
चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ । ठेक्का सम्झौताको म्याद सकिन करिब ६ महिना बाँकी रहँदा परियोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार रंगशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने छ ।
हालसम्म एक वटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ । चारमध्ये एक वटा प्यारापिट निर्माण सम्पन्न भएको, दुई वटाको ढलान सकिएको तथा अर्को प्यारापिटको निर्माण कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।
मैदान निर्माणको काम पनि सुरु भइसकेको छ । मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन् ।
निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि रंगशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभाको १९औँ अधिवेशनमार्फत रंगशालाको बाँकी निर्माण सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ ।
बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने यस आयोजनाका लागि बजेट छुट्याएको छैन । यस्तै, महानगरले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद कार्यक्रम सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको थियो । आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसपछि महानगरपालिकाले बागमती प्रदेश सरकार तथा संघीय सरकारको सहकार्यमा निर्माण कार्य पुनः अघि बढाएको हो ।– तस्विर नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया