संसदमा प्रधानमन्त्री शाह अनुपस्थितिको बचाउ गर्दै रास्वपाले माग्याे स्वकीय सचिव

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले प्रधानमन्त्री वालेन शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुनु परम्पराको क्रमभंगता भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको उपस्थित खोजिरहेको बेलामा सांसद आचार्यले यस्तो जवाफ दिएका हुन् ।

उनले बैठकमा भने, ‘व्यक्तिका रूपमा हाम्रा आफ्नै मूल्य मान्यताहरू हुन सक्छन्, अझ उमेर समूहमा यति धेरै विविधता पाएको यो संसद्का हरेक सार्वभौम सांसदको सोचाइमा भिन्नता हुन सक्छ, प्रधानमन्त्रीले संसद्मा लगाउनुभएका जुत्ता कसैलाई कुल लाग्न सक्छ भने कसैलाई संसदीय मूल्य मान्यताप्रतिको ठाडो प्रहार, कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ र यो संसद्को परम्परा हो भन्ने लाग्नसक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता, त्यसैले त स्थापित विधि र प्रक्रिया सधैँ माथि हुन्छन् ।’

सांसद आचार्यले प्रधानमन्त्री शाहले प्रतिनिधिसभा नियमावलीले दिएको अधिकार प्रयोग गरेको बताए ।

उनले थपे, ‘प्रधानमन्त्री सार्वभौम संसद्प्रति जवाफदेही हुनुभएन भन्ने विपक्षी दलका माननीय सदस्यहरूलाई लाग्छ भने उहाँहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा टेकेर प्रधानमन्त्रीलाई संसद्मै सिधा प्रश्न गर्न पाउने कानुनी बाटो छ भन्ने थाहा हुनुपर्छ, त्यो प्रयोग नगरी, विधिभन्दा बाहिर गएर संसद् नै स्थगित गराउने बाध्यात्मक परिस्थिति सिर्जना गर्ने गतिविधिले विपक्षी दलका साथीहरू सार्वभौम संसद् र जनताप्रति उत्तरदायी हुनुहुन्छ भन्ने प्रमाणित गर्‍यो त ?’, उनले बैठकमा बोल्दै सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्न माग समेत गरे ।

प्रतिक्रिया