झलनाथले प्रचण्ड र माधवलाई भने— ‘तपाईंहरूबाट पार्टी चल्दैन, राजीनामा दिनुस्’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक असन्तुष्टि र असमझदारी छताछुल्ल भएको छ । १९ कात्तिक, २०८२ मा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित २६ घटक मिलेर बनेको नेकपाभित्र एकता प्रक्रिया टुंग्याउने र जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर चुलिएको असन्तुष्टि उत्कर्षमा पुगेको हो । नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ३६ बुँदे पत्र लेख्दै प्रचण्ड स्वयम् र सहसंयोजक माधवकुमार नेपालले राजीनामा दिनुपर्ने बताएका छन् । उनले शीर्ष नेताहरूको राजीनामा माग्दै मार्गप्रशस्त गर्न आग्रह गरेसँगै नेकपाको विवाद सतहमा देखिएको हो । उनले संयोजक र सहसंयोजकको नेतृत्वमा पार्टी पुनर्गठन हुन नसक्ने र महाधिवेशनमा जान समेत कठिन हुने भन्दै राजीनामा मागेका हुन् ।

नेकपा विघटनको दिशामा गइरहेको, दिशाहीनता, निराशा, निष्क्रियता र पलायनको प्रवृत्ति पार्टीमा बढ्दै गइरहेको खनालको भनाइ छ । उनले देशको राजनीतिक परिस्थितिमा फेरबदल आए पनि नयाँ परिस्थितिअनुसार राजनीतिक कार्यदिशा, नीति र सिद्धान्त अघि सार्न नसकेको, पार्टी पुनर्गठन गर्न, बनाउन र हाँक्न वर्तमान नेतृत्वबाट असम्भव देखिएको बताएका छन् । विद्यमान परिस्थितिमै पार्टीलाई व्यवस्थित रूपमा महाधिवेशनसम्म पु¥याउन नसकिने उनको निष्कर्ष छ । ‘तपाईं संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नुस् । नयाँ, योग्य र विचारवान् कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनुस्,’ उनले पत्रमा भनेका छन् ।

‘नेपालले खलनायकको भूमिका खेले’

संयोजक र सहसंयोजकको राजीनामा मागेर पार्टी पुनर्गठनको पक्षमा उभिएका नेता खनालको मुख्य असन्तुष्टि भने पार्टीले आफूलाई ठोस जिम्मेवारी नदिएकामा देखाएका छन् । उनले २०२० सालदेखि कम्युनिस्ट आन्दोलनमा संलग्न र २०२६ सालदेखि पार्टी कमिटीमा संगठित भएयता निरन्तर जिम्मेवारीमा रहे पनि नेकपामा समाहित भएयता जिम्मेवारी नपाएको भन्दै संयोजक प्रचण्डसँग असन्तुष्टि पोखका हुन् । आफूलाई जिम्मेवारीविहीन बनाउन सहसंयोजक नेपालले भूमिका खेलेको उनको आरोप छ । नेपालकै चाहनाका कारण प्रचण्डले उनलाई जिम्मेवारीविमुख बनाएको निष्कर्ष निकालेका खनालले आफूसरहको नेतालाई कुनै जिम्मेवारी दिन नसकेको भन्दै केका लागि एकतामा आउन आग्रह गरिएको हो ? भनी प्रश्न गरेका छन् । संयोजक दाहाल अन्य व्यक्तिलाई लिएर विभिन्न ठाउँमा गइरहेको भन्दै उनले आफू धुप हालेर अथवा पूजा, के गरेर बस्ने भन्ने चोटिलो प्रश्न गरेका हुन् । ‘मैले यो पार्टीमा धुप हालेर बस्ने कि ? पूजा गरेर बस्ने ? म आफैँ ठुल्ठुला पार्टी निर्माण र सञ्चालन गरेर तथा नेतृत्व गरेर आएको नेता हुँ,’ उनले भनेका छन्, ‘म अझै १०–१५ वर्ष सक्रिय नै रहनेछु । अहिले पार्टीखोर जस्तै अनुभूत भएको छ ।’

उनले संयोजन समितिको बैठक बसेर कार्यविभाजन गर्दा आफूले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख मागे पनि माधवकै कारण नदिइएको उनको आरोप छ । आफूले भनेको मान्छे सो विभागमा राख्ने र इच्छा लागेको देशमा घुम्ने माधवको स्वार्थका कारण जिम्मेवारी नदिएको भन्दै उनले प्रचण्ड माधवसामु निरिह भएको बताएका छन् ।

सहमति उल्लंघन गरेको आरोप

उनले तत्कालीन एकताका लागि प्रचण्डसँग ४ सैद्धान्तिक कुरामा सहमति भए पनि कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने तथा त्यहाँ अन्य कुनै पुच्छर नजोड्ने, समाजवादी क्रान्ति र रूपान्तरण चरणमा रहेकाले यसलाई सम्पन्न गर्न सम्पूर्ण शक्ति केन्द्रित गर्ने, नेपाली विशेषताको समाजवाद स्थापनालाई लक्ष्य मान्ने र समाजवाद प्राप्त गर्न क्रान्तिकारी कार्यदिशा अवलम्बन गर्ने सहमति भएपछि आफू नेकपामा समाहित भएको उनको जिकिर छ । तर, प्रचण्ड ती सिद्धान्तबाट विचलित भएको उनले आरोप लगाएका छन् । उनले आफू तत्कालीन एकीकृत समाजवादीबाट समाहित नभई छुट्टै रूपमा सहमति गरेर आए पनि आफ्नो समूहका नेताकार्यकर्तालाई केन्द्रीय समितिमा समायोजन नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रचण्डसँग गुनासैगुनासो, माधव नेपालप्रति ‘आगो’

एकतापछि माधव नेपाललाई सहसंयोजक बनाइएकोप्रति पनि खनालले आपत्ति जनाएका छन् । उनले नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेकाले उनलाई जिम्मेवारी दिनुले नैतिक प्रश्न उठेको बताए । उनले अदालतले दोषी ठह¥याए पार्टीको स्थिति के हुन्छ ? भनी प्रश्न गरेका छन् । एकता २ घटकबीच मात्रै नभएको भन्दै उनले अन्य २६ घटकमध्येबाट कसैलाई सहसंयोजक नदिनु उनीहरूप्रतिको अपमान भएको जनाएका छन् । प्रचण्डप्रति भने उनले सहमति उल्लंघन गरेको, आफूसँग भेट्न समेत डराएको, माधव नेपालको मात्रै कुरा सुनेको, नेपालकै कुरामा आफूलाई जिम्मेवारी दिन हिच्किचाएको भन्दै गुनासैगुनासो व्यक्त गरेका छन् । पार्टीको विधानमा पनि उनको असन्तुष्टि छ । दक्षिणपन्थी भड्काउले विधान रंगीबिरंगी बनेको, विधानमा बहुदलीय जनवाद र प्रजातान्त्रिक समाजवाद लक्ष्य बनाइएको भन्दै उनले विधान नहेरी एकतामा गएकामा पछुतो भएको बताएका छन् ।

गजुरेललाई कारबाही गरिएकामा विरोध

खनालले नेकपाबाट नेता हरिबोल गजुरेललाई निष्कासन गरिनु पार्टीको विधानविपरीत भएको भन्दै विरोध जनाएका छन् । उनले गजुरेललाई स्पष्टीकरण पनि गर्न नदिई निकालिनु गलत भएको बताएका छन् । नेता भीम रावललाई पनि वरीयतामा पछि राखेर बैठकमा आउने वातावरण नबनाएको भन्दै उनले विरोध जनाएका छन् ।

प्रतिक्रिया