
जनकपुरधाम । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई ५ वर्ष कैद हुने फैसला सुनाएको छ । बुधबार मुख्य न्यायधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो । उच्च अदालतले महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ को फैसला केही उल्टी गर्दै महतोसहित प्रतिवादीहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही ५ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।
‘प्रतिवादीहरू लक्ष्मी महतो र पवन कापरलाई आरोपित कसुरबाट सफाइ दिएको महोत्तरी जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी भई प्रतिवादीहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १७ (२) बमोजिम जनही ५ वर्ष कैद सजाय हुने ठहर्छ,’ फैसलाको संक्षिप्त विवरणमा भनिएको छ । पूर्ण पाठ आउन भने समय लाग्नेछ ।
यस्तै, सोही प्रकरणमा दोषी ठहर भएर जन्मकैदको सजाय पाएका मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मालाई भने आंशिक राहत मिलेको छ । जिल्लाले गरेको जन्मकैदको सजाय उल्टाउँदै उच्चले उनलाई ५ वर्षमात्रै कैद सजाय निर्धारण गरेको हो । शर्मासहित ४ अभियुक्तको जन्मकैद सजाय घटाएर ५ वर्ष कैद कायम गरिएको छ । यद्यपि, अन्य ३ अभियुक्तको हकमा भने जिल्ला अदालतको जन्मकैद सजायलाई नै सदर गरिएको छ । उच्चको फैसलाअनुसार अभियुक्त सञ्जय साह, मोहन ठाकुर र प्रदीप रायलाई जन्मकैदकै सजाय कायम राखिएको छ भने अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय ५–५ वर्ष कैदमा सीमित गरिएको छ । अभिराम शर्मा लोसपा संसदीय दलका नेता थिए । जिल्ला अदालतबाट जन्मकैदको फैसला भएपछि उनी फरार छन् ।
०००
के थियो थमन विक हत्या प्रकरण ?
२०७२ सालको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक संयुक्त राष्ट्रसंघीय मिसन (युएन) सम्बन्धी परीक्षा दिएर हेटौँडाबाट आफ्नो कार्यक्षेत्र महोत्तरी पुगेका थिए । भदौ २५ गते आन्दोलनका क्रममा उनीमाथि आक्रमण भएको थियो । गम्भीर घाइते भएका विकलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत् जनकपुर ल्याइँदै थियो । तर, तत्कालीन अनैठा गाविस क्षेत्रमा आन्दोलनकारीको समूहले एम्बुलेन्स रोकेर उनलाई बाहिर निकाली कुटपिट गरेका थिए । सोही घटनामा उनको मृत्यु भएको थियो । त्यसयता यो घटना मधेस आन्दोलनसँग जोडिएको सबैभन्दा चर्चित आपराधिक मुद्दामध्ये मानिँदै आएको छ ।
प्रतिक्रिया