मस्र्याङ्दीबेँसी हाइड्रोमा लगानी जुट्यो

काठमाडौँ । सिटिजन्स बैंकको नेतृत्वको सहवित्तीयकरणमा ५० मेगावाटको मस्र्याङ्दीबेँसी जलविद्युत् आयोजनाको लागि साढे ७ अर्ब लगानी जुटेको छ । सिटिजन्सको नेतृत्वमा सो हाइड्रोमा प्रभु र एनआइसी एसिया बैंकले लगानी गर्ने गरी सम्झौता भएको छ ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवद्र्धन गर्दै ऊर्जा आत्मनिर्भरतामा टेवा पु¥याउने उद्देश्यका साथ आयोजनाको वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको सिटिजन्स बैंकले जनाएको छ ।
बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच आयोजनाको प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर र ऋण लगानी गर्ने सहवित्तीयकरण बैंकहरूबीच कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । लमजुङ जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकालाई कार्यक्षेत्र बनाएर निर्माण हुने यस आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६७ः३३ कायम गरिएको छ ।

जसअनुसार, सिटिजन्स बैंकको अगुवाईमा रहेका बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम (करिब ३ अर्ब ८० करोड रुपैयाँ) प्रवद्र्धकहरूले स्वपुँजीका रूपमा परिचालन गर्नेछन् । कम्पनीका अनुसार यो आयोजना आगामी ४ वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लमजुङस्थित उदीपुर सबस्टेसनमार्फत वितरण गरिनेछ ।

आयोजनाबाट वार्षिक कुल ३१२.६०२ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ, जसमा हिउँदयाममा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट घन्टा योगदान रहनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै हरित ऊर्जालाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको स्मरण गराए ।

बैंकले हालसम्म देशभर कुल १ हजार ६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ । यसमध्ये १६ वटा आयोजना (२७४.४०१ मेगावाट) निर्माण सम्पन्न भइसकेका छन् भने २६ वटा आयोजना (१ हजार ३३०.८२५ मेगावाट) निर्माणाधीन अवस्थामा रहेका छन् । बैंकले १८ वटा आयोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । सिटिजन्स बैंकले नेपालका ६ वटै प्रदेशमा जलविद्युत् आयोजनाहरूमा लगानी फैलाएको छ ।

प्रतिक्रिया