उम्मेदवार बन्न लोक सेवा शैलीकै परीक्षा, टिकटकै लागि पार्टी फेर्नेलाई निषेध !

स्थानीय तह चुनावको तयारीमा जुट्यो रास्वपा

अब उम्मेदवारहरू निश्चित प्रक्रिया, वैज्ञानिक, पारदर्शी प्रक्रियाबाट जानुपर्छ र उम्मेदवारले पूर्ण तयारी गरेर जानुपर्छ भनेर रूपरेखा बनाइएको हो । यसबाट उपयुक्त व्यक्ति, उपयुक्त ठाउँमा, उपयुक्त समयमा पुग्छ भन्ने पार्टीको मान्यता हो । उम्मेदवारहरू प्रक्रियाबाट छानिएर चुनावमा जान्छन् । कसैले कुनै व्यक्तिको ढोका ढक्ढक्याउनुपर्दैन । कुनै समूह हुँदैन । सबै पार्टी सदस्य सहभागी भएर निश्चित प्रक्रियाबाट उम्मेदवार छानिन्छन् । – विपिन आचार्य, सहमहामन्त्री

काठमाडौँ । स्थानीय तहको चुनाव आउन वर्ष दिनभन्दा बढी समय बाँकी छँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावको व्यवस्थित तयारी सुरु गरेको छ । गत २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावमा झन्डै दुईतिहाइ सिट जितेर पार्टी पंक्तिलाई नै चकित पारेको रास्वपाले आगामी स्थानीय तह चुनावमा पनि जनताले रुचाएका र विश्वास गरेका व्यक्तिलाई उम्मेदवार बनाएर ‘क्लिन स्विप’ गर्ने अपेक्षा राखेको छ । यसका लागि रास्वपाले कहीँकतै दाग नलागेको व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सार्ने गरी स्पष्ट मापदण्ड बनाउँदै चुनावी तयारी थालेको हो । रास्वपाले उम्मेदवार छनोट रूपरेखा नै बनाएर उम्मेदवार छनोटमा नवीन प्रयोग गर्न खोजेको छ । यसअघि उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को अभ्यास गरेर नेपाली राजनीतिमा नयाँ प्रयोग थालेको रास्वपाले स्थानीय तह उम्मेदवार छनोटलाई ‘लोकसेवा परीक्षा’ दिएजस्तै पाठ्यक्रममा आधारित बनाएको हो ।

आइतबार पार्टीको सचिवालय बैठकले ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गरिसकेको छ भने उक्त रूपरेखालाई प्रभावकारी कार्यान्वयनका लागि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरेको छ । रास्वपाको यो नवीन प्रयोगले केवल चुनावको टिकटका लागि मात्रै दल अदलबदल गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ भने उम्मेदवारको योग्यता र क्षमतालाई प्राथमिकता दिएको छ ।


३५ हजारभन्दा बढीलाई चुनावी मैदानमा उतार्दै रास्वपा


२०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ र २०७९ मा स्थानीय तह चुनाव सम्पन्न भइसकेको छ । गत ३० वैशाख, २०७९ मा स्थानीय तहको चुनाव भएको र संविधानतः ५ वर्षमा आवधिक चुनाव गर्नुपर्ने हुनाले स्थानीय तहको अर्को चुनाव ३० वैशाख, २०८४ सम्म गरिसक्नुपर्ने हुन्छ । ७ असार, २०७९ मा स्थापना भएको रास्वपाले गत दुइटै स्थानीय तह चुनावमा सहभागी हुन पाएन । त्यसकारण आगामी चुनावमा पहिलो पटक रास्वपाले स्थानीय तह चुनावमा उम्मेदवार उठाउँदै छ । हाल ७५३ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वटा वडा छन् । जहाँ प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्ष, २ खुला वडा सदस्य, १ महिला वडा सदस्य र १ दलित महिला वडा सदस्य गरी ७ वटा पदका लागि उम्मेदवार हुनेछन् ।


मेयर/उपमेयर २९३/२९३ जना, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ४६०/४६० जना, वडाध्यक्ष ६ हजार ७४३ जना, खुला वडा सदस्य १३ हजार ४८६ जना, महिला वडा सदस्य ६ हजार ७४३ जना र दलित महिला वडा सदस्य ६ हजार ७४३ जना गरी स्थानीय तहमा जम्मा ३५ हजार २२१ पदमा रास्वपाले एकै पटक उम्मेदवार उठाउनेछ । वडा तहसम्म संगठन विस्तारसमेत नगरिसकेको रास्वपाले सर्वमान्य व्यक्ति छानेर उम्मेदवार बनाउँदै जित निकाल्ने नीति अख्तियार गरेको छ । ‘प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटलाई सकेसम्म वैज्ञानिक, खुला र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरेको पार्टीले अबको दिनमा पूर्णतः विधि, पद्धति र प्रमाणमा आधारित मार्ग अवलम्बन गर्ने नीति लिएको छ,’ रास्वपाले भनेको छ, ‘उम्मेदवार नेताको निगाहबाट होइन, जनताको भरोसा, पार्टीको मूल्य, सार्वजनिक आचरण, नेतृत्व क्षमता र संस्थागत मूल्यांकनबाट तय हुनुपर्छ भन्ने हाम्रो स्पष्ट विश्वास छ ।’


उम्मेदवारको आवेदन दिन सर्तैसर्त


उम्मेदवार बन्न चाहने आकांक्षीका लागि योग्यता, क्षमता र पारदर्शी मूल्यांकनमा आधारित प्रक्रियाका लागि रास्वपाले क्यान्डिडेट क्लबको अवधारणा अघि सारेको छ । जसका लागि पालिका प्रमुख/मेयर, उपप्रमुख/उपाध्यक्ष पदका आकांक्षीले आवेदन दिन पाउने एउटा र वडाध्यक्ष र वडा सदस्य पदका आकांक्षीले आवेदन दिन पाउने अर्को क्यान्डिडेट क्लब बनाइने रास्वपाले जनाएको छ । उम्मेदवार इच्छुकले क्यान्डिडेट क्लबमा औपचारिक आवेदन दर्ता गर्नुपर्ने र सो चरणमा आकांक्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्यांक संकलन तथा परीक्षण गरेर प्रक्रिया अघि बढाइने प्रावधान राखिएको छ ।

क्यान्डिडेट क्लबमा सहभागी हुन सर्तैसर्त अघि सारेर योग्यताको निर्धारण गरिएको छ । उम्मेदवार बनाइसकेको अवस्थामा कुनै विवाद र झमेला नआओस् भन्नका लागि व्यक्तिगत, पारिवारिक, राजनीतिक तथा कानुनी कुनै प्रकारको विवादलाई पहिलो चरणमै हेरेर बाँकी प्रक्रिया बढाउने तयारी रास्वपाको छ । जसका कारण बेदाग व्यक्ति उम्मेदवार बन्ने अवस्था आउने पार्टीको दाबी छ । अद्यावधिक सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक विवरण र प्रमाणपत्रहरू पूर्णतः सक्कली रहेको, वैवाहिक अवस्था कानुनी रूपमा पूर्णतः वैध र स्पष्ट रहेको स्वघोषणा गर्नुपर्ने र आवश्यक पर्दा कागजात पेस गर्ने स्वघोषणा माग गरिएको छ ।


त्यसैगरी, कानुनी रूपमा प्रमाणित नभए पनि घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार वा सार्वजनिक स्थानमा अमर्यादित व्यवहारमा संलग्न नरहेको, साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुव्र्यवहारमा संलग्नता नरहेको स्पष्ट स्वघोषणा गर्नुपर्ने पनि उल्लेख छ । मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डी वा सहकारी संस्थाको बचत अपचलनजस्ता कुरामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेको, स्वार्थ बाझिने गरी सम्बन्धित पालिका वा वडामा कुनै पनि काममा रहेको भए यथार्थ विवरण खुलाएको स्वघोषणा गर्नुपर्ने र कुनै मुद्दा अदालत वा सरकारको निकायमा विचाराधीन छ भने स्पष्ट विवरण खुलाउनुपर्ने प्रावधान पनि राखिएको छ ।


एउटामा नभए अर्कोमा दाउ हेर्न पूर्ण रूपमा बन्द


प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्ति स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । त्यस्तै, स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिले प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ । यस्तो प्रावधानले जसरी पनि र जहाँ पनि एउटै व्यक्ति उम्मेदवार बन्ने स्वार्थकेन्द्रित राजनीतिलाई रास्वपाले पूर्ण रूपमा बन्द गराउन लागेको हो ।


उम्मेदवार बन्न पनि कुलिङ पिरियड !


चुनावी प्रयोजनको स्वार्थले उम्मेदवारी दर्ताकै दिन पार्टी प्रवेश गर्ने प्रवृत्तिलाई पनि रास्वपाले निरुत्साहित पारेको छ । रास्वपाबाटै राजनीतिको सुरुवात गरेको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ४५ दिन पूरा भएकाले मात्रै क्यान्डिडेट क्लबमा आवेदन दिन पाउने प्रावधान राखिएको छ भने अन्य दलबाट प्रवेश गरेको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ९० दिन पूरा भएको हुनुपर्ने प्रावधान छ । तर, विशेष परिस्थितिमा समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिलाई भने कुलिङ पिरियडको अवधि पूरा नभए पनि ल्याट्रल इन्ट्रीमार्फत् क्यान्डिडेट क्लबमा आवेदन दिन अनुमति दिन सकिने उल्लेख छ । त्यसका लागि पार्टीका विभिन्न समितिहरूले औपचारिक रूपमा लिखित सहमति दिनुपर्ने बताइएको छ । रास्वपा प्रवक्ता मनिष झाले स्वार्थका आधारमा टिकट बाँड्ने प्रवृत्ति खारेज भएको बताएका छन् ।


यस्तो छ उम्मेदवार छनोटको मापदण्ड


उम्मेदवार छनोटका लागि मुख्य गरी ४ वटा आधारलाई मार्गनिर्देशक सिद्धान्त र अनिवार्य सर्तका रूपमा राखिएको छ । लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनलाई मुख्य आधारका रूपमा लिइएको हो । यी चारै आधारको भारांक नै तोकेर अंक प्रदान गर्ने प्रणाली विकास गरिएको छ । लिडरसिप एकेडेमीमा २५ प्रतिशत भारांक छुट्याइएको छ, जसअन्तर्गत उम्मेदवार आकांक्षीहरूलाई अनिवार्य प्रशिक्षण गराइनेछ । राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा र स्थानीय सुशासनका विविध आयाममा आकांक्षीहरूलाई पूर्वनिर्धारित मोड्युलमार्फत् अनिवार्य रूपमा प्रशिक्षित गरिनेछ । एकेडेमीको परीक्षणमा तोकिएको न्यूनतम मापदण्ड पार गरी उत्तीर्ण हुने आकांक्षीले मात्रै उम्मेदवार छनोटको आगामी चरणमा प्रवेश पाउनेछन् ।


त्यस्तै, पोलिटिकल प्रोक्सिमिटीलाई २५ प्रतिशत भारांक दिइएको छ । यसमा विगतको राजनीतिक पृष्ठभूमि, समाजमा स्थापित जनसम्बन्ध, चारित्रिक धरातल, लोकप्रियता र विजयको सम्भाव्यताको समग्र र वस्तुपरक मूल्यांकन गरिने उल्लेख छ । समावेशितालाई १० प्रतिशत भारांक दिएर समावेशितालाई परम्परागत जातीय क्लस्टरमा मात्र सीमित नराखी जनसांख्यिकीय अनुपात, उमेर समूह, लैंगिक समानता, अपांगता, भौगोलिक विकटता र सामाजिक–आर्थिक पृष्ठभूमि हेरिने बताइएको छ । त्यसैगरी, प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भारांक दिइएको छ । उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई अनिवार्य अवयवका रूपमा लिने उल्लेख छ ।


मेटिँदै रवि–बालेन पक्षको ट्याग


रास्वपामा काठमाडौँका तत्कालीन मेयर (हाल प्रधानमन्त्री) वालेन्द्र शाह (बालेन) मिसिएसँगै पार्टी कमिटी र २१ फागुनमा भएको चुनावमा रवि–बालेन पक्षबीचमा भद्र सहमति जुटाई भागबन्डा गरिएको थियो । बालेन पक्षले केन्द्रीय कमिटी, प्रत्यक्ष उम्मेदवार र समानुपातिक उम्मेदवारतर्फ पनि स्पष्ट रूपमा भाग लिएको थियो । रास्वपामा अझै पनि दुई पक्ष रहेको चर्चा छ । तर, उम्मेदवार छनोटको यस रूपरेखाले रास्वपालाई एकढिक्का बनाउने भएको छ भने रवि–बालेन पक्ष भनेर गरिने कित्ताकाटलाई पूर्णतः खारेज गरेको छ । उम्मेदवारहरू कसैको खल्तीबाट नआई योग्यता र क्षमता देखाएर प्रक्रियासम्मत् रूपमा आउने देखिएको छ ।


पारदर्शी बन्ला प्राइमरी इलेक्सन ?


रास्वपाले गत २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गरेको बताएको थियो । तर, प्रविधि र अभ्यासको अभाव र व्यवस्थित संगठनात्मक अवस्था नहुनुले रास्वपाको सो कुरा विश्वसनीय बन्न सकेन । पार्टीकै तत्कालीन महामन्त्री मुकुल ढकालले समेत प्राइमरी इलेक्सन राम्रोसँग हुन नसकेको र अन्तिममा सभापति रवि लामिछानेको दबाबमा उम्मेदवार चयन भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसले प्राइमरी इलेक्सनको विश्वसनीयतामा प्रश्न जन्माएको छ । यस वर्ष पनि प्रत्यक्ष र समानुपातिकतर्फ प्राइमरी इलेक्सन भए पनि अन्तिम समयमा बालेनसँगको एकताका कारण भागबन्डामा उम्मेदवार तय हुँदा प्राइमरी इलेक्सन जितेकाहरू उम्मेदवार बन्न नपाएका र इलेक्सनमा सहभागी नै नभएका उम्मेदवार हुँदै सांसदसमेत भइसकेका छन् । आगामी दिनमा रास्वपाले गर्ने भनेको प्राइमरी इलेक्सन पारदर्शी रूपमा गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न पार्टी पंक्तिमै उब्जिएको छ ।

उम्मेदवार बन्न रास्वपाले तोकेका ४ आधार

लिडरसिप एकेडेमी : २५ प्रतिशत

विषय : राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा र स्थानीय सुशासन

पोलिटिकल प्रोक्सिमिटी : २५ प्रतिशत

विषय : राजनीतिक पृष्ठभूमि, समाजमा स्थापित जनसम्बन्ध, चारित्रिक धरातल, लोकप्रियता र जितको सम्भाव्यता मूल्यांकन

समावेशिता : १० प्रतिशत

विषय : जनसांख्यिकीय अनुपात, उमेर समूह, लैंगिक समानता, अपांगता, भौगोलिक विकटता र सामाजिक–आर्थिक पृष्ठभूमि

प्राइमरी इलेक्सन : ४० प्रतिशत

पार्टी सदस्यहरूबाट हुने मतदानमा सबैभन्दा बढी मत प्राप्त गर्ने आकांक्षी उम्मेदवार बन्न पाउने

प्रतिक्रिया