
काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सुनुवाइका लागि आज बुधबारका लागि पेसी तोकिएको छ ।
रिटमा उत्प्रेषणको आदेशद्वारा आयोग गठनको निर्णय खारेज गर्न तथा तत्काल कामकारबाहीमा रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ । सरकारी ओहोदामा पुगेकाहरूको सम्पत्ति अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग छँदाछँदै उसलाई बाइपास गर्ने गरी आयोग बनाइएको रिट निवेदकको जिकिर छ ।
सरकारले गत ३ वैशाखमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश चण्डीराज ढकाल र पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । उक्त आयोगलाई २०६२÷६३ सालदेखि हालसम्म सार्वजनिक पदधारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ । १ वर्षको कार्यावधि पाएको आयोगले आफ्नो काम सुरु गरिसकेको छ ।
प्रतिक्रिया