
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलाको आयोजना गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको ललितपुरस्थित बीपी स्मृति भवनमा बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले आगामी वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म सातै प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने तालिका तय गरेको हो ।
प्रतिष्ठानले सार्वजनिक गरेको कार्यतालिका अनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा वैशाख २६ र २७ गते पहिलो भेला हुने छ । त्यसैगरी कर्णालीको सुर्खेतमा वैशाख २८ र २९, गण्डकीको पोखरामा वैशाख ३१ र जेठ १, तथा बागमती प्रदेशको धुलिखेलमा जेठ ४ र ५ गते भेला आयोजना गरिने छ ।
यस्तै, मधेस प्रदेशको बर्दिवासमा जेठ ६ र ७, कोशीको लौकीमा जेठ ८ र ९ र लुम्बिनी प्रदेशको तिलोत्तमामा जेठ १४ र १५ गते कार्यक्रम हुने तय भएको छ ।
मधु आचार्य उपप्रमुखमा चयन
सोही बैठकले प्रतिष्ठानको उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ । बैठकको प्रारम्भमा पार्टी सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराएका थिए भने लगत्तै प्रमुखले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए ।
सभापति थापाले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै प्रतिष्ठानको वैधानिकता र यसको कार्यक्षेत्रका बारेमा निर्देशनसमेत दिएका थिए । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठकका निर्णयबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया