
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायकी २३ वर्षीया सुन्दरी शाहीका पति नारायण शाहीको बस्तीमै लागेको आगोमा परी मृत्यु भयो । १३ वर्षको उमेरमा नारायणसँग विवाह गरेकी सुन्दरीले वैवाहिक जीवनको सुखद् अनुभूति गर्न नपाउँदै ३ वर्षअघि पति गुमाइन् । सन्तान जन्माउने अवसरसमेत नपाउँदै जीवनसाथीको मृत्यु भएपछि उनी अहिले एक्लोपन र अभावसँग संघर्ष गरिरहेकी छिन् । उमेरले भर्खर २० वर्ष टेक्दै गरेकी मयारामका पति दलबहादुर शाहीको ५ वर्षअघि मृत्यु भयो । आफू १२ वर्षको हुँदा ३२ वर्षका दलबहादुर शाहीसँग विवाह भएको थियो । २५ वर्षीया राउटे युवती किताब शाहीका पति मानसिंह शाही र २० वर्षीया सुरमान शाहीका पति शिवराज शाहीको ५ वर्षअघि मृत्यु भएपछि किरोरावस्थामै एकल हुनुको पीडा अनुभूत गरिरहेकी छिन् । राउटे संस्कारअनुसार अब उनीहरूले विवाह गर्न पाउँदैनन् । जीवनभरि ‘विधवा’को बिल्ला भिरेर एकल जीवन जिउन उनीहरू विवश छन् ।
विवाह भएर पति गुमाएका १७ जना राउटे महिलाहरू एकल बनेका छन् । ४ किशोरीले सन्तानसमेत जन्माउने सौभाग्य नपाउँदै एकल भएका थिए । पतिको मृत्युपछि एकल भएकी सुन्दरीले देवर र ससुरालाई समेत गुमाउनुपरेपछि उनलाई गहिरो पीडामा पारेको छ । एउटै परिवारमा बस्दै आएका उनका ससुरा र देवरको पनि केही समयको अन्तरालमा मृत्यु भयो । लगातार ३ जना पुरुष सदस्य गुमाएपछि परिवारमा अहिले ३ जना महिलामात्र बाँकी छन् । राउटे संस्कारअनुसार ३ जना छुट्टाछुट्टै बस्नुपर्ने बाध्यताको पीडामा उनीहरू परिरहेका छन् ।
राउटे समुदायमा विवाहपछि महिलाले पतिको परिवारसँगै बस्ने चलन छ । पतिको मृत्युपछि पनि सुन्दरीले परिवार छाडेकी छैनन् । छाडेर जाने ठाउँ पनि छैन । राउटे समुदायमा एकल भइसकेपछि अर्को विवाह स्वीकार्य छैन । यो समुदायमा बहुविवाह पनि गरिँदैन । राउटे बस्तीमा पुरुषको संख्या घट्दै गए पनि अनमेल विवाह पनि यो समुदायमा बाध्यकारी बन्दै गएको छ । आफूलाई वनको राजा दाबी गर्दै आएको यो समुदायको आफ्नै कला, संस्कृति र पहिचान छ ।
यो समुदायमा पत्नी गुमाएका पुरुषले पनि आफूले चाहेका बेला विवाह गर्न पाउँदैनन् । पत्नी गुमाएका दीपक शाहीलाई पनि अर्को विवाह गर्ने मन नभएको होइन । तर, उनको संस्कारले आफ्नो पालो कटिसकेपछि साली नाता पर्ने केटीलाई आफ्नो गोत्रका अरूले रोजिसकेपछि विवाह गर्न पाइँदैन । ‘बस्तीमा स्ववंशी र रास्कोटी गोत्रको जनसंख्या घट्दै गएपछि कल्याल गोत्रका लागि विवाह गर्ने उपयुक्त केटाकेटीको अभाव हुन थालेको हो,’ राउटे मुखिया प्रकाश शाहीले भने ।
राउटे समुदायका ३ वटा गोत्र छन् । उनीहरूको आफ्नै गोत्रभित्र बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक–अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । कुल जनसंख्यामा ५० प्रतिशत कल्याल रहेको राउटे मुखिया प्रकाश शाहीले बताए । ‘सबैभन्दा धेरै जनता मेरो गोत्रका छन्,’ उनले भने, ‘रास्कोटी र स्ववंशीमा कम जनता छन् । विवाह गर्ने केटा नै पाइँदैनन ।’ उनले कल्याल गोत्रका बलालु शाही ३३ वर्ष पुग्दा पनि विवाह नभएको बताए । ‘विवाह गर्ने भनेको, अर्को गोत्रमा केटी नै नभएपछि के गर्ने ?,’ मुखिया प्रकाश शाहीले भने ।

बलालु मात्र होइन, कल्याल गोत्रका ६ किशोरीको विवाह गर्ने उमेर कटिसक्दा पनि अविवाहित छन् । रास्कोटी र स्ववंशी जातिमा बिहे गर्ने केटा र केटी नहुँदा आफूहरू अविवाहित बस्नुपरेको उनीहरूले बताए । राउटे समुदायमा स्ववंशी र रास्कोटीको संख्या न्यून छ । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवायुवतीको पनि विवाह हुन मुस्किल हुन्छ । स्ववंशी र रास्कोटी गोत्रका छोराछोरीको उमेर नपुग्दै विवाह हुन्छ । फिरन्ते जीवनशैली, सीमित स्रोतसाधन, शिक्षा र स्वास्थ्य सेवाको पहुँच नपुगेको अवस्था तथा परम्परागत जीवनशैलीका कारण राउटे समुदायका महिला विभिन्न चुनौतीसँग जुध्न बाध्य छन् । त्यसमाथि परिवारका सदस्य गुमाउँदा उनीहरूको सामाजिक र आर्थिक अवस्था झन् कमजोर बन्ने गरेको छ ।
दैलेखको सोसल नेपालले राउटे समुदायको सशक्तीकरण र उनीहरूको सबलीकरणका लागि राउटे परियोजना चलाउँदै आएको छ । उनीहरूको संस्कृति नमासिने गरी स्वास्थ्य, सरसफाइ र पोषणको क्षेत्रमा काम गर्ने गरी सञ्चालन गरिएको परियोजनामा विगत ८ वर्षदेखि राउटे बस्तीमै रहेकी दुर्गा खत्रीले राउटे संस्कार अनुसार अविवाहित र एकलको संख्या बढ्दै गएको बताउँछिन् । राउटे समुदायमा बढ्दै गएको अत्यधिक मदिरा सेवन, स्ववंशी र रास्कोटी गोत्रको जनसंख्या न्यून हुनु र पुरुषभन्दा उमेरले जेठो महिलासँग विवाह नगर्ने संस्कारले अविवाहितहरूको संख्या बढेको उनको बुझाइ छ ।

राउटे समुदाय महिलाको नेतृत्वमा चल्ने गरेको खत्रीको बुझाइ छ । बस्तीमा महिला र बालबालिकामाथि हिंसा नहुने भएकाले कतिपय संस्कार बाहिरी समुदायका लागि पनि अनुशरणयोग्य भएको उनले बताइन् । ‘राउटे समुदाय महिलालाई सम्मान गर्ने, बालबालिकाहरूलाई हिंसा नगर्ने, कुनै कुरामा पनि रिस, राग र प्रतिस्पर्धा नभएको समुदाय हो,’ उनले भनिन्, ‘हरेक कुरामा सामूहिक र सहमतिको नेतृत्वमा बस्ने चलाउने परम्परा छ । त्यो सबैका लागि अनुशरण गर्न योग्य विषय हो ।’
राउटे समुदायमा पछिल्लो समय बाहिरी समुदायको आवतजावत र पैसा दिने प्रचलन बढ्दै गएपछि राउटेहरूको जीवनशैली पनि फेरिँदै गएको छ । दिनहुँजसो केही प्याकेट नुन तेल र चामल बोकेर राहतका नाममा बस्तीमा आउनेहरूको भिडले राउटेहरूलाई परनिर्भर बनाउँदै लगेको सरोकारवालाहरू बताउँछन् । सरकारले हरेक महिना प्रतिव्यक्ति ४ हजारका दरले भत्ता दिन थालेपछि राउटेको परम्परागत संस्कार हराउँदै गएको छ ।
काठका सामग्रीहरू बनाउने, जंगली जनावरको सिकार गर्न रुचाउने राउटे समुदायका युवाहरू मदिरामा लठ्ठ हुने, बस्तीमा आउनेहरूसँग पैसा माग्नेलगायत व्यवहारले उनीहरूको परम्परागत संस्कार लोप हुँदे जाने खतरा बढेको छ । राउटे समुदायमा काम गरिरहेकी स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार राउटे समुदायका बालबालिकामा कुपोषण र स्वास्थ्य समस्या बढ्दै गएको छ । सरसफाइमा खासै ध्यान नदिने गर्भवती समयमै पनि आमाले अत्यधिक मदिरा सेवन गर्ने भएकाले बच्चाहरू कुपोषित जन्मिन्छन् ।
प्रतिक्रिया