सदस्यता खारेज भएकी विद्या भण्डारी एमालेको कार्यक्रममा प्रमुख अतिथि !

काठमाडौँ । पार्टी अध्यक्ष पदबाट मार्गप्रशस्त गर्न दबाब बढिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली सो आवाज मत्थर गर्ने प्रयासमा लागिपरेका छन् । २१ फागुनको प्रतिनिधिसभा चुनावमा पार्टीको सर्मनाक हारसँगै एमालेमा नेतृत्व परिवर्तनको चर्को दबाब छ । पार्टीको पदाधिकारी तहबाटै मार्गप्रशस्त गर्न उनलाई सार्वजनिक रूपमै आग्रह गरिसकिएको छ । युवा नेताहरूले पनि पार्टी पुनर्गठनका लागि भन्दै अभियान नै सुरु गरिसकेका छन् । तर, अध्यक्ष ओली भने भक्तपुर गुन्डुस्थित निवासमा बसेर पार्टी समस्या समाधानका लागि विभिन्न चाल चालिरहेका छन् । उनले पार्टीका असन्तुष्ट नेताहरूसँग वान् टू वान् वार्ता गर्नेदेखि विभिन्न कम्युनिस्ट पार्टीसँग एकताका लागि छलफल चलाइरहेका छन् । चुनावपछि हालसम्म केन्द्रीय कमिटी बैठकसमेत नराखेका ओलीले पछिल्लो समय सचिवालय बैठक राख्नसमेत आनाकानी गरिरहेका छन् ।

मदन–आश्रित स्मृतिसभामा विद्या भण्डारीलाई प्रमुख अतिथि बनाउनु एमालेको बाध्यता हो । मदनको राजनीतिक, वैचारिक र पारिवारिक उत्तराधिकारी उनी भएकाले बाध्यात्मक रूपमा ल्याउनुपरेको हो । अन्यथा कार्यक्रमको वैधता रहने थिएन । एकताको कुरा चलिरहँदा उनलाई नेतृत्वमा प्रोजेक्सन गरिएको पनि हुन सक्छ । विद्याको उपयोगिता सकिएको छैन । पुराना नेताहरूको विकल्प विद्या हुन् । तर, उनीहरूसहित विद्या हुनुको चाहिँ अर्थ हुँदैन । – कोमल भट्टराई, एमाले नेता

अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको हैसियतमा उपाध्यक्ष रामबहादुर थापा बादलले केही बैठक राखे पनि चुनावको समीक्षा आजसम्म भएको छैन । तर, अध्यक्ष ओलीले पार्टीको पुनर्गठनका लागि तयार भएको प्रतीकात्मक सन्देश भने दिइरहेका छन् । आइतबार एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको ३३औँ मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेसँगै समस्या समाधानका लागि ओली तयार भएको रूपमा पार्टी पंक्तिभित्र विश्लेषण भइरहेको छ । गत चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी पार्टीलाई नयाँ दिशा दिने तयारी गरिरहेको कतिपय पदाधिकारीहरूले दाबी गरेका छन् । पार्टी एकताका लागि नेपाली कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) सँग छलफल चलाइरहेका उनी नेतृत्व छाडेर भण्डारीलाई अघि बढाउन लागेका त होइनन् ? भन्ने आशंकासमेत जन्माएका छन् ।

सदस्यता खारेज भएकी भण्डारी प्रमुख अतिथि

गत वर्ष पार्टी सदस्यता खारेज गरेको एमालेले मदन–आश्रित स्मृतिसभाको अवसर पारेर विद्या भण्डारीलाई एमालेको ढोका खोल्ने संकेत गरेको छ । गत मंसिरमा भएको ११औँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा टक्कर दिनेगरी अघि बढेकी उनको नवीकरण भइसकेको सदस्यता ओलीको निर्देशनमा खारेज गरिएको थियो । यद्यपि विद्या समूहले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उठायो । अध्यक्षबाट ओलीलाई हटाएर कुनै पनि हालतमा नेतृत्व परिवर्तन गर्ने एजेन्डा बोकेकी पूर्वराष्ट्रपति भण्डारीलाई आइतबार पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको भूमिका दिएर पार्टी राजनीतिमा उनको ढोका खोलिएको हो । कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित भएपछि उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की, राजन भट्टराई र खगराज अधिकारीलगायत पदाधिकारीले उपस्थिति जनाएर भण्डारीको उपस्थितिलाई थप महत्वपूर्ण बनाएका थिए ।

२ कार्यकाल राष्ट्रपति भएकी भण्डारीको कार्यकाल सकिएपछि एमालेको राजनीतिमा सक्रिय भएकी थिइन् । उनी पार्टी राजनीतिमा फर्किने चर्चाका बीच एमालेले १० वैशाख, २०८१ मा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहको अवसर पारेर भण्डारीलार्ई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको थियो । जुन समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराईलगायतको उपस्थिति थियो । १४ असार, २०८२ मा एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको नवीकरण भइसकेको पार्टीको संगठित सदस्यता ५ र ६ साउन, २०८२ मा बसेको बैठकले खारेज गरेको थियो । ९ साउनमा उनले आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने भन्दै आफू पार्टीमै क्रियाशील रहने बताएकी थिइन् । त्यसयता एमालेको औपचारिक फोरममा नगएकी भण्डारीलाई विभिन्न जिल्लामा जाँदा नभेट्न भन्दै नेता, कार्यकर्तालाई केन्द्रीय तहबाटै निर्देशन जाने गथ्र्यो ।

तर, गत प्रतिनिधिसभा चुनावपछि फेरिएको राजनीतिक परिस्थितिले एमालेभित्र भण्डारीको माग गरेको ओली स्वयंले महसुस गरेपछि पहिलो चरणमा उनलाई पार्टीको मञ्च प्रदान गरेको पार्टीकै नेताहरू बताउँछन् । ओलीले पार्टीभित्रैका विरोधीहरूलाई चेक दिन पनि भण्डारीलाई अघि सारेको हुनसक्ने विश्लेषण पनि गरिएको छ । १४ चैत्रमा ओली पक्राउ परेसँगै अस्पताल भर्ना भएका थिए । भण्डारीले अस्पतालमै पुगेर भेट गरेकी थिइन् । गत २७ बैशाखमा गुन्डु निवास पुगेर भण्डारीले ओलीलाई पार्टी समस्या समाधान गर्न आग्रह गरेकी थिइन् । पार्टीभित्र ईश्वर पोखरेलको नेतृत्वमा विद्या गुट सक्रिय त छँदै छ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेता प्रदीप ज्ञवालीलगायतले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै ओलीलाई विश्राम लिन आग्रह गरिरहेको सन्दर्भमा विद्या गुटलाई मिलाएर ओलीले नयाँ सन्देश दिन खोजेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेमा सिद्धान्त र व्यवहारका बीचमा असन्तुलन देखिएका कारण प्रश्न उठेको भन्दै जनताको भावना र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताइन् । उनले पार्टीको एकतालाई जोड दिँदै भनिन्, ‘हामीले आत्मसुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्ने प्रेरणा लिनुपर्छ । पार्टीले जनविश्वास सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मानुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्छ ।’

वाम एकताका लागि विद्यालाई अघि सार्दै ?

एमाले अध्यक्ष ओली गुन्डु निवासमा आराम गरेर मात्रै बसिरहेका छैनन् । आफ्नो राजनीतिक विरासत फर्काउने गरी शक्ति आर्जनको योजना बनाइरहेका छन् । सोहीअनुरुप नेकपासँग एकताका लागि छलफल अगाडि बढिरहेको छ । उता, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) सँग पनि छलफल चलिरहेको नेताहरूले बताएका छन् । एकताबिना शक्ति आर्जन गर्न नसक्ने मनस्थितिमा पुगेका सबै दलका शीर्ष नेताहरूले नेतृत्वमा भने एकले अर्कोलाई स्वीकार गर्न सक्ने स्थिति छैन । भण्डारीको नेतृत्वमा एकता गर्न सकिने अभिव्यक्ति नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिँदै आएका छन् । वाम एकतामा गाँठो फुकाउने गरी भण्डारीलाई लिइएको चर्चासमेत हुने गरेको छ । एमाले नेता कोमल भट्टराई वाम एकताका लागि हालका नेतृत्वको विकल्पका रूपमा विद्याको नेतृत्व आवश्यक भएको बताउँछन् । वाम एकताका लागि विद्याको आवश्यकता भएको भन्दै हालका पार्टी प्रमुखहरूलाई सल्लाहकारको भूमिकामा राख्दै संक्रमणकालका लागि विद्यालाई नेतृत्व दिनुपर्ने बताउँछन् । विद्याको नेतृत्वले एकता हुनसक्ने उनको तर्क छ ।

आज एमाले सचिवालय बैठक

आज सोमबार एमाले सचिवालय बैठक बस्दै छ । गत शनिबार बस्ने भनिएको बैठक आजलाई सारिएको थियो । चुनावपछि पहिलो पटक यस बैठकमा चुनावी समीक्षा हुने अपेक्षा पदाधिकारीहरूले गरेका छन् । अध्यक्ष केपी शर्मा ओली भने नेताहरूको कार्यविभाजन गरेर जाने मुडमा देखिएका छन् । कार्यविभाजन गरेर नेताहरूलाई फिल्डमा खटाउँदै पार्टी पुनर्गठन र पुस्तान्तरणको स्वरलाई सानो बनाउने रणनीति उनले अख्तियार गर्न लागेका हुन् । यता, उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा इतर पक्षले पुनर्गठनको मुद्दालाई कसरी उठाउँछ र सचिवालयले कुन रूपमा ग्रहण गर्छ भन्ने विषयले पार्टीको आगामी यात्रा तय हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया