सम्पत्ति शुद्धीकरण कसुरमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो । पार्टी पुनर्गठनका लागि प्रदेशस्तरीय सुझाव संकलनका लागि कर्णालीको सुर्खेत पुगेका उनलाई कार्यक्रम स्थलबाटै पक्राउ गरिएको हो । स्रोतका अनुसार सेयर कारोबारमा संलग्न रहेको र शंकास्पद सम्पत्ति जोडेको भन्दै अनुसन्धान अघि बढाउन लागिएको छ । ५ पटक सांसद बनेका पौडेल ८ पटक मन्त्री बनिसकेका छन् । उनी पटक–पटक उपप्रधान तथा अर्थमन्त्री बनेका थिए ।

उनलाई सुर्खेतबाट पक्राउ गर्नुअघि ललितपुर भैँसेपाटीस्थित उनको निवासमा प्रहरीले छापा मारेको थियो । दिउँसो १ बजे उनको निवास पुगेको विभागको टोलीले छापा मारेको हो । पौडेललाई हाल सम्पत्ति शुद्धीकरणकै मुद्दामा अनुसन्धानरत विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्ध र कारोबार रहेको आशंका गरिएको छ । कार्यक्रम आयोजना भइरहेको सुर्खेतस्थित शुभ होटलबाट उनलाई पक्राउ गरिएको थियो । त्यहाँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो भने त्यहाँबाट नेपालगञ्ज पु¥याइएको छ । उनलाई आज मंगलबार बिहान हवाईमार्गमार्फत् काठमाडौँ ल्याइनेछ । म्याद थपका लागि मंगलबार नै विशेष अदालतमा पेस गर्ने तयारी विभागको छ ।

एमाले पंक्ति तरंगित

उपाध्यक्ष पौडेल पक्राउ परेसँगै एमाले पंक्ति तरंगित बनेको छ । नेताहरूले विभिन्न माध्यमबाट प्रतिक्रिया दिइरहेका छन् । नेता प्रदीप ज्ञवालीले पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजनपछि अदालतको निर्णयका आधारमा अघि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनुपर्ने उल्लेख गरे । उनले पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरु गर्ने शृंखला लामो समयदेखि चलिरहेको भन्दै राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुनहुने बताए । एमाले सचिव राजन भट्टराईले राज्य पक्षले कुनै पनि नागरिकप्रति प्रतिशोधपूर्ण व्यवहार गर्दैन भन्ने विश्वास वर्तमान सरकारप्रति विगत करिब ३ महिनाका गतिविधिहरूले स्थापित गर्न नसकेको बताएका छन् । उनले पौडेलको गिरफ्तारीलाई पनि त्यही शृंखलाको अर्को कडीका रूपमा बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया