
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा दीपक भट्टको मुद्दाको फाइल झिकाउन आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईले जानकारी दिए । सर्वोच्चले पौडेल जोडिएको विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दिपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन आदेश दिएको हो ।
पौडेलविरुद्ध सोही अभियोग अन्तर्गत पुरक अभियोग लैजाने गरी अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल माग गरेको हो । पौडेलका कानुन व्यवसायीले भने मूल मुद्दामा विष्णु पौडेलका विरुद्धमा कुनै पनि कसुर नदेखिने दाबी गरेका छन् ।
उनीहरूको दाबीपछि सर्वोच्चले उक्त मिसिल झिकाउँदै बिहीबारका लागि अर्को पेसी तोकेको छ । पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो । रिट निवेदकको माग बमोजिम किन आदेश दिन नपर्ने हो, त्यसको कारण पेश गर्न भनेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया