बजेट अधिवेशन आजदेखि : आजै नीति तथा कार्यक्रम प्रस्तुत, ४ असारमा बजेट पारित

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आज सोमबार सुरु हुँदै छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाख दिउँसो २ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका थिए । बजेट अधिवेशनको पहिलै दिन राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । अधिवेशनअन्तर्गत् प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराइनेछ भने सोही बैठकमा प्रतिनिधिसभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पनि हुनेछ । यस्तै, नयाँ प्रतिनिधिसभा नियमावली बनाउन गठित समितिको मसौदा प्रतिवेदन पेस हुनेछ भने त्यसपछि सरकारले ल्याएका विभिन्न ८ वटा अध्यादेशसमेत पेस हुनेछ । यस्तै, बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने पनि कार्यसूची तय भएको छ । त्यसपछि बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

गत शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार २८ वैशाखमा नीति तथा कार्यक्रम र १५ जेठमा बजेट प्रस्तुत गरी ८ असारमा बजेट पारित गर्ने तालिका छ । ८ वैशाखको सरकारको सिफारिसमा राष्ट्रपतिले १७ वैशाखका लागि अधिवेशन आह्वान गरेका थिए । तर, १० वैशाखको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान स्थगित गर्न सिफारिस गरेपछि राष्ट्रपतिले ‘विशेष कारणवश’ भन्दै आह्वान भइसकेको अधिवेशन स्थगित गरेका थिए । अधिवेशन स्थगितपछि सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । ८ वटै अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि सरकारले पुनः अधिवेशन आह्वान सिफारिस गरेको हो ।

०००

यस्तो छ ४ असारसम्मको संसदीय क्यालेन्डर

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको छलफलपछि संसद् सचिवालयले आगामी असार ४ गतेसम्मको सम्भावित कार्यतालिका तयार परेको छ । जसमा २८ वैशाखमा नीति–कार्यक्रम प्रस्तुत, २९ वैशाखमा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस, ३० वैशाखमा नीति–कार्यक्रममाथि छलफल, संशोधन प्रस्तुत, जबाफ र निर्णयार्थ प्रस्तुत हुनेछ भने ३१ वैशाखमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेस हुनेछ । त्यस्तै, जेठ महिनाका लागि १४ दिन प्रतिनिधिसभा सञ्चालन हुने भएको छ । ४ जेठमा विनियोजन विधेयकमाथि छलफल सुरु हुनेछ भने ५ र ६ गतेसम्म छलफल गरी विधेयक पारित गर्ने कार्यसूची छ । ७ गते राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावका साथै वैकल्पिक विकास वित्त परिचालन विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछ ।
१२ जेठमा पर्यटन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव र राष्ट्रिय विधि विज्ञान विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछ ।

१३ जेठमा आव २०८२/८३ को आर्थिक सर्वेक्षण पेस हुनेछ भने चलचित्र विधेयक विचारार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । १५ जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्नेछन् भने उक्त बजेट टेबुल र आर्थिक विधेयक २०८३ पेस हुनेछ । १८, १९ र २० जेठमा बजेटमाथि छलफल हुनेछ र २० जेठमा अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नको जबाफ दिनुका साथै विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेछन् ।

त्यस्तै, २१ जेठमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावका साथै पर्यटन विधेयक र चलचित्र विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछ । २७ र २८ जेठमा विनियोजन विधेयकमाथि छलफल र खर्च कटौती प्रस्तावहरू प्रस्तुत हुनेछन् । १ असारमा सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नको जबाफ दिनेछन् । २ असारमा पनि मन्त्रीहरूको जबाफ जारी रहनेछ भने सबै मन्त्रालयका खर्च कटौती प्रस्ताव निर्णयार्थ प्रस्तुत र विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । त्यस्तै, ३ असारमा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत र ४ गते ती विधेयकहरू पारित गर्ने तयारी छ ।

०००

प्रतिक्रिया