ओलीलाई एमाले अध्यक्षबाट हटाउने उपाय खोज्दै युवा नेता

सचिवालय र केन्द्रीय कमिटी नै नराखेपछि कमिटी बाहिरबाटै विकल्प खोजी

काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न भन्दै पार्टी पंक्तिमा अभियान सुरु भएको छ । एमालेमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा चलेको वर्ष दिन बितिसक्दा पनि परिणाम निस्किन नसकेको अवस्थामा पार्टीका युवाहरूले ओलीको विकल्प खोज्दै पार्टीलाई रूपान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । ११औँ महाधिवेशनबाट ओलीलाई बिदा दिएर आफू अध्यक्ष बन्ने गरी सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता खारेज गरेर उनलाई महाधिवेशनमा उठ्नै दिइएन । गत २७ मंसिरदेखि २ पुससम्म भएको ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई हराएर ओली नै अध्यक्ष निर्वाचित भएका थिए । महाधिवेशनपछि नेतृत्व परिवर्तन र पुनर्गठनको च्याप्टर क्लोज भएको थियो ।

तर, २१ फागुनको चुनावपछि एमालेले सर्मनाक हार बेहोरेपछि विगतमा ओलीकै कित्तामा उभिँदै आएका प्रभावशाली नेताहरूदेखि तल्ला तहका कार्यकर्ताले समेत पार्टीको पुनर्गठन गर्नुपर्ने आवाज उठाइरहेका छन् । पार्टी हारको जिम्मेवारी नलिएका अध्यक्ष ओलीले केही प्राविधिक विषय मिलाउन सचिवालयको बैठक राखे पनि ठोस रूपमा चुनावी पराजयको समीक्षा गर्न बैठक बसाएका छैनन् । केन्द्रीय कमिटी बैठक बोलाउने पनि कुनै सुरसार छैन । पदाधिकारी र केन्द्रीय कमिटीभित्रैका नेताहरूले सार्वजनिक रूपमा ओलीले पद त्याग गर्नुपर्ने अभिव्यक्ति दिँदै आए पनि पार्टीको औपचारिक फोरममा भने सो कुरा राख्न पाएका छैनन् ।

पार्टी च्यानलमा सो विषयमा छलफल हुने टुंगो नभएपछि केही केन्द्रीय कमिटी सदस्यको अगुवाइमा ओलीलाई नेतृत्वबाट हटाउने अभियान सुरु भएको हो । काठमाडौँमा ‘पुनर्जागरण भेला’को नाममा शनिबारदेखि नेता, कार्यकर्ताहरू छलफलमा जुटेका हुन् । पार्टीलाई समग्र रूपमा रूपान्तरण गर्ने भन्दै छलफल सुरु गरेका उनीहरूको निष्कर्ष भने वर्तमान पार्टी नेतृत्वका कारण पार्टीको यो अवस्था आएको र पार्टीलाई पुनर्जागृत गर्न पुनर्गठन नै गर्नुपर्ने छ । सबै तह र तप्काका नेता, कार्यकर्ताहरूलाई जोड्दै पार्टीको सुदृढीकरणका लागि लाग्ने उनीहरूको भनाइ छ ।

असन्तुष्टहरूलाई समेटेर बृहत् मोर्चाबन्दी तयारी

एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, केन्द्रीय सदस्य झपट रावल, युवा नेताहरू रमेश पौडेल, नरेश रोकायालगायतले पार्टीलाई पुनर्जागृत गर्ने भन्दै भेला गरिरहेका छन् । उनीहरूले शनिबार भेला आयोजना गरे भने आइतबार पनि नेता, कार्यकर्ताहरूसँगको छलफललाई निरन्तरता दिए । शनिबारको भेलामा परिषद्का अध्यक्ष थपलियाले एमाले पुनर्जागरण, रूपान्तरण र पुनर्संरचनाको मार्गचित्र पेस गरेका थिए भने नेता, कार्यकर्ताले त्यसमा धारणा राखेका थिए । उनीहरूले पार्टीका सबै तह, तप्का र जनसंगठनका असन्तुष्टहरूलाई एकत्रित गरेर दबाब सिर्जना गर्न खोजेका छन् ।

९ वटा प्रदेश र ७७ जिल्ला कमिटी, अग्रज नेताहरू, भूमिगतकालमा योगदान गरेकाहरू, नवयुवा समूह, संगठित सदस्य समूह, जनसंगठन समूह र अभियान सहजकर्ता समूहलाई एमाले रूपान्तरण अभियानमा जोडिने बताइएको छ । त्यस्तै वर्तमान केन्द्रीय नेतृत्व, बौद्धिक, पेसा–व्यवसायी तथा नागरिक समूह, समर्थक शुभचिन्तक, जनसम्पर्क समन्वय समूह, प्रवास समूह, प्राविधिक समूह र पूर्वकेन्द्रीय नेतृत्वलाई अभियानमा जोडेर नेतृत्व परिवर्तन र पुनर्गठनको चर्को दबाब सिर्जना गर्ने नेताहरूको योजना छ । बुद्धिजीवी परिषद्का अध्यक्ष थपलियाले एमालेको रूपान्तरण अभियान थालिएको भन्दै पार्टीलाई नयाँ ढंगले लानुपर्ने आवश्यकता रहेको बताए ।

६ क्षेत्रमा पुनर्संरचना प्रस्ताव

बुद्धिजीवी परिषद्का अध्यक्ष थपलियाले ६ क्षेत्रमा पुनर्संरचना हुनुपर्ने अवधारणा प्रस्तुत गरेका छन् । उनले नीति, नेतृत्व र संगठनमा पुनर्संरचनाको प्रस्ताव गरेका हुन् । त्यस्तै, आचरण, व्यवहार र कार्यशैलीमा पनि पुनर्संरचना गर्नुपर्ने उनको प्रस्ताव छ । नीति निर्माण गर्ने ठाउँमा पठाउने उम्मेदवार कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने, मन्त्री २ पटक, सांसदको उम्मेदवार बढीमा २ पटक, प्रदेशसभा र स्थानीय तहको उम्मेदवार बढीमा २ पटक मात्रै हुनुपर्ने, महाधिवेशनपछि केन्द्रीय नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र भावी नेतृत्व जन्माउन नसक्ने असल नेतृत्व हुन नसक्ने कुरा मनन गरी वैकल्पिक नेतृत्व उत्पादन गर्नुपर्ने प्रस्ताव उनले राखेका छन् । कमिटी निर्माण गर्दा ६० प्रतिशत पुरानो र ४० प्रतिशत नयाँको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्ने र पार्टीको उम्मेदवार तय गर्दा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूबाट प्राइमरी इलेक्सनबाट छनोट गर्नुपर्ने भनिएको छ ।

यस्तै, पार्टी सदस्यहरूबाट प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था गर्नुपर्ने र पार्टीका अनुभवी र अग्रज नेतृत्व रहने मार्ग निर्देशक कमिटी निर्माण गर्नुपर्ने उल्लेख छ । नैतिक आचरणमा प्रश्न उठेको व्यक्तिलाई कुनै पनि जिम्मेवारीमा राख्न नहुने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको व्यवहारमा सुधार गर्नुपर्ने र नेता तथा कार्यकर्ताहरूले कार्यशैली सुधार गर्नुपर्ने उल्लेख छ । उनले एमालेको आगामी बाटो तय गर्न पार्टीको वैधानिक विधिबाट नै सम्भव भएको बताउँदै भनेका छन्, ‘यो अभियान कुनै व्यक्तिको पक्षमा वा कसैको विपक्षमा होइन, समग्र एमालेको पक्षमा हो । कुनै गुट उपगुटभन्दा माथि उठेर एकताबद्ध, सशक्त, जनतातर्फ उन्मुख एमाले बनाउने अभियान हो ।’

‘नेतृत्व फेर्दा पार्टी हित हुन्छ भने फेर्नुपर्छ’

नेता रमेश पौडेलले विगतमा पार्टी सिद्धान्त, नीति, कार्यक्रम, संगठन, राजनीति र सरकार सञ्चालनमा कहाँ–कहाँ चुकियो भन्ने समीक्षा गर्दै सुधारको प्रयत्नका लागि स्वःफूस्र्त अभियान सुरु भएको बताए । उनले एमालेलाई जनतातिर फर्किएको र जनताले माया गरेको पार्टी बनाउन चाहेको भन्दै नेतृत्व फेर्दा पहिलो पार्टी बन्ने भए त्यसै गर्नुपर्ने बताए । ‘एमालेलाई पहिलो रोजाइको पार्टी बनाउनुपर्छ । त्यसका लागि कहाँ चुक्यौँ र कसरी जाने भन्ने विषयमा युवाहरूले सचेत प्रयत्न गरिरहेका छन्,’ उनले भने, ‘नेतृत्व फेर्दा र एजेन्डा फेर्दा वा के गर्दा जनताको पहिलो पार्टी बन्छ, त्यो कुरामा हामी अहिले छलफलमा छौँ । आमजनता, आमकार्यकर्ताले जे निष्कर्ष निकाल्छन्, त्यो कुरा पार्टीले बोक्नुपर्छ भन्ने हाम्रो ध्येय हो ।’

०००

एमालेको आगामी बाटो तय गर्न पार्टीको वैधानिक विधिबाट नै सम्भव छ । यो अभियान कुनै व्यक्तिको पक्षमा वा कसैको विपक्षमा होइन, समग्र एमालेको पक्षमा हो । कुनै गुट उपगुटभन्दा माथि उठेर एकताबद्ध, सशक्त, जनतातर्फ उन्मुख एमाले बनाउने अभियान हो । – गजेन्द्र थपलिया, अध्यक्ष, बुद्धिजीवी परिषद्

०००

एमालेलाई पहिलो रोजाइको पार्टी बनाउनुपर्छ । त्यसका लागि कहाँ चुक्यौँ र कसरी जाने भन्ने विषयमा युवाहरूले सचेत प्रयत्न गरिरहेका छन् । नेतृत्व फेर्दा, एजेन्डा फेर्दा वा के गर्दा जनताको पहिलो रोजाइको पार्टी बन्छ, आमजनता, आमकार्यकर्ताले जे निष्कर्ष निकाल्छन्, त्यो कुरा पार्टीले बोक्नुपर्छ । – रमेश पौडेल, युवा नेता

प्रतिक्रिया