आफूहरूलाई हटाएर देखाउन युवाहरूलाई प्रचण्डको चुनौती

नेकपामा पुस्तान्तरणको बहस

काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनका लागि व्यापक रूपमा प्रयास भइरहे पनि संसद्को चौथो ठुलो दल नेपाली कम्युनिस्ट पार्टीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा क्रमशः कमजोर हुँदै गइरहेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित २६ भन्दा बढी दल र समूह मिलेर बनेको यस पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल स्वयं पुस्तान्तरणको मुद्दालाई कमजोर पार्न सक्रिय भएका छन् । २१ फागुनको चुनावअघि २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि आएका परिवर्तनलाई स्वाभाविक दृष्टिले हेर्नुपर्ने अभिव्यक्ति दिँदै आएका संयोजक प्रचण्ड चुनावपछि भने दिनप्रतिदिन वर्तमान राजनीतिक परिवर्तनप्रति कठोर सुनिन थालेका छन् ।

राजनीतिमा नवयुवा पुस्ताको उदय हुनुलाई गणतन्त्रका सुन्दर फूलको उपमा दिने उनै प्रचण्ड यतिखेर भने पार्टीभित्र ‘फुल्न खोजेका फूल’लाई रोक्न त उद्यत् छन् नै, फुलेर देखाउन चुनौतीसमेत दिएका छन् । उनी पार्टीका युवा पुस्ताको योग्यता र क्षमतामाथि प्रश्न उठाएर पुस्तान्तरणलाई नै विषयान्तर गर्न लागिपरेका हुन् । तर, पार्टीभित्र पुनर्गठनको माग गर्ने नेताहरू उनको कुरामा सहमत छैनन् । पार्टीको वैचारिक, राजनीतिक तथा संगठनात्मक पुनर्गठनका लागि पार्टीभित्र आवाज उठाइरहने युवा नेताहरू बताउँछन् ।

‘पुस्ता’ भन्ने शब्द दिमागबाट हटाउन निर्देशन

गत सोमबार पार्टीको केन्द्रीय कमिटीको बैठक भर्चुअल रूपमा बसेको थियो । सो बैठकमा उनले आफूहरू (संयोजक र सहसंयोजक) नेतृत्व छाड्न तयार रहेको बताएका त थिए, तर निश्चित विधि र पद्धति बनाएर मात्रै छाड्ने भन्दै आगामी महाधिवेशनसम्म कुर्न आग्रह गरेका थिए । नेकपाले आगामी मंसिर ११–१५ सम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । उनले नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस नेपालको अर्गानिक बहस नभएको भन्दै विभिन्न शक्ति केन्द्रलाई दोष लगाउनसमेत भ्याए । जसले नेकपाभित्रका दोस्रो, तेस्रोदेखि चौथो पुस्तासम्मलाई सशंकित बनायो ।

बिहीबार नेकपाको गण्डकी प्रदेश समितिले आयोजना गरेको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पुगेर प्रचण्ड पुस्तान्तरण माग्नेहरूप्रति झन् चर्को सुनिए । उनले आफूहरूलाई नेता–कार्यकर्ताले सच्याउन अथवा हटाउन सक्नुपर्ने बताए । अहिले नै छाडिहाल भन्नेहरू पनि रहेका भन्दै उनले पार्टी रूपान्तरण हुने भए छाड्न तयार रहेको जिकिर गरे । तर, आफूले छाडेकै भरमा रूपान्तरण नहुने जिकिर गरे । विधि र प्रक्रियाबाट नयाँ नेतृत्व निर्माण गर्ने बताएका उनले छिमेकी देश चीन, भारत तथा अमेरिकाको उदाहरण दिँदै विकसित देशमा पुस्तान्तरण नचाहिने, तर नेपालजस्तो गरिब देशमा किन पुस्तान्तरण चाहिने भनेर प्रश्न उठाए ।

‘चीन र भारतमा ७६÷७७ वर्षका सी जिनपिङ र नरेन्द्र मोदी नेतृत्वमा छन् । अमेरिकामा ८० वर्षभन्दा माथिका ट्रम्प छन् । त्यहाँ पुस्तान्तरण नचाहिने, नेपालजस्तो गरिब देशमा चाहिने ?,’ उनको भनाइ थियो, ‘राजा, महाराजा, प्रभुहरूलाई नेपोटिज्म लागू नहुने, क्रान्तिकारी, लोकतन्त्रवादीहरूलाई नेपोटिज्म ? त्यो भाषा हुनुभएन ।’ पार्टीको नयाँ पुस्तासँग विचार र राजनीति नभएको आरोप लगाउँदै उनले उमेर नभई विचार र राजनीति लिएर कोही आए छाडिदिने जिकिर गरे । ‘तपाईंहाम्रो दिमागमा पुस्ता भन्ने शब्द हटाएर सही विचार, नीति, कार्यदिशा हुनुप¥यो । ८० वर्षकाले ल्याए पनि ठिक छ, ४० वर्षकाले ल्याए पनि ठिक छ,’ उनले भने, ‘विचार र राजनीति ल्याउनेलाई मान्ने हो । तर साम्राज्यवादको बुइ चढेर, उनीहरूको भाषा प्रयोग गरेर उनीहरूलाई फाइदा पुग्ने गरी हो भने त्यो मान्न सकिँदैन ।’

संयोजक प्रचण्डले साम्राज्यवादको नाम लिएर पुस्तान्तरणको बहस ठाडै अस्वीकार गरेका छन् भने पार्टीमा विचार र राजनीति भएका कोही नभएको र आफूहरूलाई हटाउने ल्याकत पनि कोहीसँग नभएको भन्दै चुनौती दिएका छन् । जसले नेकपाको पुस्तान्तरण बहसलाई अझ पेचिलो बनाएको छ । करिब ४० वर्षदेखि नेतृत्वमा रहेका प्रचण्ड आगामी महाधिवेशनमा पनि आफ्नै विचार र राजनीति सही भएको ढोल पिटाउँदै नेतृत्वमा बसिराख्ने चाहनामा छन् ।

नेतृत्व लिन तयार रहेको युवा नेताहरूको सन्देश

पार्टी रूपान्तरण हुनुपर्ने भन्दै पार्टीभित्र आवाज भने उठिरहेकै छ । पार्टीको वैचारिक, सैद्धान्तिकदेखि संगठनात्मक क्षेत्रमा सुधार गर्नुपर्नेमा युवा नेताहरूको जोड छ । युवा नेता रञ्जित तामाङ पार्टीको सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक क्षेत्र पुनर्गठन गर्नुपर्ने अनिवार्य सर्त हुनुपर्ने बताउँछन् । विगतमा पार्टीले लिएको माक्र्सवाद, लेनिनवादको पथप्रदर्शक सिद्धान्तदेखि समाजवादमा पुग्ने लक्ष्यसम्म पार्टीले लिएको कार्यनीति कमजोर भएको भन्दै सिद्धान्तदेखि कार्यनीतिसम्म छलफल हुनुपर्ने उनको भनाइ छ । नेताहरूमा अठोट र इमानदारी नभएका कारण लक्ष्य प्राप्तिको बाटोमा नेपाली राजनीति अघि बढ्न नसकेको उनको ठहर छ ।

त्यस्तै, पार्टीको ४५ सदस्यीय केन्द्रीय संयोजन समितिबाट बढीमा २ जना मात्रै राखेर ४३ जनालाई बिदा गर्दै पछिल्लो पुस्तालाई समेट्नुपर्ने नेता तामाङको भनाइ छ । पार्टी कमिटीमा ६६ प्रतिशत प्रत्यक्ष निर्वाचित हुनुपर्ने र ३३ प्रतिशत मनोनीतको व्यवस्था गर्नुपर्ने, आगामी स्थानीय तह तथा प्रदेशसभा चुनावमा ५० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्नेलगायत एजेन्डा आफूहरूको भएको उनले उल्लेख गरे । ‘जुनसुकै तह र तप्कामा होस्, एउटै व्यक्ति अविच्छिन्न रूपमा कमिटी र नेतृत्वमा रहने हुनुहुँदैन । समयसीमा निश्चित गर्नुपर्छ,’ उनले भने, ‘हामी नेतृत्वको अवमूल्यन गर्ने पक्षमा छैनौँ । तर, आगामी दिनमा नयाँ पुस्तासहित अघि बढ्नुपर्छ । हाम्रो पुस्ता राजनीतिक, वैचारिक रूपमा नेतृत्व गर्न सक्षम छ ।’

प्रतिक्रिया