
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो निवास र व्यावसायिक कार्यालयमा गरेको छापा मारेको विषयप्रति आपत्ति जनाएका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले अनुसन्धान प्रक्रियामा आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पार्दै अकस्मात गरिएको छापामारीले आफ्नो सामाजिक प्रतिष्ठामा आघात पुर्याएको बताएका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा र काठमाडौंस्थित निजी निवासका साथै उनी संलग्न रहेको ‘बानियाँ निर्माण सेवा’ को कार्यालयमा छापा मारी विभिन्न कागजातहरू नियन्त्रणमा लिएको थियो । सोही घटनालाई लिएर मुख्यमन्त्री बानियाँले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले आफू राज्यको जिम्मेवार पदमा रहेको र जुनसुकै बेला निकायमा उपस्थित हुन तयार रहेको अवस्थामा पूर्वजानकारी बिना गरिएको छापामारीलाई नियोजित जस्तै भएको बताएका छन् ।
उनले भनेका छन्, ‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति मेरो आपत्ति छ ।’ उहाँले यस कार्यबाट आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको उल्लेख गरेका छन् ।
आफ्नो ४० वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै मुख्यमन्त्री बानियाँले आफू सधैँ सुशासन र पारदर्शिताको पक्षमा रहेको दाबी गरेका छन् । मुख्यमन्त्री बनेपछि खर्च कटौती, आर्थिक मितव्ययीता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनको जिकिर छ ।
संघीय सरकारसँगको समन्वय र सहकार्यमा आफू सधैँ सकारात्मक रहेको बताउँदै उनले भनेका छन्, ‘संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन रहन्छ ।’
उनले आफ्ना शुभेच्छुक र प्रदेशबासीलाई यस घटनाबाट भ्रमित र चिन्तित नहुन समेत अनुरोध गरेका छन् । विभागले कागजात नियन्त्रणमा लिए पनि अनुसन्धानको विस्तृत विवरण भने अझै सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया