
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रेस स्वतन्त्रता र संसदीय सार्वभौमिकताको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्री वालेन्द्र (वालेन) र राष्ट्रपति रामचन्द्र पौडेललाई फरक–फरक विषयमा ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै अध्यक्ष साम्पाङले पत्रकारहरूलाई समाचार संकलनमा निषेध गरिएको भन्दै आपत्ति जनाएका छन् । सरकारले अतिक्रमण गरेर बनाइएको संरचनामा चलाएको डोजर अभियान र अन्य प्रशासनिक काममा पारदर्शिता हुनुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउनु लोकतन्त्रको मूल्य र मान्यता अनुरूप हुँदैन ।’
प्रेसलाई सूचनाबाट वञ्चित गरेर चुपचाप डोजर चलाउने प्रवृत्तिले सुशासनमाथि प्रश्न उठाएको उनको तर्क छ । त्यसैगरी, अध्यक्ष साम्पाङले राष्ट्रपतिको भूमिकाबारे पनि गम्भीर चासो व्यक्त गरेका छन् । सरकारका हरेक निर्णयलाई विनाप्रश्न स्वीकार गर्दा देश संकटमा पर्न सक्ने भन्दै उनले राष्ट्रपतिको संवैधानिक भूमिकाको स्मरण गराएका छन् ।
संसदलाई सार्वभौम बनाइराख्न राष्ट्रपतिको भूमिका महत्त्वपूर्ण हुन्छ भन्दै उनले सरकारको कामकारबाहीमा आवश्यक खबरदारी र सन्तुलन कायम गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया