
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन शाहको अनुपस्थितिलाई लिएर कडा टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सांसद शाहीले समाजिक सञ्जाल फेसबुकमा लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री शाहलाई लक्षित गरेर प्रश्न उठाएका हुन् ।
सांसद शाहीले सरकार र विशेषगरी प्रधानमन्त्री वालेन शाहलाई संसदीय जवाफदेहिताबाट नभाग्न चेतावनी दिएका छन् ।
संसद जनताको सर्वोच्च थलो भएको र यहाँ उठ्ने प्रश्नहरू व्यक्तिगत नभई जनताको साझा आवाज भएको उनले बताएका छन् ।
नीति तथा कार्यक्रम सरकारको मुख्य दस्तावेज भएकाले यसको पूर्ण जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिनुपर्ने र संसदमा उपस्थित भएर सांसदका प्रश्नहरूको सामना गर्नुपर्ने उनको भनाइ छ ।
‘जनताको उत्तर संसदबाट खोजिन्छ, सडकबाट होइन,’ भन्दै शाहीले सत्ता पक्षलाई संसदलाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।
प्रजातन्त्रमा संसदलाई कमजोर बनाउने नभई अझ बलियो बनाउने संस्कारको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
सांसद शाहीले प्रधानमन्त्री सिंहदरबारमै भएर पनि संसदमा उपस्थित नहुनु जनप्रतिनिधिहरूको अपमान भएको समेत बताएका छन् । ‘प्रधानमन्त्रीका लागि नीति तथा कार्यक्रमभन्दा ठूलो काम अरु केही हुन सक्दैन, तर प्रश्नको सामना गर्न किन डराउनु ?’, उनले प्रश्न गरेका छन् ।
प्रतिक्रिया