काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौँ । अगामी आर्थिक वर्ष २०८३÷८४ का लागि काठमाडौँ महानगरपालिकाले २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट पेस गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेस गरेकी हुन् । महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य बाह्य व्ययभार हुने गरी २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट पेस गरिएको कार्यवाहक मेयर डंगोलले बताइन् ।

चालु आवका लागि महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । कार्यवाहक मेयर डंगोलका अनुसार बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । त्यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त र समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट प्राप्त हुने ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिताबापत १ करोडको स्रोत प्राप्त हुने अनुमान छ ।

क्षेत्रगत रूपमा आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार, पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ छुट्ट्याइएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षमा महानगर क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखिएको छ । फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रम प्रवद्र्धन गरी रोजगारी र आय वृद्धि गर्नेजस्ता कार्यक्रमलाई उच्च प्राथामिकतामा राखिएको छ । त्यसैगरी महानगर क्षेत्रभित्र प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठमन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननीलगायत सम्पदा स्थलको संरक्षण एवं मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।

जसअन्तर्गत आगामी आर्थिक वर्षका लागि वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षातर्फ १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड, हरियाली प्रवद्र्धन गर्न ४३ करोड, सूचना प्रविधितर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ । महानगरले बजेटमार्फत करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजारभन्दा कम भएमा ५ प्रतिशत र सोभन्दा बढीका लागि १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरेको छ ।

चालु आवमा जम्मा ४५ प्रतिशत बजेट कार्यान्वयन

कार्यवाहक मेयर डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको तथ्यांकसमेत प्रस्तुत गरेकी छिन् । जसअनुसार महानगरले चालु आर्थिक वर्षको ११ महिनामा विनियोजनको ४५ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । जेठ मसान्तसम्मको तथ्यांकका आधारमा महानगरले कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गरेको हो । जसमा चालु खर्च ५ अर्ब ७२ करोड र पुँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया