गरिनेछ । प्रत्येक सार्वजनिक निकायमा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि सम्पर्क विन्दु तोकिनेछ । न्यायालयमा न्याय परिषद्मार्फत् संस्थागत व्यवस्था गरिने तथा व्यवस्थापिकामा संसद् सचिवालयअन्तर्गत सदाचार प्रवर्धन एकाइ रहने उल्लेख छ । नीति कार्यान्वयनमा समन्वय र मार्गदर्शनका लागि मुख्यसचिवको संयोजकत्वमा निर्देशक समिति गठन गरिनेछ ।
संघ, प्रदेश र स्थानीय तहले यस नीतिअनुसार आचारसंहिता, ऐन र नियम निर्माण गरी लागू गर्नुपर्नेछ । सबै निकायले आफ्नो संस्थामा भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्धनका लागि सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सतर्कता केन्द्रले नीति कार्यान्वयनको नियमित अनुगमन र मूल्यांकन गर्ने तथा ५ वर्षपछि स्वतन्त्र विज्ञ समूहबाट समीक्षा गरी आवश्यक संशोधन गरिने उल्लेख गरिएको छ । सरकारले राष्ट्रिय सदाचार नीतिलाई सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका लागि मूल तथा मार्गदर्शक नीति बनाएको छ । प्रदेश र स्थानीय तहले पनि आफ्ना नीति, कानुन र आचारसंहितालाई यसअनुकूल परिमार्जन गर्नुपर्ने व्यवस्था नीतिमा गरिएको छ ।
प्रतिक्रिया