झन्डै एकतिहाइले घट्यो सेयर कारोबार रकम

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झन्डै एकतिहाइले घटेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आव २०८२÷०८३ को आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको उल्लेख छ । गत आवको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड रुपैयाँ थियो ।

त्यस्तै औसत दैनिक कारोबार रकम पनि गत वर्षको ९ अर्ब ८३ करोडबाट घटेर ७ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । कारोबार भएका धितोपत्रको संख्या २७.२ प्रतिशत र कारोबार संख्यामा २९.८ प्रतिशतले गिरावट आएको छ ।

बजार पुँजीकरण भने सकारात्मक

अघिल्लो आवको तुलनामा नेप्से सूचकांक र बजार पुँजीकरण भने सकारात्मक छ । चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २ हजार ८२०.४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २ हजार ७३६.४९ विन्दुको तुलनामा बढी हो । त्यसैगरी फागुन मसान्तसम्म कुल बजार पुँजीकरण अघिल्लो आवको सोही अवधिको तुलनामा ४.४२ प्रतिशतले वृद्धि भई ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही समयमा कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो ।

कूल जनसंख्याको २६ प्रतिशत डिम्याट खाता खुल्यो

सार्वजनिक विवरणअनुसार चालु आवको फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन कुल जनसंख्याको २६.२ प्रतिशत हो । यो संख्या २०८२ असारसम्म ६९ लाख ९७ हजार थियो । त्यस्तै २०८२ असार मसान्तसम्म मेरो सेयर खाताको संख्या ५९ लाख ७६ हजार रहेकामा फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ ।

दोस्रो बजारमा कारोबार गर्ने बढे

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढेको छ । सार्वजनिक विवरणअनुसार चालुु आवको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६९६ थियो ।

पुँजी परिचालन

चालू आर्थिक वर्षको फागुनसम्म साधारण शेयरको प्राथमिक निष्काशनमार्फत ८ अर्ब ६९ करोड, हकप्रद शेयर निष्काशनमार्फत ४ अर्ब ९४ करोड, थप शेयर निष्काशनमार्फत ४ करोड ६६ लाख, ऋणपत्रमार्फत ५० करोड, अविमोच्य असञ्चिति अग्राधिकार शेयरमार्फत १६ अर्ब ८५ करोड र म्युचुअल फण्ड मार्फत २३ अर्ब १२ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

नेपालको धितोपत्र बजारमार्फत उद्यमशीलता तथा नवप्रवर्तन प्रवद्र्धन गर्नका लागि वैकल्पिक लगानी कोषको कोष व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्डबाट १९ संस्थाले कोष व्यवस्थापनको अनुमति प्राप्त गरेका छन् । स्वीकृत कोष व्यवस्थापकले विभिन्न योजनामार्फत चालू आर्थिक वर्षको फागुनसम्म ४ अर्ब ७५ करोडको योजनासहित हालसम्म ४१ अर्ब ७५ करोड पुँजी परिचालन गरेका छन् । चालू आर्थिक वर्षको फागुनसम्म यस्तो पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०.० प्रतिशतले वृद्धि भएको छ ।

साढे १९ अर्बको बोनस शेयर सूचीकृत

चालू आर्थिक वर्षको फागुनसम्म १९ अर्ब ६४ करोड रकम बराबरको बोनस शेयर धितोपत्र बोर्डमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु.१५ अर्ब ५१ करोड रकम बराबरको बोनस शेयर सूचीकृत भएको थियो ।

चालू आर्थिक वर्षको फागुनसम्म १४ कम्पनी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा (नेप्से) सूचीकृत भएपछि नेप्सेमा सूचीकृत कम्पनीको संख्या २८६ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्ता कम्पनीको संख्या २६८ रहेको थियो । २०८२ फागुन मसान्तमा नेप्सेमा सूचीकृत शेयरको चुक्ता मूल्य ९ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । २०८१ फागुन मसान्तमा यस्तो मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

४.४४ चालू आर्थिक वर्षको फागुनसम्म २५ करोड ७६ लाख कित्ता प्राथमिक निष्कासन, १ करोड १० लाख कित्ता सामूहिक लगानी कोषका इकाई, ८ करोड कित्ता हकप्रद शेयर, १२ करोड कित्ता बोनस शेयर, ९ लाख कित्ता थप निष्कासन र १ करोड ७० लाख कित्ता बराबरको संस्थागत ऋणपत्र नेप्सेमा सूचीकृत भएका छन् ।

००००

प्रतिक्रिया