
काठमाडौँ । गत ७–१२ असारमा भएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सकिएको ५ दिन बितिसक्दा पनि यसको वैधता र विश्वसनीयतामाथि प्रश्न कायमै छ । महाधिवेशनले सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । सभापतिमा रवि लामिछाने निर्विरोध भए भने केन्द्रीय सदस्यहरू निर्वाचन प्रक्रियाबाट चुनिए । तिनै ९९ जना केन्द्रीय सदस्यमध्ये ५ पदाधिकारीका लागि पनि निर्वाचन गरियो ।
तर, विद्युतीय मतदानबाट गरिएको चुनावको नतिजा सार्वजनिक भएको दिनदेखि नै विवाद सुरु भयो । कम मत प्राप्त गरेका केही उम्मेदवारलाई विजयी घोषणा गरेर बढी मत ल्याएका उम्मेदवारलाई पराजित गरिएको भन्दै सम्बन्धित उम्मेदवारहरूले परिणाम सार्वजनिक हुनासाथ विरोध जनाएका थिए । उनीहरूको विरोधका कारण रास्वपा महाधिवेशन विवादमा तानियो र यसको विश्वसनीयतामाथि नै प्रश्न उठ्यो ।
त्यसपछि निर्वाचन आयोगले प्रारम्भिक नतिजामा त्रुटि भएको स्विकार्दै संशोधित परिणाम सार्वजनिक गरेको छ । त्रुटि सच्याउने क्रममा पहिले विजयी घोषित गरिएका केही उम्मेदवारलाई हटाइयो भने प्रारम्भिक परिणामप्रति प्रश्न उठाएका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरियो । यति हुँदासमेत मतपरिणामसम्बन्धी विवाद पूर्ण रूपमा समाधान भएको छैन । यसले रास्वपा महाधिवेशनको विश्वसनीयता र वैधतामाथि थप प्रश्न खडा गरेको छ ।
त्यस्तै, ९ असारमै सक्ने भनिएको महाधिवेशन लम्बिएर १२ असारसम्म पुग्दा केन्द्रीय समिति तथा पदाधिकारी निर्वाचनमा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुन सकेनन् । उनीहरू आर्थिक अभाव तथा अन्य व्यवस्थापकीय समस्याका कारण निर्धारित समयभन्दा बढी महाधिवेशनस्थलमा बस्न सकेनन् । खासगरी पदाधिकारी निर्वाचनमा त बहुमतभन्दा बढी प्रतिनिधिले मतदान नै गरेनन् । यसले पनि रास्वपाको नयाँ नेतृत्वको सर्वस्वीकार्यता र पार्टी पंक्तिमा अपनत्वको विषयमा प्रश्न उठाएको छ ।
०००
मतपरिणाम हेरफेर, असन्तुष्टहरू अदालत पुग्न सक्ने
केन्द्रीय सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको थियो । प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशको केन्द्रीय सदस्यमा सोम शर्मा निर्वाचित घोषित भएका थिए । मतपरिणाम सार्वजनिक हुनासाथ गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यकी उम्मेदवार पूजा बास्तोलाले आफू मतपरिणाममा अगाडि हुँदाहुँदै पनि आफूभन्दा कम मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । उनले सर्वोच्च अदालतसम्म जाने चेतावनीसमेत दिएकी थिइन् ।
महाधिवेशनमा विभिन्न प्राविधिक त्रुटि देखिएको विषय सर्वोच्चसम्म पुग्ने अवस्था आएपछि निर्वाचन आयोगले परिणाम घोषणामा प्राविधिक त्रुटि भएको स्विकार्दै संशोधित सूची सार्वजनिक ग¥यो । आयोगले उम्मेदवारी दर्ताका क्रममा पेस गरिएका कागजात तथा प्रमाण अध्ययनपछि जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठको स्थानमा ध्रुवकुमार थापा मगर र गण्डकी प्रदेश (भूगोल) तर्फ सोम शर्माको स्थानमा पूजा बास्तोलालाई निर्वाचित घोषणा गरियो ।
यससँगै बास्तोलाको माग पूरा भएको छ र उनी सर्वोच्च जानबाट रोकिएकी छिन् । तर, पहिले निर्वाचित भएर पछि नाम हटाइएका सोम शर्माले आयोगको दोस्रो निर्णय स्विकारेका छैनन् । आयोगमै उजुरी दिँदै उनले आफूलाई विधानविपरीत र अन्यायपूर्ण ढंगले केन्द्रीय सदस्यबाट हटाइएको जिकिर गरेका छन् । उनले आफ्नो निर्वाचित हैसियत कायम राख्न माग गर्दै त्यसो नभए कानुनी उपचार र न्यायिक प्रक्रियामा जाने संकेत गरेका छन् । त्यसैगरी, कृष्णमान श्रेष्ठले पनि आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनले पार्टीको अनुशासन आयोग र सभापति रवि लामिछानेसमक्ष पनि पत्र बुझाएको सार्वजनिक गरेका छन् ।
०००
न्यून प्रतिनिधिले चुनेका पदाधिकारीको वैधतामाथि प्रश्न
९ असारमा सकिनुपर्ने महाधिवेशन लम्बिएसँगै दूरदराजबाट चितवन आएका धेरै महाधिवेशन प्रतिनिधि सोही दिनदेखि फर्किन थालेका थिए । ११ असारमा भएको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मतदातामध्ये २ हजार ९५९ जनाले मतदान गरे । अर्थात् केन्द्रीय समिति चयनका लागि ७६.८० प्रतिशत मतदान भयो । बाँकी प्रतिनिधिले चाहँदाचाहँदै पनि महाधिवेशन लम्बिएकै कारण मतदान गर्न पाएनन् । १२ असारमा भएको पदाधिकारी निर्वाचनमा भने झन् न्यून सहभागिता रह्यो । पदाधिकारी निर्वाचनमा जम्मा १ हजार २८९ मत मात्रै खस्यो । ५० प्रतिशतभन्दा बढी मतदान हुन सकेन, किनभने धेरै मतदाताले महाधिवेशनस्थल छाडिसकेका थिए । यसरी पदाधिकारी तहको निर्वाचनमा आधाभन्दा कम प्रतिनिधिको सहभागिता हुनु महाधिवेशनबाट चयन भएको नेतृत्वको राजनीतिक वैधतामाथि पार्टीभित्र र बाहिर दुवैतर्फ प्रश्न उठ्ने आधार बनेको छ ।
तर, रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ भने महाधिवेशनको वैधतामाथि प्रश्न उठ्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार महाधिवेशन विधि र पद्धतिअनुसार नै सम्पन्न भएको हो । ‘कम मतदान भएकाले सैद्धान्तिक रूपमा प्रश्न उठ्न सक्छ । तर, व्यवहारिक रूपमा हामीले यसलाई स्वाभाविक रूपमा लिएका छौँ,’ उनले भने, ‘घर फर्किएका प्रतिनिधिहरूले पनि आफ्ना विश्वासपात्र प्रतिनिधिमार्फत् मत अभिव्यक्त गरेको ठानेका छौँ । उहाँहरूको पनि प्रतिनिधित्व भएको छ ।’
आयोगका उपप्रमुख गुरुङले शपथग्रहण नहुँदासम्म निर्वाचन परिणाम पुनरवलोकन गर्न सकिने भएकाले मतपरिणामको त्रुटि सच्याउनु स्वाभाविक भएको बताए । यस क्रममा केही नेताको चित्त दुख्नु स्वाभाविक भएको उनको टिप्पणी छ । महाधिवेशनको बन्दसत्रले संशोधन गरेको विधानअनुसार छुट्याइएका क्लस्टरका आधारमा केन्द्रीय सदस्य चयन गरिएको उनले जानकारी दिए । उनका अनुसार ६४ खुला सदस्यमध्ये पनि ३२ जना खुला प्रतिस्पर्धाबाट र बाँकी ३२ जना पार्टी विधानअनुसारको समावेशी क्लस्टरका आधारमा निर्वाचित गर्नुपर्ने व्यवस्था छ । त्यसैले धेरै मत ल्याएका केही उम्मेदवार पनि समावेशी व्यवस्थाका कारण निर्वाचित हुन नसक्ने अवस्था आउने उनले बताए । उनले पार्टी विधानमा रहेको समावेशी व्यवस्थाको मर्म नबुझेकै कारण विवाद र विरोध भएको दाबी गरे ।
०००
‘भोटिङ मेसिनमा समस्या थिएन’
विद्युतीय मतदानका लागि सेवा प्रदान गरेको ब्यालोट सोलुसन प्रालिका निर्देशक तथा मेसिनका प्राविधिक लक्ष्मण रिमालले निर्वाचनको सम्पूर्ण प्रक्रियामा मेसिनका तर्फबाट कुनै पनि प्राविधिक कमजोरी नभएको बताएका छन् । उनले आफूहरूले सम्झौताअनुसार तथा निर्वाचन आयोगले भनेअनुसार नै प्रविधि व्यवस्थापन गरेको भन्दै मतदानमा तलमाथि गर्ने वा अन्य कुनै प्रकारको प्राविधिक समस्या आफ्नो पक्षबाट नभएको दाबी गरे । उनका अनुसार मेसिनमा ७ वटै प्रदेशबाट ५–५ जना सदस्य चयन गर्ने तथा खुलातर्फ ६४ जना सदस्य चयन गर्ने व्यवस्था मिलाइएको थियो र सोहीअनुसार मतदान भएको थियो ।
रिमालले मतदानका क्रममा क्लस्टरअनुसार मतदान नगराइएको र आफूहरूले क्लस्टर छुट्याएर मतदान गराउनुपर्ने सुझाव दिँदा निर्वाचन आयोगका तर्फबाट ‘पछि पार्टीको विधानअनुसार क्लस्टर मिलाइन्छ’ भन्ने जबाफ आएकाले खुला मतदान गराइएको बताए । प्राप्त मतपरिणाम आफूहरूले निर्वाचन आयोगलाई बुझाएको र त्यसपछि आयोगले नै पार्टीको विधानअनुसार क्लस्टर मिलाएर निर्वाचित घोषणा गरेको हुन सक्ने उनको भनाइ छ ।
०००
केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण आज बुधबार हुँदै छ । आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा शपथग्रहण कार्यक्रम राखिएको जनाइएको छ । नवनिर्वाचित ९९ जना केन्द्रीय सदस्यले शपथग्रहण गर्नेछन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापति रवि लामिछानेले मनोनयन गर्न बाँकी नै छ ।
प्रतिक्रिया