प्रथम छायानाथ अल्ट्रा रेसको उपाधि धीरबहादुर र सुनमायालाई

तस्बिर : नन्दबहादुर रोकाया, मुगु

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन् । आज बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको उक्त प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । किम्रीदेखि सुरु भएको दौड छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो ।

पुरुषतर्फको दौडमा धीरबहादुर बुढाले तीन घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भए । साथै दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्ड दौड पूरा गर्दै दोस्रो भए, भने तेस्रो भएका चन्द्रबहादुर रावतले ४ घण्टा ५ मिनेटमा दौड पूरा गरे । त्यसैगरी अर्जुन कुलुङ राईले ४ घण्टा २४ मिनेट र रमेश लिम्बुले ४ घण्टा ३० मिनेट १० सेकेन्ड दौड पूरा गर्दै क्रमशः चौथो र पाँचौ भए ।

तस्बिर : नन्दबहादुर रोकाया, मुगु

गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार महिलातर्फ सुनमाया बुढा पहिलो भएकी छन् । उनले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो भएकी राममाया बुढाले ५ घण्टा २६ मिनेट ४० सेकेन्ड र तेस्रो भएकी कल्पना बुढाले ५ घण्टा ३५ मिनेट २० सेकेन्ड दौड पूरा गरिन् । साथै सम्जेदा बुढाले ५ घण्टा ४० मिनेट १० सेकेन्ड र निर्मला राईले ५ घण्टा ४८ मिनेट दौड पूरा गरी क्रमशः चौथो र पाँचौ भए ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तरराष्ट्रिय मापदण्डका खेलाडी थिए । साथै दुई जना एलिट, पाँच जना इन्टरमिडिएट, नौ जना एड्भान्स तथा सात जना एक्सप्लोर वर्गका धावकको सहभागिता थियो । अल नेपाल स्पोट्र्स फाउन्डेसनका संजय अधिकारीका अनुसार नेपालका विभिन्न प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो ।

एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनलगायत देश–विदेशका विभिन्न म्याराथनमा विजयी खेलाडीहरू समेत सहभागी भएका थिए । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो । मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो । सोमबार विजेतालाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी स्थानीय ५ किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन मद्दत पुग्ने उनको विश्वास छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । आयोजकका अनुसार प्रतियोगिताले छायाँनाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया