रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, १८ वर्षमुनिको सदस्यता खारेज गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । रास्वपाको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र ‘घन्टी’ उपहार दिएका थिए । केन्द्रीय सदस्यको शपथपछि निर्वाचित पदाधिकारीको शपथ भएको थियो । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनले सभापतिसहित २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

रास्वपाको केन्द्रीय सदस्यमा खुला तथा समावेशीतर्फ ३३, खस÷आर्यतर्फ १०, आदिवासी÷जनजातितर्फ ९, थारु २, मधेसीतर्फ ५, दलिततर्फ ३ र मुस्लिमतर्फ २ जना निर्वाचित भएका थिए भने प्रादेशिक समूहतर्फ कोसी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ५–५ जना गरी ३५ जना निर्वाचित भएका थिए । त्यस्तै, ७ जना पदाधिकारीमा सभापतिमा रवि लामिछाने र उपसभापति खुलातर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए भने उपसभापति महिलातर्फ सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्री खुलातर्फ असीम शाह र हरि ढकाल तथा सहमहामन्त्री महिलातर्फ निशा डाँगी निर्वाचित भएका थिए ।

१८ वर्षमुनिको सदस्यता खारेज गर्ने

बालबालिकालाई पार्टीको सदस्य बनाएको आरोप लागिरहँदा रास्वपाले १८ वर्षमुनिका व्यक्तिको सदस्यता खारेज गर्ने तयारी गरेको छ । रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टीको सदस्य रहेको उल्लेख छ । यसलाई लिएर सार्वजनिक रूपमा विरोधसमेत भएको थियो । यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महामन्त्री विपिन आचार्यले बुधबार विज्ञप्तिमार्फत् १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता खारेज गर्ने र नयाँ आवेदन पनि स्वीकृत नगर्ने जनाएका छन् । बालबालिकासम्बन्धी ऐन, २०७५, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको प्रावधान उल्लेख गर्दैै महामन्त्री आचार्यले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य राष्ट्रिय स्वतन्त्र पार्टीको नीति र अभ्यास नभएको र कुनै संस्थागत उद्देश्य पनि नरहेको बताए ।

त्यस्तै, महाधिवेशनमा प्रस्तुत गरिएको तथ्यांक पार्टीको डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन विवरणको समष्टिगत विश्लेषण मात्र भएको र उक्त तथ्यांक प्रमाणित तथा अन्तिम रूपमा स्वीकृत सदस्यहरूको आधिकारिक अभिलेख नभएको समेत उनले प्रष्ट पारेका छन् । सदस्यता आवेदनका क्रममा विवरण स्वयं आवेदकले प्रविष्ट गर्ने व्यवस्था रहेकाले केही आवेदनमा विक्रम संवत् र इस्वी सन् पात्रो प्रणालीको गलत छनोट, जन्ममिति प्रविष्टिमा टाइपोग्राफिकल त्रुटि, जन्ममितिको सट्टा हालको मिति वा अन्य त्रुटिपूर्ण विवरण प्रविष्ट गरिएका कारण प्रणालीले केही आवेदकको उमेर वास्तविकभन्दा कम देखाएको प्रारम्भिक विश्लेषणबाट खुलेको आचार्यले बताए ।

यस विषयलाई गम्भीरतापूर्वक लिँदै सदस्यता प्रणालीको विस्तृत प्राविधिक तथा प्रशासनिक समीक्षा प्रारम्भ गरेको र भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिने प्रतिबद्धतासमेत जनाएका छन् । भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिन १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत् स्वतः पहिचान गरी त्यस्ता आवेदनलाई सदस्यता स्वीकृतिको प्रक्रियामा अघि बढ्न नदिने, प्रमाणीकरण भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरी पूर्ण रूपमा मेल खाने सदस्यता अभिलेख मात्र कायम गरिने उनले बताए । साथै, यदि प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइएमा त्यस्तो सदस्यता तत्काल खारेज गरिने आचार्यले बताएका छन् ।

प्रतिक्रिया