
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सिंहदरबास्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ः१५ बजे बैठक सुरु भएको हो । अहिले सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८३–८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
सोही बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि बुधबारको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेकामा विपक्षी दलले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि आजका लागि कार्यसूची सरेको हो ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुने
बैठकमा अर्थमन्त्री डा वाग्लेले ‘आव २०८३–८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया