
काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस वर्षको धान रोपाइँ सुरु भएको छ । सिँचाइको उचित व्यवस्था भएका खेतहरूमा प्रि–मनसुनको समयमा भइरहेको वर्षाले थप राहत पुर्याएपछि किसानहरू खेताला तथा पर्म प्रणालीमार्फत रोपाइँमा जुटेका हुन् ।
यतिबेला सोखेलका फाँटहरूमा किसानहरू खेत तयारी, हिलो बनाउने तथा धानका रोप्ने काममा व्यस्त देखिन्छन् । पर्याप्त सिँचाइ र पानीको उपलब्धताका कारण रोपाइँ कार्य सहज बनेको स्थानीय किसानहरू बताउँछन् ।
स्थानीय कृषकहरूका अनुसार यस वर्ष जेठ अन्त्यदेखि परेको वर्षाले सिंचाइमा सहजता ल्याएको छ । विशेषगरी कुलो तथा अन्य सिंचाइ स्रोतको पहुँच भएका क्षेत्रमा रोपाइँ तीव्र रूपमा अघि बढेको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वर्षे र चैते धान गरी कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । धान उत्पादनले देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
तर, पछिल्ला वर्षहरूमा धान खेती हुने क्षेत्रफल भने निरन्तर घट्दो क्रममा रहेको छ। सहरीकरणको विस्तार, कृषियोग्य जमिनको प्लटिङ, खेतीयोग्य भूमि गैरकृषि प्रयोजनमा प्रयोग हुनु तथा कृषि क्षेत्रमा जनशक्तिको अभावजस्ता कारणले धान रोप्ने कुल क्षेत्रफल वार्षिक रूपमा खुम्चिँदै गएको देखिन्छ । काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रहरूमा समेत बस्ती विस्तारसँगै कृषि भूमि घट्ने क्रम जारी छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी










प्रतिक्रिया