‘ग्रिन गार्मेन्ट भिलेज घोषणा ऐतिहासिक’

काठमाडौँ । नेपाल तयारी पोसाक उद्योग संघले ‘ग्रिन गार्मेन्ट भिलेज’ स्थापना गर्ने सरकारको घोषणा स्वागत गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा ४ दशकदेखिको माग ‘ग्रिन गार्मेन्ट भिलेज’ समेटिएको भन्दै संघले स्वागत गरेको हो ।

संघका अध्यक्ष पशुपति देव पाण्डेले एक विज्ञप्ति जारी गर्दै आर्थिक सुधार, औद्योगिक प्रवद्र्धन, डिजिटल रूपान्तरण र लगानीमैत्री व्यवस्थासम्बन्धी कार्यक्रमहरूले निजी क्षेत्रको आत्मविश्वास बढाउने बताए । उनले भने, ‘विगत चार दशकदेखि तयारी पोसाक क्षेत्रले उठाउँदै आएको यो माग सम्बोधन हुनु अत्यन्तै उत्साहजनक छ । यसले छरिएर रहेका उद्योगहरूलाई एकीकृत गर्ने र अन्तर्राष्ट्रिय खरिदकर्ताहरूका लागि व्यावसायिक समन्वय गर्न सहज बनाउनेछ ।’ यसबाट औद्योगिक पर्यटन र निर्यात प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

सरकारले घोषणा गरेको ‘लगानी एक्सप्रेस नीति’मार्फत निश्चित समयभित्र उद्योग सञ्चालन र प्रशासनिक प्रक्रिया टुंग्याउने प्रतिबद्धताको संघले प्रशंसा गरेको छ । लामो समयदेखिको ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न यो नीति प्रभावकारी हुने संघको धारणा छ । साथै, स्टार्टअप र साना उद्यमका लागि ल्याइएको ‘राष्ट्रिय उद्यम प्रवद्र्धन सुविधा’ले नयाँ पुस्तालाई उत्पादनमुखी अर्थतन्त्रमा जोड्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वदेशी उत्पादनको ब्रान्डिङ, प्रमाणीकरण र निर्यात प्रवद्र्धन गर्ने नीतिले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने संघले जनाएको छ । आगामी दशकभित्र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य र औसत ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन यी नीतिहरूले ऊर्जा थप्ने संघले उल्लेख गरेको छ ।

नीतिहरू कागजमा राम्रो भए पनि तिनको व्यावहारिक कार्यान्वयन नै मुख्य चुनौती रहेको संघले औँल्याएको छ । ‘नीतिगत घोषणाहरूलाई शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र लगानी, उत्पादन र रोजगारीमा सकारात्मक परिणाम देखिनेछ,’ संघले भनेको छ । संघले नेपाली गार्मेन्ट क्षेत्रको विकास र विदेशी मुद्रा आर्जनका लागि सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया