नेपाल बाह्य रूपमा मात्रै नभएर आन्तरिक हिसाबले पनि उच्च जोखिममा रहेको छ । किनकि नेपाल र भारतबीच खुला सिमाना छ । र अर्को महत्वपूर्ण कुरा भनेको यो भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरो नेपालमा पनि पाइन्छ ।

मान्छेले कल्पना नै गरेको थिएन, एक समय कोरोना नामको भाइरसका कारण सास्ती खेप्नुपर्ला भनेर । विश्वले त्यही भाइरसका कारण ठुलो मानवीय तथा आर्थिक संकटको सामना गर्नुपर्यो । लाखौँ मान्छेले ज्यान गुमाए । कोरोना नामको भाइरसबाट उठ्न खोज्दै गर्दा अर्को भाइरसको हल्लाले तनाव सिर्जना गरिरहेको छ । मान्छेहरूको मनमा प्रश्न उब्जिन थालेको छ, त्रास बढेको छ, के हो निपा भाइरस भन्दै ।
विश्वका लागि यो नयाँ नाम नभए पनि नेपालमा त्यति सुनिएको विषय होइन । यद्यपि छिमेकीको दैलोमा देखा परेपछि सशंकित हुनै पर्यो । नेपालको पूर्वी सिमाना जोडिएको भारतको पश्चिम बंगालमा निपा भाइरसको संक्रमण पुष्टि भए पछि नेपालमा पनि खतराको घन्टी बज्यो । भारतमा भने यो भाइरसको संक्रमण नयाँ होइन ।
००००
के हो निपा भाइरस ?
विज्ञका अनुसार निपा एक जोनोटिक भाइरस हो जुन पशुबाट मान्छेमा सर्ने गर्दछ । फलफूल खाने चमेरोलाई यो भाइरसको प्राकृतिक घरको रूपमा लिइन्छ । यसैबाट मानिससम्म पुगेको हो भन्ने निष्कर्ष अहिलेसम्मको अध्ययनको छ । चमेरो एक यस्तो चरा हो जसले फलफूल अत्यन्त रुचाएर खाने गर्दछ । उक्त चमेरोले जुठो हालेको फल सुँगुर अथवा मान्छेले खाएमा यो भाइरस सजिलै सर्ने हुन्छ ।
जब यो भाइरसको एकपटक कुनै मानिसमा देखिन्छ, त्यसपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मानिसमा संक्रमण हुँदा यसको मृत्यु दर निकै डरलाग्दो छ । कोरोना भाइरसको मृत्युदरसँग तुलना गर्दा यो तथ्य भयानक लाग्न सक्छ । यो भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशत भनिएको छ, जुन अत्यन्तै डरलाग्दो अवस्था हो ।
निपा भाइरसको इतिहास यस्तो पाइन्छ, मलेसियाले सन् १९९७ तिर निकै रुखो खडेरी भोग्यो । यसैबेला मलेसियाको आकाशमा अर्को अज्ञात स्वास्थ्य संकटले मान्छेलाई आतंकित पार्यो । सुँगुर फार्ममा काम गर्नेहरूमा अनौँठो किसिमको ज्वरो आउने र बेहोस हुने समस्या देखियो । जसबाट २६५ जना संक्रमित भए भने उनीहरूमध्येबाट १०५ जनाको त ज्यानै गयो । यसले चारैतिर त्रास फैलियो । सुरुमा त मलेसियाले यसलाई जापानिज इन्सेफ्लाइटिस (जेई) ठान्यो, जुन लामखुट्टेको टोकाइबाट सर्छ । यसको नियन्त्रणका लागि मलेसियाली सरकारले लामखुट्टे मार्ने र जेईविरुद्ध खोप अभियान नै पनि चलायो । तर मलेसियाली सरकारले निकालेको उपायले काम गरेर । जेईको खोप लगाएकाहरूको पनि मृत्यु हुन थाल्यो । मर्ने र संक्रमण देखिने बिरामीहरू अधिकांश सुँगुर फार्मसँग कुनै न कुनै हिसाबले जोडिएकाहरू थिए । त्यो समस्या पहिचान गर्न मलेसियालाई झन्डै एक वर्ष लाग्यो । मलेसियाबाट संकलन गरी पठाइएको नमुनामाथि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) मा अध्ययन गरियो । सन् १९९९ मा जेईसँग मिल्दोजुल्दो लक्षण भए पनि यो नयाँ भाइरस भएको पुष्टि भयो ।
सबैभन्दा पहिला यो भाइरस पुष्टि भएको ठाउँ सुंगाई निपाबाट नै यस भाइरसको नाम पनि निपा भाइरस राखियो । जुन खासगरी फ्रुट ब्याट भनिने ठुला चमेरोमा पाइने कुरा पनि पत्ता लाग्यो । तर रोचक कुरा के भने चमेरो आफैँ भने यो भाइरसबाट बिरामी पर्दैन । यसरी मलेसियाबाट सुरुआत भएको निपा भाइरस संक्रमणको जोखिमले नेपालसम्मै आइपुगेको छ । तर इपिसेन्टर मलेसिया भने पहिलो प्रकोपपछि निपा भाइरसमुक्त छ । पहिलो प्रकोपपछि २६ वर्ष भयो मलेसियामा निपा भाइरसको नयाँ केस भेटिएको छैन ।
००००
भारतमा फैलिँदा नेपाल ?
पछिल्लो समय भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमा स्वास्थ्यकर्मीहरू समेत रहेका छन् । भारतमा निपा भाइरसको संक्रमण पुष्टि हुँदा नेपाल पनि जोखिममा परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपाल बाह्य रूपमा मात्रै नभएर आन्तरिक हिसाबले पनि उच्च जोखिममा रहेको छ । किनकि नेपाल र भारतबीच खुला सिमाना छ । र अर्को महत्वपूर्ण कुरा भनेको यो भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरो नेपालमा पनि पाइन्छ ।
चमेरो मात्रै होइन, सुँगुर पनि नेपालमा प्रशस्तै पाइन्छन् । सुँगुरमार्फत मानिसमा र मानिसबाट मानिसमा सजिलै सर्न सक्ने भएकाले नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा छ । अर्को कुरा भनेको नेपालमा सुँगुरहरू मर्दा के कारणले मर्यो भनेर त्यसको खोजी गर्ने र समस्या पत्ता लगाउने गरेको पाइन्न ।
विज्ञका अनुसार संक्रमण भएको ४ देखि १४ दिनभित्र निपा भाइरसका लक्षणहरू देखिन थाल्छन् । सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस अर्थात् मस्तिष्कको सुजनका लक्षण देखिन सक्छन् । यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्थामा जान सक्ने बताइन्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्ने विज्ञहरू बताउँछन् । उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुनसक्ने देखिएको डा. पुन बताउँछन् । हालसम्म यस भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोपको विकास भएको छैन ।
विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमणको कारण मृत्यु हुने दर ४० देखि ७५ प्रतिशतसम्म पनि हुने गरेको देखाएको छ । भारतमा यो भाइरस संक्रमणको पछिल्लो इतिहास हेर्दा बेला बेलामा साना साना आउटब्रेकहरू भइरहेको छ । र संक्रमितमध्ये अधिकांशको मृत्यु भएको पाइन्छ । विज्ञका अनुसार भारत र बंगलादेशमा निपा भाइरसको मृत्युदर औषतमा ७० देखि १०० प्रतिशतसम्म रहेको छ । तर कोरोना महामारी जसरी मानिस मानिसबीच भेट्दैमा र हिँड्दैमा यसको संक्रमण फैलिएको भने पाइँदैन । तर यसो भन्दैमा वा आजसम्म नेपालमा संक्रमण पुष्टि भएको छैन भन्दैमा ढुक्क हुन नमिल्ने बताइन्छ ।
संक्रमण फैलिएको देश भारतबाट आउने नागरिकले आफैँ आइसोलेट भएर बस्ने र यदि ४ देखि १४ दिनभित्र रुघाखोकीका कुनै लक्षण देखिए तत्काल परीक्षण गर्नपर्ने विज्ञ बताउँछन् । यसका साथै नेपालमा धेरैजसो फलफूलहरू भारतबाटै आउने भएकाले राम्रोसँग पखालेर मात्र खाने, बेलाबेलामा साबुनपानीले हात धुने र मास्क लगाउने गर्नुपर्छ ।
००००
मानिसमा सर्ने तरिका
संक्रमित जनावरसँगको सम्पर्क जस्तै संक्रमित चमेरो, सुँगुर वा घोडा जस्ता जनावरहरूसँग प्रत्यक्ष सम्पर्कमा आउँदा वा मासु खाँदा यो भाइरस मानिसमा सर्न सक्छ । दूषित खानपान जस्तैः संक्रमित चमेरोले टोकेका फलफूल खाएमा वा तिनीहरूको पिसाब, र्यालबाट पनि सर्छ । दूषित बनाएको काँचो खजुरको रस पिउनाले मानिसमा संक्रमण फैलिने जोखिम रहन्छ ।
यो भाइरसले सुँगुर जस्ता फार्ममा पालिने जनावरहरूमा गम्भीर रोग निम्त्याउन सक्छ, जसले गर्दा कृषकहरू थप जोखिममा पर्छन् । त्यस्तै गरी मानिसबाट मानिसमा, संक्रमित व्यक्तिको थुक, पिसाब वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट पनि यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ ।
००००
नेपाल जोखिमबाट अछुतो छ भन्न सकिन्न : डा. अनुप बाँस्तोला, सरुवारोग विशेषज्ञ
छिमेकी राष्ट्रहरू भारत, बंगलादेश र मलेसियामा बारम्बार निपा भाइरसका प्रकोप देखिएका छन्, जसले दक्षिण एसियाली क्षेत्र उच्च जोखिममा रहेको स्पष्ट संकेत दिन्छ ।

भारतको पश्चिम बंगालमा केही समय पहिला निपा भाइरसबाट जना स्वास्थ्यकर्मीसहित केही संक्रमित पहिचान भएपछि नेपालमा पनि त्यसले चासो बढायो । चमेरोबाट संक्रमण हुने भएकाले र नेपालमा पनि चमेरो पाइने भएकाले यसबारेमा चासो बढेको हो । सीमा नजिक र चमेरोको उपस्थितिका कारण जोखिम हुन सक्ने भएकाले यसमा सतर्कता अपनाउन जरुरी छ ।
निपा भाइरस पशुबाट मानिसमा सर्ने भाइरस हो जसले गम्भीर रोग निम्त्याउँछ । यो मुख्य रूपमा फ्रुट ब्याट (फलफूल खाने चमेरो) मा प्राकृतिक रूपमा पाइन्छ । यसको संक्रमण भएका मानिसहरूमा ०–५० प्रतिशतमा कुनै समस्या नदेखिन सक्छ । समस्या देखिएका बिरामीहरूमा मृत्युदर ४०–७५ प्रतिशतसम्म पुग्न सक्छ । मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एनसेफलाइटिस) गराउँदछ ।
हालै जनमानसमा सुनिएको निपा भाइरस एक अत्यन्तै घातक र उदीयमान जुनोटिक रोग हो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारी फैलन सक्ने प्राथमिकता प्राप्त रोगको सूचीमा राखेको छ । डब्लुएचओका अनुसार यसको मृत्यु दर ४०–७५ प्रतिशतसम्म पुग्न सक्छ ।
छिमेकी राष्ट्रहरू भारत, बंगलादेश र मलेसियामा बारम्बार निपा भाइरसका प्रकोप देखिएका छन्, जसले दक्षिण एसियाली क्षेत्र उच्च जोखिममा रहेको स्पष्ट संकेत दिन्छ । हालसम्म यस भाइरसविरुद्ध कुनै प्रमाणित खोप वा निश्चित उपचार उपलब्ध छैन । खुला सीमा, फलफूल खाने चमेराको उपस्थिति, पशु–मानिस नजिकको सम्पर्क र सीमित रोग निगरानी प्रणालीका कारण नेपाल पनि जोखिमबाट अछुतो नरहला भन्न सकिँदैन । त्यसैले डब्लुएचओ र सिडिसीका चेतावनीलाई ध्यानमा राख्दै, नेपालले समयमै सतर्कता, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वतयारीलाई प्राथमिकतामा राख्नु अत्यावश्यक छ ।
००००
कसरी सर्छ ?
फल खाने चमेरो (फ्रुट ब्याट) बाट
संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट (‘बार्किङ पिग सिन्ड्रोम’ र ‘न्युरोलोजिकल सिम्टम’)
संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)
लक्षणहरू (४–१४ दिनपछि देखिन्छ) :
ज्वरो, टाउको दुःखाइ
मांसपेशी दुख्ने, घाँटी दुख्ने
वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)
बच्ने उपायहरूः
चमेरोले टोकेको वा ठुँगेको फल नखानुहोस् ।
काँचो खजुरको रस नपिउनुहोस् ।
संक्रमित व्यक्तिसँग वा जनावरसँग सुरक्षाका उपायहरू अपनाउने । पिपिइको
प्रयोग गर्ने, डनिंग/डफिङ राम्ररी गर्ने, हात धुने, मास्क लगाउने ।
सुँगुर फार्ममा सावधानी अपनाउनुहोस् ।
ज्वरो/टाउको दुःखाइ भए तुरुन्त अस्पताल जानुपर्छ ।
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय हो ।
परीक्षण जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा उपलब्ध छ । शंकास्पद बिरामीको बारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला÷हेल्थ इमर्जेन्सी अपरेटिङ सेन्टरमा सम्पर्क राख्नुपर्छ ।
प्रत्येक वर्ष खजुरको रस खेती गरेर भित्र्याउने समयमा जोखिमलाई ध्यानमा राख्नुपर्छ । यसका लागि महत्वपूर्ण कुरा भनेको सचेतना नै हो ।
प्रतिक्रिया