चौथो मिडिया सम्मेलन शनिबारदेखि बुटवलमा हुँदै

बुटवल । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा नेपाल मिडिया सोसाइटीको सहआयोजनामा ‘चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३’ यही ६ र ७ असारमा हुने भएको छ । ‘संकटबाट सम्भावनातर्फ ः नेपाली मिडियाको दिगो भविष्य’ भन्ने मूल नारा तथा ‘मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी’ भन्ने उपनारासहित रूपन्देहीको बुटवलमा आयोजना हुने सो सम्मेलनले नेपाली मिडिया क्षेत्रले भोगिरहेका आर्थिक, नीतिगत, प्राविधिक तथा संरचनागत चुनौतीहरूबारे व्यापक छलफल गर्ने प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका महासचिव माधव नेपालले जानकारी दिए ।

नेपाली मिडिया उद्योग, विशेष गरी छापा सञ्चारमाध्यम पछिल्ला वर्षहरूमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार तथा राजस्व स्रोतको कमीका कारण गम्भीर संकटको सामना गरिरहेको सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनको मुख्य उद्देश्य सरकारी विज्ञापन नीतिमा आवश्यक सुधारका लागि साझा धारणा निर्माण गर्नु, मिडियाका लागि वैकल्पिक राजस्व स्रोतहरूको खोजी गर्नु, डिजिटल रूपान्तरणलाई अवसरका रूपमा उपयोग गर्ने रणनीति विकास गर्नु तथा सञ्चार उद्योगभित्र साझा सहकार्य र एकताको वातावरण सुदृढ गर्नु महासचिव नेपालले बताए ।

२ दिन सञ्चालन हुने सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, सरकारी विज्ञापन नीति, मिडियाको दिगोपन, डिजिटल विज्ञापनको विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यका विषयमा कार्यपत्र प्रस्तुति, विषयगत छलफल, प्यानल बहस तथा खुला अन्तक्र्रिया सञ्चालन हुनेछन् ।

सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला आयोजना गरिनेछ, जहाँ दैनिक पत्रिकाहरूले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल संक्रमण तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुनेछ । सम्मेलनको समापनमा ‘बुटवल घोषणा–२०८३’ जारी गरिनेछ । उक्त घोषणामार्फत् नेपाली मिडिया उद्योगको दिगोपन, विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिनेछ ।

यसैगरी सम्मेलनले सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन गर्न तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीति निर्माण गर्न सम्बन्धित निकायहरूसँग पहल गर्ने अपेक्षा राखिएको छ । सम्मेलनमा देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहनेछ । ‘संकटमा नेपाली मिडिया — अब बन्द होइन, रूपान्तरणको बेला’ मूल मन्त्र लिएर हिँडिरहेका मिडिया उद्योगीहरूको सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छन् ।

प्रतिक्रिया