कांग्रेसले गर्यो कान्छाराम तामाङलाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन

काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा उनीमाथि अनुशासनको कारबाही गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले तामाङलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

अनुशासन समितिका अनुसार तामाङले पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर अभिव्यक्ति दिएको विषयमा वैशाख ७ गते स्पष्टीकरण सोधिएको थियो । उनले वैशाख ८ गते दिएको जवाफमा आफूबाट अनुशासन उल्लंघन भएको स्वीकार गरेता पनि त्यस्तो मनसाय नरहेको बताएका थिए ।

तर, समितिको बैठकले उनको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक र चित्त बुझ्दो नदेखिएको ठहर गरेको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएको र तामाङ पदमा रहिरहँदा अनुसन्धान प्रभावित हुने भएकाले उनलाई निलम्बन गरिएको हो ।’

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम उनलाई अनुसन्धान नसकिउन्जेलसम्मका लागि जिल्ला सभापति पदको कामकाज गर्न नपाउने गरी रोक लगाइएको छ ।

बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा सर्वोच्च अदालतको फैसलापछि पुरानो निर्णयको औचित्य समाप्त भएको भन्दै उनको फाइल तामेलीमा राख्ने निर्णय गरेको छ ।

यस्तै, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गर्ने निर्णय समेत समितिले गरेको छ । यसका लागि ह्वाट्सएप, भाइबर, इमेल र हुलाक जस्ता माध्यम प्रयोग गरिने छ ।

प्रतिक्रिया