सर्वोच्चले मानेन विष्णु पौडेललाई रिहा गर्न, बन्दीप्रत्यक्षीकरण रिट नै खारेज

विशेषले थप्यो ६ दिन म्याद

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले सो रिट खारेज गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिट बिहीबार सुनुवाइका लागि पेसी चढेको थियो । असार १० गते पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिट सुनुवाइ हुँदा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत विरुद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुरका मुद्दाका सक्कल मिसिल झिकाएको थियो । यस्तै, असार ११ गते सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

यसैबीच, विशेष अदालतले एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि थप ६ दिन म्याद थप गरेको छ । सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई विशेष अदालतले तेस्रो पटक म्याद थप गरिदिएको हो । विशेषका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धान जारी राख्न ६ दिनको म्याद थप गर्ने आदेश दिएको हो ।

यसअघि गत सोमबार पौडेललाई विशेष अदालतले दोस्रो पटक म्याद थप गर्दै थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई सुरुमा ७ दिन हिरासतमा राख्न भनिएको थियो । ८ असारमा अनुसन्धानका लागि पक्राउ गर्न सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएसँगै पौडेल पक्राउ परेका थिए । पार्टी पुनर्गठनसम्बन्धी प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा सहभागी भइरहेका बेला स्थानीय शुभ होटलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कोहलपुरबाट सार्वजनिक माइक्रोबसमा काठमाडौँ ल्याइएका उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो । सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि २० दिन हिरासतमा राख्न अनुमति मागे पनि ७ दिनको मात्रै म्याद दिएको अदालतले पुनः ३ दिन र फेरि ६ दिन म्याद थपेको हो ।

विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी र आर्थिक कारोबारको आरोप उनीमाथि छ । रूपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा पौडेललाई पक्राउ गरिएको हो । उनीहरूले श्रीराम टोबाकोको सेयर सस्तो मूल्यमा भट्टलाई बिक्री गर्न विष्णु पौडेलले सहजीकरण गरेको बयान दिएका छन् । श्रीराम टोबाकोको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको प्रकरणको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् । भट्टसँग शंकास्पद सम्पर्क तथा कारोबार रहेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया