
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । खेलको पहिलो हाफमै उत्कृष्ट आक्रामक फुटबल पस्किएको मेक्सिकोले दुई गोलको अग्रता बनाएको थियो, जसलाई दोस्रो हाफमा रक्षात्मक रणनीतिमार्फत कायमै राख्न सफल भयो ।

खेलको २२ औँ मिनेटमा आर. अल्भाराडोको पासमा जे. क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि अर्थात् ३१ औँ मिनेटमा क्विनोनेसकै पासमा भेट्रान स्ट्राइकर आर. जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको मेक्सिकन टोलीले दोस्रो हाफमा भने बलियो ‘लो ब्लक’ रक्षापंक्ति बुन्दै इक्वेडरका प्रहारहरूलाई विफल तुल्याएको थियो । खेलको अतिरिक्त समयमा इक्वेडरका पिएरो हिन्कापीले रातो कार्ड पाए । मुख छोपेर बोलेका कारण उनलाई रेफ्रीले खेलको अतिरिक्त समयको पाँचौ मिनेटमा रातो कार्ड दिएका हुन् ।

प्रतिक्रिया