
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्न ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार छनोट रूपरेखा पारित गर्दै त्यसलाई प्रभावकारी कार्यान्वयनका लागि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरेको छ ।
पारित भएको रूपरेखाअनुसार अब रास्वपाबाट उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनुपर्ने भएको छ । बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पहिलो महाधिवेशन कार्यविधि–२०८३ पनि पारित गरेको छ । त्यसैगरी, पार्टीको बाग्मती प्रदेश समितिले गरेको सिफारिसमा रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णय पनि भएको छ ।
यस्तै, रास्वपाले अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यससम्बन्धी अधिकारसम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनको समस्या समाधान गर्न जोड दिएको भन्दै त्रासको शंकामा नपर्न सुकुमबासीहरूलाई आग्रह गरेको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार प्राधिकरणले तथ्यांक संकलन गरी आधिकारिक प्रतिवेदन नदिएसम्म अपचलन गर्ने उद्देश्यले अधिग्रहण गरिएका संरचनाबाहेक अन्य स्थानमा डोजर नचलाउन सरकारलाई सुझाव दिइएको पनि बताए ।
उनले भने, ‘असुरक्षित र अव्यवस्थित रूपमा खोला किनारमा बसेका नागरिकलाई सुरक्षित स्थानमा सार्न अधिकारसम्पन्न प्राधिकरण बनाउने, प्राधिकरणले लगत संकलन गरी आवश्यक सूचना लिएर चैत मसान्तभित्र कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गरिसकेको हुने र प्राधिकरणले लगत संकलन गरी उपलब्ध नगराएसम्म अब अपचलन गर्ने उद्देश्यले अधिग्रहण गरिएको संरचनाबाहेक अरू ठाउँमा डोजर चल्नेछैन भन्ने कुरा पनि सरकारलाई सुझाव दिएको छ ।’ स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकार प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्मअनुरूप व्यवस्थापन गर्न रास्वपाले अनुरोध गरेको छ ।
प्रतिक्रिया