
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत अन्तिम ३२ चरणमा पोर्चुगल र क्रोएसियाबीच नेपाली समयअनुसार शुक्रबार बिहान क्यानडाको टोरन्टोस्थित बिएमओ फिल्डमा निकै प्रतिक्षित प्रतिस्पर्धा हुँदै छ । विश्वकप उपाधि जित्ने महत्वाकांक्षा बोकेको पोर्चुगल र पछिल्ला २ विश्वकपमा उत्कृष्ट प्रदर्शनसहित माथिल्लो स्थरको नतिजा ल्याइरहेको क्रोएसिया दुवैका लागि यो खेल निर्णायक हुनेछ । समूह चरणमा पोर्चुगल समूह ‘के’ बाट उपविजेताका रूपमा नकआउट चरणमा पुगेको थियो । पोर्चुगल समूह विजेता कोलम्बियाभन्दा २ अंकले पछि रह्यो । यस्तै, क्रोएसिया पनि समूह ‘एल’ मा इंग्ल्यान्डपछि दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको हो । इंग्ल्यान्ड र क्रोएसियाबीच समूह चरणमा १ अंकको अन्तर रहेको थियो ।
विश्व फुटबल वरीयतामा पाँचौँ स्थानमा रहेको पोर्चुगलले यसपटक उपाधि दाबेदार टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाएको भए पनि समूह चरणमा अपेक्षाअनुसार प्रभावशाली प्रदर्शन गर्न सकेन । समूहमा दोस्रो स्थानमा सीमित भएपछि प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीले नकआउट चरणमा अपेक्षाकृत कठिन यात्रा तय गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पोर्चुगलले आफ्नो पहिलो खेलमा डिआर कंगोसँग १–१ को बराबरी खेलेको थियो । उक्त खेलमा पोर्चुगलले आक्रमणतर्फ अपेक्षाकृत कमजोर प्रदर्शन गरेको देखिएको थियो । टोलीले सिर्जना गरेको अवसर निकै सीमित रहँदा विपक्षी डिआर कंगोले पनि बराबरीको खेल खेल्न सफल भएको थियो ।
त्यसपछि दोस्रो खेलमा भने पोर्चुगलले सानदार पुनरागमन गर्दै उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो । कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस खेलमा कोलम्बियाले लगातार दबाब सिर्जना गर्दै २४ पटक प्रहार गर्दा पोर्चुगलले १३ प्रहार मात्र गर्न सकेको थियो । समूहमा दोस्रो स्थानमा रहनुका कारण पोर्चुगल कठिन नकआउट मार्गमा परेको छ । यदि पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भयो भने सम्भावित रूपमा युरो २०२४ विजेता स्पेनसँग भिड्नुपर्ने अवस्था आउन सक्छ । त्यसपछि क्वार्टरफाइनलमा आयोजक राष्ट्र अमेरिकासहित बेल्जियम वा सेनेगलमध्ये कुनै एक टोलीसँग भेट हुने सम्भावना रहेको छ । सेमिफाइनलमा फ्रान्स वा मोरक्कोजस्ता बलिया टोली सम्भावित प्रतिद्वन्द्वी बन्न सक्छन् ।
यद्यपि इतिहासले भने पोर्चुगललाई केही आशा दिएको छ । युरो २०१६ को नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई पराजित गर्दै प्रतियोगितामा अघि बढेको थियो । त्यसपछि पोर्चुगलले अन्ततः पहिलोपटक युरोपेली च्याम्पियन बन्न सफल भएको थियो । त्यसबेला पनि समूह चरणमा टोलीको प्रदर्शन खास प्रभावशाली थिएन । हाल पोर्चुगल उत्कृष्ट लयमा पनि रहेको छ । विश्वकप छनोटअन्तर्गत आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगलले लगातार ८ खेलमा हार बेहोरेको छैन । यस अवधिमा टोलीले ५ जित र ३ बराबरी खेलेको छ । यी खेलमा पोर्चुगलले केवल ४ गोल मात्र बेहोरेको छ भने ४ खेलमा क्लिन सिट पनि राख्न सफल भएको छ ।
अर्कोतर्फ, क्रोएसियाले पछिल्ला विश्वकपहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको टोलीका रूपमा आफ्नो पहिचान बनाएको छ । सन् २०१८ मा उपविजेता बनेको क्रोएसियाले २०२२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यसैले यसपटक पनि टोलीको लक्ष्य कम्तीमा अर्को गहिरो यात्रा तय गर्ने रहेको छ । तर अन्तिम ३२ चरणमा क्रोएसियासामु बलियो चुनौती खडा भएको छ । प्रतियोगिताको सुरुआती खेलमै इंग्ल्यान्डसँग ४–२ ले पराजित भएपछि क्रोएसियाको सुरुआत सुखद् रहन सकेन । त्यसपछि भने टोलीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो खेलमा पानामालाई १–० ले पराजित ग¥यो । समूह चरणको अन्तिम खेलमा घानामाथि २–१ को कठिन जित निकाल्दै क्रोएसियाले नकआउट चरणमा स्थान सुरक्षित ग¥यो । घानाविरुद्धको खेलमा अनुभवी कप्तान लुका मोड्रिचले फेरि आफ्नो अनुभव देखाएका थिए । उनले खेलको ८३औँ मिनेटमा निकोला भ्लासिचलाई निर्णायक गोलका लागि पास उपलब्ध गराएका थिए । उक्त असिस्टसँगै मोड्रिच विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा निर्णायक असिस्ट गर्ने खेलाडी बनेका थिए ।
क्रोएसियाले पछिल्ला १६ प्रतिस्पर्धात्मक खेलमध्ये ११ खेल जितेको छ । यद्यपि यस अवधिका ४ वटै हार आफूभन्दा माथिल्लो वरीयतामा रहेका राष्ट्रविरुद्ध आएका छन् । यही तथ्यका कारण पोर्चुगलविरुद्धको खेलमा क्रोएसियाको सम्भावनालाई लिएर केही प्रश्न उठाइएको छ । हेड–टु–हेड तथ्यांकले पनि पोर्चुगललाई नै बलियो देखाउँछ । दुवै टोलीबीच भएका पछिल्ला १० भेटमध्ये पोर्चुगलले ७ खेल जितेको छ । प्रतिस्पर्धात्मक खेलहरूमा त पोर्चुगलले पछिल्ला ६ मध्ये ५ खेल आफ्नो पक्षमा पारेको छ । यद्यपि सन् २०२४ मा युइएफए नेसन्स लिगअन्तर्गत भएको भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।
टोलीको अवस्थातर्फ हेर्दा पोर्चुगललाई कुनै नयाँ चोटको समस्या देखिएको छैन । प्रशिक्षक रोबर्टो मार्टिनेजले समूह चरणभर विभिन्न खेलाडीलाई अवसर दिएका कारण नकआउट चरणमा केही परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । जोआओ नेभेस पुनः सुरुआती टोलीमा फर्कने सम्भावना रहेको छ । आक्रमणको अग्रपंक्तिमा कप्तान क्रिस्टियानो रोनाल्डो नै रहने निश्चितजस्तै छ । यस विश्वकपमा २ गोल गरिसकेका रोनाल्डोले लगातार ६ संस्करणको विश्वकपमा गोल गर्ने पहिलो फुटबलरका रूपमा नयाँ इतिहास बनाइसकेका छन् । उनीबाट टोलीले फेरि निर्णायक प्रदर्शनको अपेक्षा गरेको छ । रक्षापंक्तिमा नुनो मेन्डेस, रेनाटो भेइगा, रुबेन डियास र जोआओ कान्सेलो रहने सम्भावना छ भने गोलपोस्टको जिम्मेवारी डियोगो कोस्टाले सम्हाल्ने अपेक्षा गरिएको छ । मिडफिल्डमा भिटिन्हा र जोआओ नेभेस रहनेछन् भने ब्रुनो फर्नान्डेजले आक्रमण र मिडफिल्डबीचको भूमिकामा खेल्ने सम्भावना छ । पेड्रो नेटो र जोआओ फेलिक्सले रोनाल्डोलाई अग्रपंक्तिमा साथ दिने अनुमान गरिएको छ ।
क्रोएसियामा पनि कुनै नयाँ चोटको समस्या देखिएको छैन । प्रशिक्षक ज्लाट्को डालिचले नकआउट चरणलाई ध्यानमा राख्दै सुरुआती टोलीमा केही परिवर्तन गर्न सक्छन् । जोस्को ग्भार्डियोल पुनः लेफ्ट ब्याकमा फर्कने सम्भावना छ, जसले गर्दा इभान पेरिसिचलाई फेरि आक्रमणतर्फ खेलाउन सकिनेछ । मिडफिल्डमा लुका मोड्रिच र माटेओ कोभाचिचसँगै पेटार सुचिचले स्थान बनाउन सक्ने सम्भावना छ । घानाविरुद्ध गोल गरेका सुचिच उत्कृष्ट लयमा छन् । साथै, निर्णायक गोल गरेका निकोला भ्लासिचले पनि सुरुआती टोलीमा स्थानका लागि बलियो दाबी प्रस्तुत गरेका छन् ।
समग्रमा हेर्दा दुवै टोलीबीचको प्रतिस्पर्धा निकै सन्तुलित हुने अपेक्षा गरिएको छ । पोर्चुगलसँग व्यक्तिगत रूपमा विश्वस्तरीय खेलाडीहरूको बलियो समूह छ भने क्रोएसिया अनुशासित टोली खेल, अनुभव र ठुलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताका कारण परिचित छ । त्यसैले टोरन्टोमा हुने यो नकआउट भिडन्त विश्वकप २०२६ कै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ । विजेता टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गर्दै उपाधि यात्रालाई निरन्तरता दिनेछ भने पराजित टोलीको विश्वकप अभियान यही चरणमा समाप्त हुनेछ । यसैगरी, शुक्रबार बिहान १२ः४५ बजे सन् २०१० को विजेता स्पेन र अस्ट्रियाबीच खेल हुनेछ । बिहान ८ः४५ बजे स्विट्जरल्यान्ड र अल्जेरिया आमनेसामने हुनेछन् ।
प्रतिक्रिया