२१ फागुनको निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि एमालेमा व्याप्त अन्योल झनै गहिरिएको छ । फलतः चुनावी समीक्षादेखि संगठन चलायमान गर्ने मुद्दा ओझेलमा परेका छन् ।
विक्रम रत्न२०८३ वैशाख १८ गते ८:१२ मा प्रकाशित
वडा, जिल्ला हुँदै प्रदेशसम्मको समीक्षा भइरहेको छ । प्रदेश अध्यक्षहरूसँग महासचिवले रिपोर्टिङ लिइरहनुभएको छ । सबैतिरबाट रिपोर्टिङ आइसकेपछि केन्द्रीय कमिटी बैठक बस्छ । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न पनि तल्लो कमिटीको समीक्षा र रिपोर्टिङले सहयोग पुर्याउँछ । अध्यक्ष ओलीको हिरासत र स्वास्थ्यका कारणले पनि केही ढिलाइ भएको हो ।– लेखराज भट्ट, उपमहासचिव
देशव्यापी रूपमा एमाले पंक्ति अत्यन्त अलमल र अनिश्चयको भुमरीको परिस्थितिमा छ । सचिवालय, केन्द्रीय कमिटीको बैठक बस्न कुनै सुरसार र चासो छैन । सबै बेखबरको स्थिति छ । यसले अन्योलको स्थितिलाई निराशामा बदल्ने डरलाग्दो परिस्थिति प्रकट हुन थालेको छ । पार्टीको समीक्षासँग जोडिएर, पार्टीमा उठेको पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको बहस हुनुपर्ने बेलामा अलमल किन भइरहेको छ ? भन्ने प्रश्न पार्टीभित्र छ । यस प्रकारको अन्योलको स्थितिलाई चिर्न र पार्टी पंक्तिमा भएको द्विविधा अन्त्य गर्न छिटो केन्द्रीय कमिटीको बैठक आयोजना हुनुपर्छ । – ठाकुर गैरे, केन्द्रीय सदस्य
काठमाडौँ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएको करिब २ महिना पुग्नै लाग्दा नयाँ सरकार गठन भएर देशले एकप्रकारको गति समातिसकेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा देखिएको अन्योल लगभग टुंगिएको छ र देश संवैधानिक ट्रयाकमा फर्किसकेको छ । साना ठुला राजनीतिक दलहरू आ–आफ्नो संगठनात्मक काममा फर्किसकेका छन् । मुख्य राजनीतिक दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी महाधिवेशनको तयारीमा लागिसकेका छन् । अन्य राजनीतिक दलहरू पनि आआफ्नो संगठनात्मक काममा लागिरहेका छन् । तर, संसद्को तेस्रो ठुलो दल नेकपा(एमाले)ले हालसम्म चुनावी हारको समीक्षासमेत गर्न सकेको छैन भने संगठनात्मक गतिविधि पनि शून्य अवस्थामा रहेको छ । देशका राजनीतिक दलहरू मध्ये सबैभन्दा संगठित, व्यवस्थित र चलायमान एमाले हाल निस्क्रिय अवस्थामा रहँदा नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । शीर्ष तहमा नेताहरूका बीचमा टसल बढ्दै जाँदा पार्टी गतिहीन भइरहेको नेताहरूको आरोप छ । केन्द्रीय कमिटी सदस्यहरूले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाएर चुनावको ठोस समीक्षा गर्न र संगठनात्मक गतिविधि सुचारू गर्न माग गरेका छन् ।
सचिवालय २ धारमा हुँदा चुनावी समीक्षाले पाएन पूर्णता, केन्द्रीय समितिमा भाँडभैलो हुने डर
२१ फागुनको प्रतिनिधिसभा चुनावपछि चुनावी नतिजालाई हेर्ने दृष्टिकोणमा एमाले सचिवालयमा विवाद उत्पन्न भएको छ । एमाले २५ सिटसंख्यासहित तेस्रो स्थानमा खुम्चिएर इतिहासकै लज्जास्पद हार बेहोर्नु र रास्वपाजस्तो नयाँ दल १८२ सिटसहित पहिलो र शक्तिशाली दल बन्नुमा एमाले नेताहरूको दृष्टिकोणमा मतभिन्नता आएको छ । अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर सचिवालय सदस्यहरूले पार्टी हारलाई स्वाभाविक मानेका छैनन् ।
चुनावी नतिजालाई उनीहरूले षड्यन्त्रकै रूपमा अथ्र्याएका छन् र कार्यकर्ताहरूलाई सोही ढंगले प्रशिक्षित गर्ने जमर्को पनि गरेका छन् । १९ चैतको प्रतिनिधिसभा बैठकमा संसदीय दलको नेता रामबहादुर थापा ‘बादल’ले त रास्वपा जितमा नेपाली सेनादेखि विभिन्न गैरसरकारी संस्थाहरूको समेत हात रहेको भन्दै विवादास्पद अभिव्यक्ति नै दिए । सो अभिव्यक्ति पार्टीको निष्कर्ष अनुरूप नै दिएको उनको जिकिर थियो । तर उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले उनको अभिव्यक्तिको कडा रूपमा विरोध जनाए र सचिवालय बैठकमा नेपाली सेना लगायतका राज्यका संयन्त्रप्रतिको एमाले दृष्टिकोण पुरानै रहेको भन्दै नरम भाषामा थापाको अभिव्यक्तिको सचिवालयले स्वामित्व लिएन । उपमहासचिव भट्टराई, नेताहरू ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे लगायतले चुनावी परिणामलाई स्वभाविक रूपमा लिँदै पार्टी नेतृत्वलाई चुनावी हारको दोष थोपर्ने कोशिस गरिरहेका छन् । उनीहरूले चुनावी परिणामलाई नै देखाएर नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनको पक्षमा आवाज उठाइरहेका छन् । यसरी चुनावी परिणामलाई हेर्ने दृष्टिकोणमा नै भिन्नता आएपछि हालसम्म सचिवालयले पनि चुनावी परिणामको ठोस र मूर्त रूपमा समीक्षा गर्न नसकेको हो ।
एमाले केन्द्रीय कमिटी सदस्य विषमलाल अधिकारी भदौ २३ र २४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमालेभित्रको बुझाइ फरक–फरक रहनु नै मुख्य समस्या भएको बताउँछन् । एक पक्षले नेतृत्वको कारण हार भएको भन्ने र अर्को पक्षले नेतृत्वको प्रतिरक्षा गरिरहेको अवस्था रहेको उनले बताए । चुनावी परिणामपछि पुरानो पुस्ता भर्सेस नयाँ पुस्ताको लडाइँ पनि पार्टीमा देखिएकाले समस्या देखापरेको उनको भनाइ छ । उनले पदाधिकारी तहबाटै पार्टीमा समस्या उत्पन्न गराउने काम भएको उल्लेख गरे । ‘एक पक्षको बुझाइ सबै कुरा नेतृत्वको असक्षमताको कारणले हो भन्ने छ । अर्को पक्षको बुझाइ, नेतृत्व परिवर्तन मात्रै समस्याको समाधान होइन । सबै दोष नेतृत्वको होइन भन्ने छ’, उनले भने, ‘पुरानो भर्सेस नयाँ पुस्ताको लडाइँ पनि देखियो । पदाधिकारीको तहमा पनि समस्या देखिएको छ ।’
पदाधिकारी तहमा देखिएको समस्या समाधान नगरी केन्द्रीय कमिटी बैठक बोलाउँदा पार्टी नेतृत्वप्रतिको विरोधले उग्र रूप लिने भयका कारण केन्द्रीय कमिटी बैठक पनि हालसम्म बोलाइएको छैन । वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीय सचिवालयमा चुनावी समीक्षा गरेर पठाउने भनिएको छ । तर सक्रियतापूर्वक तल्ला कमिटीहरूले रिर्पोटिङ नगरिरहेको एमाले केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ । संस्थापनले केन्द्रीय समिति बैठक टार्न र समय लिनका लागि तल्लो तहलाई रिर्पोटिङ गर्न भनिएको आरोप इतरपक्षका नेताहरूले लगाइरहेका छन् । यद्यपि संस्थापन पक्ष तल्ला तहहरूमा समीक्षा चलिरहेको दाबी गर्छ ।
संस्थापनको बहाना ओलीको स्वास्थ्य अवस्था
केन्द्रीय कमिटी सदस्य पदम गिरी अनपेक्षित रूपमा पार्टीले पराजय भोगिसकेपछि पार्टी काममा जुट्नका लागि समय लाग्नु स्वाभाविक भएको बताउँछन् । स्थानीय र प्रदेश कमिटीहरूमा निर्वाचनको समीक्षा बैठक चलिरहेको उनको भनाइ छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य स्थितिको कारणले केन्द्रीय कमिटी बैठक निश्चित नभएको उनले बताए । ‘उहाँ(ओली)को स्वास्थ्य सुधारसँगै बैठक बस्छ । त्यो बैठकले सम्पूर्ण योजना, कार्यक्रम तय हुन्छ । केन्द्रीय कमिटी बैठकअघि भावि कार्ययोजना, नीति, नेतृत्व, समीक्षा गर्न सम्भव भएन,’ उनले भने ।
अध्यक्ष ओलीलाई जेनजी आन्दोलन घटना छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको सिलसिलामा १४ कात्तिकमा पक्राउ गरिएको थियो । सर्वोच्च अदालतको आदेशमा उनी २६ चैतमा रिहा भए । तर हिरासत अवधिभर उपचारमा रहेका उनी ५ वैशाखमा मात्रै अस्पतालबाट डिस्चार्ज भए । यस अवधिमा एमालेले ओलीलाई हिरासतमा लिएकोमा विरोधको कार्यक्रम गरेको थियो । हाल गुन्डुस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेका उनी सार्वजनिक कार्यक्रमहरूमा निस्किएका छैनन् । नेताहरूले ओलीको हिरासत बसाइ र स्वास्थ्य अवस्थाका कारण पनि पार्टी गतिशील हुन नसकेको बताएका छन् ।
केन्द्रीय कमिटी बैठक तुरुन्तै बोलाउन माग
एमालेको एउटा पंक्ति अध्यक्ष ओलीको हिरासत बसाइ र स्वास्थ्यको कारण मात्रै बैठक बस्न नसकेको र पार्टी चलायमान हुन नसकेको भन्ने कुरामा विश्वस्त छैन । बैठक बस्न नसक्नुको कारणबारे नेताहरूले प्रश्न उठाइरहेका छन् । उनीहरूले पार्टी संरचना निष्क्रिय हुनुमा आश्चर्य व्यक्त गरिरहेका छन् । नेताहरूले पार्टी अनिश्चय र अलमलको भुमरीमा परेको भन्दै नेतृत्वले बैठक राख्न कुनै चासो नदेखाएको बताएका छन् । केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले यस प्रकारको अन्योलले पार्टीलाई थप निराशामा लैजाने डरलाग्दो परिस्थिति बनेको भन्दै तत्काल बैठक बोलाउन माग गरे । ‘पार्टीको समीक्षासँग जोडिएर, पार्टीमा उठेको पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको बहस हुनुपर्ने बेलामा अलमल किन भइरहेको छ भन्ने प्रश्न पार्टीभित्र छ’, उनले भने, ‘यस प्रकारको अन्योलको स्थितिलाई चिर्न र पार्टी पंक्तिमा भएको द्विविधा अन्त्य गर्न छिटो केन्द्रीय कमिटीको बैठक आयोजना हुनुपर्छ । अध्यक्ष हिरासत र बिरामी भएको बेलामा धेरै चासो गर्नु हुँदैन भन्ने नै थियो । तर यसपछि पनि कुरा नहुनुले अचम्मित तुल्याएको छ ।’
जनवर्गीय संगठनहरू पनि निष्क्रिय, छैनन् कुनै सभा, समारोह
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको धारणा तथा नीतिमा मूल पार्टी नै स्पष्ट हुन नसकेपछि जनवर्गीय संगठनहरूमा पनि अन्योल थपिएको छ । यस बीचमा जनवर्गीय संगठनहरूले पनि आफ्नो संगठनलाई चलायमान बनाउन सकेका छैनन् । एक न एक मुद्दा र विषयमा काम गरिरहने जनवर्गीय संगठनहरू अहिले पार्टीको मुख ताकेर बसिरहेका छन् ।
‘वान टू वान’ भेटवार्ता गर्दै ओली
अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य लाभको अवस्थामा रहे पनि नेताहरूसँग निरन्तर भेटवार्तामा रहेका छन् । उनले पदाधिकारीमा रहेका नेताहरूसँग वान टू वान भेटवार्ता गरिरहेको एक पदाधिकारीले जानकारी दिए । उनले चुनावी परिणामलाई हेर्ने दृष्टिकोण साझा बनाउनका लागि प्रयास गरिरहेको दाबी ती पदाधिकारीको छ । त्यस्तै विभिन्न केन्द्रीय सदस्यहरूसँग पनि उनले भेटवार्ता गरिरहेको बताइएको छ । ‘अध्यक्षज्यूले परिस्थिति आफू अनुकूल बनाउन आवश्यक छलफल गरिरहनुभएकै छ । परिस्थिति उहाँ अनुकूल भए छिट्टै बैठक बस्छ । अन्यथा भन्न सकिँदैन,’ ती पदाधिकारीले भने ।
प्रतिक्रिया