नयाँ भन्सार नियमावली कार्यान्वयनमा : वर्गीकरण गरेर आयात गरिएका बस्तुको जाँचपास

काठमाडौँ । अब भन्सारमा बस्तुको ‘छनौट प्रणाली’ अन्तर्गत वर्गीकरण गरेर जाँचपास हुने भएको छ । सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । अब वस्तुको जोखिम हेरेर हरियो, पहेँलो वा रातो मार्ग निर्धारण गरी जाँचपास गरिने छ । व्यापार सहजीकरणका लागि नियमावलीमा नयाँ व्यवस्थाहरू थप गरिएको छ । कम जोखिम भएका मालवस्तुहरूलाई हरियो मार्गबाट तुरुन्तै छोडिनेछ भने उच्च जोखिम भएकाको मात्र विस्तृत भौतिक परीक्षण गरिनेछ । यसका लागि केन्द्रमा ‘जोखिम विश्लेषण समिति’ र कार्यालयहरूमा ‘जोखिम व्यवस्थापन इकाइ’ रहने व्यवस्था गरिएको छ ।

जोखिम विश्लेषणको आधारमा वस्तुको जाँचपास गर्ने कार्यलाई प्रभावकारी बनाउन महानिर्देशकले विभागको जोखिम व्यवस्थापन हेर्ने उपमहानिर्देशकको संयोजकत्वमा जोखिम विश्लेषण समिति गठन गर्नेछन् । समितिमा विभागको नीति तथा महसुल शाखा, भन्सार मूल्यांकन शाखा, प्रत्यक्ष निगरानी शाखा, अनुसन्धान शाखा, वर्गीकरण शाखा, सूचना प्रविधि प्रणाली स्वचालन तथा विकास शाखाका निर्देशक सदस्य र जोखिम व्यवस्थापन शाखाका निर्देशक सदस्य–सचिव रहने नियमावलीले व्यवस्था गरेको छ ।

जोखिम विश्लेषण समितिले जोखिम व्यवस्थापनसम्बन्धी प्रक्रिया निर्धारण गर्ने, केन्द्रीय जोखिम व्यवस्थापन एकाइले पेस गरेको जोखिमको विवरण (प्रोफाइल) कार्यान्वयनको लागि स्वीकृति दिने र जोखिम व्यवस्थापन एकाइका कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्नेछ । समितिले कम्प्युटर प्रणालीमा प्रविष्ट जोखिम प्रोफाइललाई जुनसुकै बखत संशोधन, अद्यावधिक वा खारेज गर्न वा नयाँ जोखिम प्रोफाइल कार्यान्वयनका लागि छनौट प्रणालीमा प्रविष्ट गर्न जोखिम व्यवस्थापन एकाइलाई आदेश दिन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ । ।

भन्सार ऐन, २०८२ को दफा १३० ले दिएको अधिकार प्रयोग गरी बनाइएको यो नियमावलीले भन्सार प्रशासनलाई थप आधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउने लक्ष्य राखेको छ । नयाँ नियमावलीमा अब विश्वसनीय व्यवसायीहरूलाई ‘आधिकारिक व्यावसायिक व्यक्ति’ का रूपमा सूचीकृत गर्ने नयाँ व्यवस्था छ ।
विगत ३ वर्षदेखि प्रचलित कानुनको पूर्ण पालना गरेका र चुस्त वित्तीय विवरण भएका व्यवसायीले यो मान्यता पाउनेछन् । यस्ता व्यवसायीलाई भन्सार परिसरमा छुट्टै क्षेत्र उपलब्ध गराइने र कार्यालय समयभन्दा अगाडि वा पछाडि पनि मालवस्तु जाँचपासको सुविधा दिइनेछ । नियमावलीमा व्यवसायीहरूलाई व्यापारमा सुनिश्चितता प्रदान गर्न ‘पूर्वादेश’ को नयाँ व्यवस्था गरिएको छ ।

अब पैठारीकर्ताले वस्तु आयात गर्नुभन्दा कम्तीमा ४५ दिन अगावै सो वस्तुको वर्गीकरण वा उत्पत्तिको विषयमा भन्सार विभागबाट आधिकारिक निर्णय माग गर्न सक्नेछन् । विभागले जारी गरेको यस्तो पूर्वादेश २ वर्षसम्म मान्य हुनेछ ।
वस्तुको भन्सार मूल्य निर्धारणका लागि कारोबार मूल्य, समरूपको वस्तु, मिल्दोजुल्दो वस्तु, घट्दो मूल्य र गणना मूल्य जस्ता विधिहरूलाई छुट्टाछुट्टै नियममा विस्तृत रूपमा व्याख्या गरिएको छ । विभागले मूल्यको सत्यता जाँच गर्न विद्युतीय डाटाबेस विकास गरी प्रयोग गर्ने व्यवस्थासमेत गरेको छ ।

भन्सारसँग सम्बन्धित सबै निकायका कामकारबाहीलाई एउटै प्लेटफर्ममा आबद्ध गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’ लाई नियमावलीमै समेटिएको छ । यसका लागि सचिवको संयोजकत्वमा एक समन्वय समिति रहने व्यवस्था गरिएको छ । नयाँ नियमावलीले निजी क्षेत्रलाई समेत भन्सार वेयरहाउस सञ्चालन गर्न दिने स्पष्ट प्रक्रिया तोकेको छ । साथै, भुलवश नेपाल आएका मालवस्तु फिर्ता पठाउने र द्रुत सेवा वा कुरियरबाट आउने साना नमुना वस्तुहरूमा महसुल छुट दिनेसम्बन्धी व्यवस्थाहरूलाई थप परिष्कृत गरिएको छ ।

प्रतिक्रिया