हरायो रैथाने पशुपालन, अब कहाँ पाइएला गोरस ?

काठमाडौँ । ‘सासको धन’ भन्दै पुरानो पुस्ताले पशुपालनलाई अनिवार्य पेसा बनाएका थिए । पहिले पहिले गाई, भैँसी, बाख्रा नभएको घर नै भेटिदैनथ्यो । गाउँमा गोरस अनिवार्य नै हुन्थ्यो, गोरसबिनाको छाक टार्न गाह्रो थियो । यदि कुनै वर्ष केही परेर गोठमा दुहुना गाईभैँसी भएनन्, भने छिमिकीबाट मही मागेरै भए पनि हरेक छाक टारिन्थ्यो । छिमिकीले पनि खुरुक्क कर्तव्य सम्झेर मही, दूध तथा घिउ दिने चलन थियो । अरुबस्तु माग्न लाज माने पनि गोरस माग्न लाज मान्नु हुँदैन भन्ने सामाजिक मान्यता नै थियो । दुहुना गाई भैँसी नभए गोठ मात्रै होइन घर नै अँध्यारो भयो भन्ने चलन थियो ।

बाजुराका कृष्ण जोशी २०५३/०५४ सालतिर आफ्नो घरमा ६ वटा भैँसी र ४ वटा गाई, २ हल गोरु (बल्ल), १० वटा बाख्रा, घोडा, कुकुर, बिरालो पालेको सम्झन्छन् । ८० नाघेका उनलाई अझैँ पनि ३०/३५ वर्ष अगाडिको खानपान र गाउँघरको रमाइला दिनहरू हिजो जस्तै लाग्छन् । उनी भन्छन्, ‘त्यतिखेर परदेश भन्ने धेरैलाई थाहै हुँदैनथ्यो । हामी त खेती र पशुपालन गरेरै हुर्किएका हौँ । नोकरी भनेको सरकारी जागिर भन्ने हुन्थ्यो, त्यो पढे–लेखेकाहरूले गर्ने काम थियो ।’

उनले पहिलेको समयमा जागिर खाने भन्दा पशुपालन र कृषि नै सबैले महत्वपूर्ण मान्थे । कम्तिमा आफ्नै घरमा मनले मागेको २ छाक पेटभरी खान पाइन्छ भनेर कृषि र पशुपालनमै धेरै लाग्ने गर्दथे । जोशीले भने, ‘परम्परागत दैनिकीका समयमा दिन बिताउन कहाँ जाने होला ? भन्ने चिन्ता कसैलाई पनि हुँदैनथ्यो । जनावरसमेत व्यस्त हुने गर्दथे । जस्तो कुकुरले बाँदर, लंगुर (गुना) तथा अन्य जनावरबाट बारी जोगाउने काम हुन्थ्यो, भने बिरालोले बारी र घरको मुसा मार्ने, सर्पलाई लखेट्ने जस्ता काम पाउँथे । तर अहिले त्यो सबै कता हरायो हरायो ?’

परम्परागत पशुपालनमा गाउँमै पाइने स्थानीय जातका भैँसी र गाई पाल्ने गरिन्थ्यो । थोरै दुध दिए पनि गाईको दुध निकै पौष्टिक हुन्थ्यो । जंगली जडिबुटीको आहारा पाउने भएकाले पशुहरूमा खासै रोग पनि हुँदैनथ्यो । धेरै नै पशुपालन हुने भएकाले पौष्टिक खानेकुराको कमी हुँदैनथ्यो । जोशीका अनुसार २०३०, ४० र ५० दशकसम्म दैनिक हरेक छाकमा खान पाइने पौस्टिक तथा मिठा परिकार अहिले वर्षमा एकदिन पनि पाइन छाडेका छन् । उनले भने, ‘न पहिलाको जस्तो जंगल, चरन, घासपात पाइन्छ न पशुपालन नै छ, न त गाउँमा मानिस नै छन् । सबै जना विदेश र तराई भन्दै हिँड्याछन् । त्यो गाउँको बुढो पिपल चौतारी, पानी खाने धारा, कुवा र मुहानहरू सुनसान छन् । गाउँमा छरिएका बुढा मौलिक घरहरू एक्लै आँशु झार्छन् होला जस्तो लाग्छ मलाई ।’

उहिले अग्ला डाँडा र जंगलमा समेत गोठाला भेटिन्थे । पशुपालनका लागि मानिसहरूले चरन क्षेत्रको खोजी गर्दै जाँदा उच्च भेगमा तथा जंगलमा खर्क बनाउने गर्दथे । उच्च स्थानमा हुने भएकाले खर्क लगिने पशुहरूले अत्यन्तै लाभदायक जडिबुटी खाँदा तीनबाट मानिसले पाउने दुध तथा मासु पनि औषधि बराबर हुन्थ्यो । अहिले ती खर्कहरू लोप भइसकेका छन् । दिनभर काम गर्नुपरे पनि खान्की भने एकदम पोेषणयुक्त हुन्थ्यो । जसको कारण शरीरलाई चाहिने पौष्टिक तत्वको सन्तुलन मिल्दा मानिसलाई हाल देखिने गरेका अधिकांश रोगहरू थिएनन् ।

बैतडीका हरिचन्द्र कार्की कुनै समय मासिक २५–३० किलो घिउ बोकेर भारतको झुलाघाटमा बेचेको सम्झिन्छन् । उनी भन्छन, ‘१० घण्टा पिठ्युमा बोकेर नेपाल–भारत नाकामा रहेको झुलाघाट बजारमा लगेर महिनाको ३० किलोसम्म घिउ बेचिन्थ्यो । तर अहिले त्यतिखेरको सयौँ गुणा कम गुणस्तरको घिउ पनि पाइँदैन ।’

२०५६–५७ भन्दा अगाडि नेपालका अधिकांश गाउँमा कृषि र पशुपालन नै आम्दानीको स्रोत थियो । काठमाडौँ लगायतका सहरमा बसेर पढ्ने विद्यार्थीहरूले गाउँकै चामल, पिठो, भुटुन, तरकारी तथा गुन्द्रुक, सुकाएको माछा, मासु ल्याएर खाने गर्दथे । खर्चको जोहो पनि पशुपालनबाटै हुन्थ्यो । ठुलो संकट परेको बेला बाहेक मानिसहरू आफूसँग कुनै रकम नभए पनि खाना नपाएर तडपिएको अवस्था हुँदैनथ्यो ।

हाल ८५ वर्ष पार गरेका कार्की आफूले बजारबाट चामल किनेर खान थालेको जम्मा १२–१५ वर्ष भएको बताउँछन् । ‘पहिला पहिला धान बेच्थ्यौँ, पछि खेताला भेटिन छाडे, त्यसपछि छोराबुहारी गाउँमा बस्न मानेनन्, सबै खेत बाँझै छ ।’ कार्कीले भने, ‘पहिला पहिलाको त्यो पशुुपालनको चहलपहल छैन । पशुपालन नहुँदा मल पनि छैन । मुरीमुरीका धान गहुँ फल्ने खेतबारीमा बाँदरले राज्य गरिरहेका छन् ।’

पशुपालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि बसाइँसराइ, प्रविधिको विकास, युवा पलायन तथा सरकारी योजनाको अभावले गाउँमा पशुपालन गर्ने मानिस नै भेटिँदैनन् । समाजमा बढ्दै गएको अधुनिकताले नेपाल पशुजन्य पदार्थमा समेत परनिर्भर हुन पुगेको छ ।

गुजारामूलक पशुपालन हराउँदै गयो तर व्यावसायिकरूपमा पनि त्यसको विकास हुन नसक्दा यो अवस्था आएको कृषिविद्हरूको भनाइ छ । पछिल्लो समय नेपालीहरूको क्रयशक्ति बढेसँगै पशुजन्य उपभोग्य बस्तुको माग पनि बढेको छ ।

नेपालमा परम्परागत रूपमा गरिने, भँैसी, गाई र भेडापालनको अनुपात निरन्तर घट्दै गएको छ । कृषि मन्त्रालयका अनुसार व्यावसायिक रूपमा गरिने बाख्रापालन र कुखुरापालन भने तीव्र वृद्धि भइरहेको छ । पहाडी तथा हिमाली रैथाने गाईभैँसीको संख्या करिब ७० प्रतिशतले घटेको देखिन्छ, भने रैथाने बाख्रा पनि वर्णशंकर भएको छ । यसरी हेर्दा विगत जति कठिन थियो, त्यति नै आनन्द र खुसी थयो, तर हाल मानिसहरूले सुख खोज्दै जाँदा आनन्द र खुसी टाढिँदै गएका छन् ।

प्रतिक्रिया