१५औँ महाधिवेशनअघि पार्टी दुइटाहुने कि विशेषकै नियति दोहोरिने !

कांग्रेस किचलो

काठमाडौँ । कुनै चामत्कारिक निर्णय नभएको खण्डमा नेपाली कांग्रेसको आगामी १६–१९ असोजमा हुने भनिएको १५औँ महाधिवेशनले गत पुसमा भएको विशेष महाधिवेशनकै नियति भोग्ने निश्चित देखिएको छ । पार्टीको आन्तरिक राजनीति दिनप्रतिदिन पेचिलो बन्दै जाँदा कांग्रेसमा एकताभन्दा विभाजनको सीमा नजिक भइरहेको छ । संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति तय गरेर महाधिवेशनकेन्द्रित तालिकाअनुसार संगठनात्मक काम अघि बढाइरहँदा इतर पक्ष भने राजनीतिक मुद्दा बोकेर बसिरहेको छ ।

गत २७ पुस–१ माघको कांग्रेसको विशेष महाधिवेशनलाई अवैध करार गरेर इतर पक्षले सर्वोच्च अदालतसमेत गुहा¥यो । तर, सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिए पनि इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई स्विकारेको छैन । नयाँ कार्यसमितिले नयाँ योजना र कार्यक्रम लिएर अघि बढे पनि इतर पक्ष भने आफूहरू संलग्न नभएको भन्दै सबैखालका कार्यक्रमबाट टक्टकिइरहेको छ । संस्थापनले इतर पक्षलाई समेत लिएर अघि जान पटक–पटक संवाद र छलफल गरे पनि कुनै प्रगति हुन सकेको छैन । बरु इतर पक्षले छुट्टै सम्पर्क कार्यालय खोलेर छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ । यसले आगामी १५औँ महाधिवेशनमा सग्लो कांग्रेस सहभागी हुने सम्भावना क्षीण बन्दै गएको छ ।

०००

आ–आफ्नै प्रस्ताव, छैन लचकता

इतर समूहको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । यो समूहको राजनीतिक नेतृत्व हाल देशबाहिर रहेका निवर्तमान सभापति शेरबहादुर देउवाकै हातमा छ । डा. शेखर कोइरालाको समूहसमेत देउवा–खड्का समूहमा मिसिँदा समूह राजनीतिक रूपमा झनै बलियो बनेको छ । पार्टीमा सहमति जुटाउन भन्दै उपसभापति विश्वप्रकाश शर्माले नेता खड्कालाई ७ बुँदे प्रस्ताव पठाएका थिए । उनले सो प्रस्ताव २६ जेठमा इतर पक्षका नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई पनि पठाएको बताएका थिए । उनको प्रस्तावमा विशेष महाधिवेशनलाई स्वीकार गरेर अघि बढ्ने, त्यसमा विमति भए राजनीतिक एजेन्डाका रूपमा १५औँ महाधिवेशनमा लिखित रूपमा राख्ने, क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया निर्धारित समयमै पूरा गर्ने र अग्रज नेताहरूमध्येबाट केहीलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने थियो ।

त्यसैगरी, विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुकलाई केन्द्रीय समिति र कार्यसम्पादन समितिमा सहभागी गराउने, महाधिवेशनका लागि गठित विभिन्न समितिमा सम्मानजनक सहभागिता गराउने, केन्द्रीय समितिको अंग रहने गरी बैठकबाट १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने र भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समितिमा काम गर्न चाहनेलाई उचित जिम्मेवारी प्रदान गर्ने प्रस्ताव थियो । सो प्रस्ताव इतर पक्षले अस्वीकार गर्दै आएको छ । इतर पक्षले नेता, कार्यकर्ताहरूको व्यक्तिगत डिलभन्दा पनि गुटगत रूपमा सामूहिक रूपमा आफूहरूको उपस्थिति हुनुपर्ने कुरालाई एजेन्डा बनाउँदै आएको छ ।

यता, नेता पूर्णबहादुर खड्काले केही दिनअघि संस्थापनलाई जबाफ पठाएका छन् । विशेष महाधिवेशनको विवादलाई १५औँ महाधिवेशनसम्म खुला राख्दै दुवै पक्षले एकअर्काको अस्तित्व स्वीकार गर्ने तथा दुवै समितिका सदस्यलाई समेटेर केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने उनको प्रस्ताव छ । पदाधिकारी र सदस्यहरूको मर्यादाक्रम परम्पराअनुसार कायम गर्नुपर्ने, एकीकृत केन्द्रीय समितिबाट विधानबमोजिम गठन हुने सबै विभाग तथा समितिहरू विशेष सहमतिका आधारमा गठन गर्ने, १५औँ महाधिवेशनका लागि गठित सबै समिति सन्तुलित सहभागिता र सहमतिमा गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।


त्यस्तै, क्रियाशील सदस्यहरूको हालको डिजिटल इन्ट्रीलाई थप नवीकरणको आधार मानी अधिवेशनमा सहभागी हुने वा नहुने मापदण्ड नबनाउने तथा त्यस्तो व्यवस्था विधान वा नियमावलीमा भए हटाउनुपर्ने प्रस्ताव छ । भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूको गठन र पुनर्गठन सहमतिको आधारमा गर्नुपर्नेलगायत इतरको प्रस्ताव छ । यसरी दुवै पक्षले प्रस्ताव आदानप्रदान गरिरहे पनि एकअर्काको प्रस्ताव अस्वीकार गर्ने र दुवै पक्ष टसको मस हुने देखिएको छैन । दुवै पक्ष लचक नहुँदा सहमतिको सम्भावना न्यून भएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

०००

नयाँ पार्टी गठनको गृहकार्य

दुवै पक्ष एकअर्काको कुरामा सहमत हुन नसक्दा कांग्रेस दुर्घटनाउन्मुख देखिएको छ । इतर पक्ष नयाँ पार्टी गठनको गृहकार्यमा जुटिसकेको नेताहरूले बताएका छन् । सकेसम्म सहमतिको प्रयास गर्ने, तर सहमति हुन नसके नयाँ पार्टी गठन गरेर अघि बढ्ने मनस्थितिमा इतर पक्षका नेताहरू देखिएका छन् । संस्थापनले आफूहरूको समूहलाई आधिकारिक गुटका रूपमा स्वीकार नगर्ने र व्यक्तिगत डिलका आधारमा मात्रै अस्तित्व स्वीकार गर्ने बुझाइमा रहेका उनीहरू त्यसरी कांग्रेसमा बसिरहँदा आफूहरूको हैसियत नहुने बुझाइमा छन् । कार्यतालिकाअनुसार २ भदौदेखि गाउँ/नगरको वडा अधिवेशन हुनेछ । त्यसअघि कुनै सहमति नभए इतर पक्ष साउन महिनाबाटै अलग हुने कतिपय नेताहरूले सार्वजनिक रूपमै अभिव्यक्ति दिइरहेका छन् । इतर पक्षीय नेता कान्छाराम तामाङले आगामी १५ साउनसम्म सहमति नभए पार्टी विभाजन हुन सक्ने अभिव्यक्ति दिइरहेका छन् ।

इतर पक्षका नेता श्याम घिमिरे महाधिवेशनमा निःसर्त भाग लिने, अर्को पार्टी खोल्ने वा घरमा चुप लागेर बस्ने— ३ विकल्प रहेको बताउँछन् । हालसम्मको उपलब्धि हेर्दा निःसर्त महाधिवेशनमा भाग लिनुपर्ने अवस्था आउन सक्ने देखिएको भन्दै नेताहरूले कुनै निर्णय नगरिसकेको उनको भनाइ छ । ‘महाधिवेशनमा निःसर्त माग लिने र महाधिवेशन फेस गर्ने, अर्को पार्टी खोल्ने कि त चुप लागेर घरमा बस्ने— यी ३ विकल्प हाम्रासामु छन्,’ उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा निःसर्त महाधिवेशनमा भाग लिनुपर्ने देखिएको छ । कुनै निष्कर्षमा अहिले नेताहरू पुगेको अवस्था छैन ।’ इतर पक्षले काठमाडौँको महाराजगन्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय खोलेर छुट्टै गतिविधि सुरु गरिसकेको छ ।

०००

संस्थापनले आफूहरूको सुरक्षा नगर्ने डरमा शीर्ष नेता

इतर पक्षका नेताहरूमा अप्ठ्यारो परेका बेलामा सभापति थापालगायत पदाधिकारी टिम र पार्टीले साथ नदिने डर रहेको कतिपय नेताहरूले बताउने गरेका छन् । विशेष महाधिवेशनपछि टिकट वितरणदेखि रमेश लेखक पक्राउ पर्दासम्म र शेरबहादुर देउवा दम्पतीमाथि सरकारले अनुसन्धान अघि बढाउँदासम्म पार्टीले पहिलो पुस्ताका नेताहरूको रक्षार्थ कुनै कदम नचालेको भन्दै उनीहरू सशंकित देखिएका छन् । सरकारले २०६२/६३ पछिका नेताहरूको सम्पत्ति छानबिन अघि बढाएको छ । अन्य विभिन्न भ्रष्टाचार तथा प्रकरणहरूको फाइल पनि अघि बढाइरहेको छ । यी प्रकरणमा पटक–पटक राज्य संयन्त्रमा पुगेका कांग्रेसका शीर्ष नेताहरू कतै न कतै जोडिन्छन् । त्यस्तो अवस्थामा पार्टीले आफ्नो पक्षमा वकालत गरिदेओस् भन्ने नेताहरूको चाहना छ ।

तर, सभापति थापा यस्ता प्रकरणमा निर्मम बन्दै छानबिनमा परेको खण्डमा पार्टीले जिम्मेवारी नलिने, सम्बन्धित व्यक्तिले नै भोग्नुपर्नेमा दृढ छन् । थापाको यस्तो दृढताका कारण पनि पुराना नेताहरू कांग्रेसमै बसिरहन मन नगरेको नेताहरू बताउँछन् । कांग्रेस उपसभापति पुष्पा भुसाल आगामी महाधिवेशनलाई निष्पक्ष बनाउने सम्बन्धमा छलफल र समीक्षा गर्न सकिने भए पनि गलत मतसायका साथ सर्तमाथि सर्त तेस्र्याउनु नहुने बताउँछिन् । उनले विशेष महाधिवेशनको म्यान्डेट नै १५औँ महाधिवेशन गर्नु रहेको भन्दै सबै त्यसमा केन्द्रित हुनुपर्ने उल्लेख गरिन् ।

०००

कांग्रेस फुटे कहाँसम्म पर्छ असर ?

यदि आन्तरिक किचलो शान्त नभएर कांग्रेस फुट्यो भने यसले देशको आगामी राजनीतिलाई नै ठुलो असर गर्नेछ । देशको कुनाकाप्चासम्म संगठन विस्तार भएको पार्टीको विभाजनले राष्ट्रियदेखि स्थानीय राजनीतिसम्मलाई प्रभावित पार्नेछ । केन्द्रदेखि वडा र गाउँ तहसम्म कांग्रेस विभाजन हुनेछ । आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा अन्य पार्टीलाई फाइदा पुग्नेछ भने कांग्रेसका दुवै समूहको नतिजा अनपेक्षित आउनेछ । त्यसैगरी, मंसिर २०८४ मा हुने प्रदेशसभा चुनावमा पनि कांग्रेसले देशभर अनपेक्षित हार बेहोर्ने देखिन्छ । यसले प्रदेशको शक्ति सन्तुलनमा धेरै तलमाथि पार्नेछ भने प्रदेशमा पुनः अस्थिरताको खेल निम्तिन सक्ने जोखिम हुन्छ । त्यसैगरी, विभाजनले संसदीय दलमा समेत असर पर्नेछ । हाल संसदीय दलमा देउवा–खड्का र शेखर कोइराला पक्ष मिलेको अवस्थामा उनीहरूकै बहुमत पुग्ने देखिन्छ । संसदीय दलसमेत विभाजित भएर कांग्रेसको प्रमुख प्रतिपक्षी दलको हैसियत खोसिन सक्छ भने राष्ट्रिय राजनीतिमा भूमिका थप कमजोर हुन सक्छ । स्थापित र पुराना सबै नेताहरू कांग्रेसबाट बाहिरिएको अवस्थामा विदेशी शक्ति राष्ट्रसँगको सम्बन्धमा पनि असर पर्ने देखिन्छ ।

प्रतिक्रिया