कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, त्यसअघि राष्ट्रिय भेला बोलाइँदै

निधि, सिंह र कोइराला निरन्तर भेटघाटमा

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले संस्थापनसँग सहमति नजुट्ने निष्कर्षसहित समानान्तर महाधिवेशन गर्ने संकेत गरेको छ । त्यसको तयारी स्वरूप केही दिनभित्रै राष्ट्रिय भेला बोलाउने इतर पक्षको तयारी छ । राष्ट्रिय भेला बोलाउने सन्दर्भमा इतर पक्षका नेताहरू पूर्वउपभापति विमलेन्द्र निधि, पूर्वउपसभापति प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालाबीच छलफल भएको हो । निधिको अग्रसरतामा भएको छलफलमा नेपालको राष्ट्रिय राजनीति र पार्टीभित्र देखापरेका समस्या समाधान र भावी रणनीतिको सम्बन्धमा छलफल भएको जनाइएको छ ।

छलफलमा सहभागी नेता निधिका अनुसार रास्वपाको महाधिवेशनमा प्रदेशसभालाई खारेज गर्ने, निर्वाचन प्रणालीलाई एउटा मात्रै बनाउने, गैरदलीय स्थानीय तह र गैरदलीय राष्ट्रियसभा, प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत प्रस्तावले संघीयता र समावेशिता नै खारेज हुने हो कि ! भन्ने आशंका उनीहरूको छ । रास्वपाको उक्त योजना विफल पार्न कांग्रेसले अग्रसरता लिनुपर्ने र त्यहीअनुरूप पार्टीभित्र र बाहिर संगठित गराउन भूमिका खेल्ने निष्कर्ष निकालेको निधिले बताए । ‘संघीय प्रणाली समाप्त पार्ने शंका उब्जियो । यसलाई जोगाउन कांग्रेसले अग्रसरता लिनुपर्छ । पार्टीभित्र संगठित गर्नुपर्छ र बाहिरका लोकतान्त्रिक शक्तिहरूलाई पनि एकतावद्ध बनाउनुपर्छ भन्ने कुरा भएको छ,’ उनले बताए ।

संस्थापनसँग रुष्ट इतर समूह

कांग्रेसमा सहमति कायम गर्न इतर पक्षले नेता पूर्णबहादुर खड्कामार्फत् प्रस्ताव राखेको भए पनि संस्थापनले त्यसलाई स्वीकार नगरी समय व्यतीत गर्न खोजेको ठहर ३ नेताले गरेका छन् । संस्थापनले प्रस्ताव स्वीकार नगर्ने, तर भ्रम फैलाउने र जालझेल गरेको उनीहरूको ठहर छ । त्यसप्रति आफूहरू चिन्तित रहेको निधिले बताए । इतर पक्षले सातै प्रदेशमा भेला गरिसकेको छ भने आज (शुक्रबार) नेता पूर्णबहादुर खड्काले शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम राखेका छन् । शीर्ष नेताहरूको छलफलपछि इतर पक्षको विस्तारित भेला राख्ने र राष्ट्रिय भेला बोलाइने निधिले जानकारी दिए । केही दिनभित्रै राष्ट्रिय भेला बोलाइने उनले बताए ।

महाधिवेशन तयारीका लागि इतर समूहले महाराजगन्जको चुनदेवीमा कार्यालयसमेत खोलिसकेको छ । नेता निधिले महाधिवेशन तयारीका लागि कार्यालय बनाइएको पुष्टि गरे । कार्यालयको नाम नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय राखिने उनले जानकारी दिए । अहिले कार्यालयमा रङरोगन भइरहेको छ ।

प्रतिक्रिया