१५औँ महाधिवेशन कसरी सम्मानजनक र सबैको सहभागितामा निष्पक्ष हुन सक्छ, त्यस विषयमा छलफल भयो । महाधिवेशनका लागि सबैको सहमतिमा साझा संयन्त्र हुनुपर्छ भन्ने कुरा आएको छ । त्यसो हुँदा निष्पक्ष महाधिवेशन हुन्छ र सबैलाई स्विकार्न सजिलो हुन्छ । पार्टीमा विचार, दृष्टिकोण, संगठन सञ्चालन गर्ने तौरतरिकामा अन्तर आएपछि समूह बन्छन् । पहिले पनि थियो, भविष्यमा पनि हुन्छ । अहिले त झन् ठुलो समूह विशेष महाधिवेशनमा सहभागी थिएन । सबैको सहभागितामा विशेष महाधिवेशन नभएकाले छुट्टै समूह बन्नु र छलफल गर्नु झनै स्वाभाविक छ । – डा. प्रकाशशरण महत, देउवा पक्षीय नेता
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन र विशेष महाधिवेशनको नाममा भइरहेको कित्ताकाट र शक्ति संघर्ष अझै लामो समयसम्म जाने देखिएको छ । गत ४ वैशाखमा विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा निर्वाचित केन्द्रीय समितिलाई सर्वोच्च अदालतले आधिकारिकता दिएसँगै पार्टी एकढिक्का हुने अपेक्षा गरिएको थियो । निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले पनि लगत्तै बैठक राखेर अदालतको आदेश मानेर अघि बढ्ने निर्णय गरेको थियो । तर, आधिकारिकता विवाद टुंगिएको २ साता नपुग्दै देउवा–खड्का समूह पुनः १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति ब्युँत्याएर गुटको राजनीतिमा लागेका छन् ।
मंगलबार काठमाडौँमा नेता खड्काले समूहको बैठक बोलाएर गुट राजनीति कायमै रहेको सन्देश मात्रै दिएनन्, पार्टीको आधिकारिकता उल्टाउन सकिने आस जीवितै रहेकोसमेत बताए । १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार काम अघि बढिरहेका बेला देउवा–खड्का समूहले पार्टीको वर्तमान पार्टी संरचनामा भाग खोजेका छन् । आफूहरूलाई सम्मानजनक स्थान नभएमा महाधिवेशन अस्विकार गर्नेसम्मको चेतावनी उनीहरूले दिएका छन् । अर्कातर्फ, नेता शेखर कोइरालाले छुट्टै गुट सञ्चालन गर्ने देखिएपछि विशेष महाधिवेशन विवादले बनाएको घाउ छिट्टै नपुरिने स्पष्ट संकेत देखिएको छ ।
देउवा–खड्का समूहको भेलामा के–के भयो छलफल ?
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावको समीक्षा, आगामी महाधिवेशन र एकताबद्ध कांग्रेस कसरी बनाउने भन्ने विषयमा छलफल गर्न भन्दै खड्काले आफूपक्षीय निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूको संयुक्त बैठक बोलाएका थिए ।
बैठकमा नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, रमेश लेखक, प्रकाशशरण महत र डिना उपाध्यायलगायतको सहभागिता थियो । त्यस्तै, नेताहरू सुजाता कोइराला, वीरबहादुर बलायर, रामहरि खतिवडा, मोहन बस्नेत, नैनसिंह महर, कल्याण गुरुङ, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, कुन्दनराज काफ्ले, गुरु बराल, कान्छाराम तामाङ, उमाकान्त चौधरी, दुर्लभ थापा, रणबहादुर रावल, जीवनबहादुर शाही, लक्ष्मी खतिवडालगायत पनि सहभागी थिए ।
इतर समूहका नेता मीन विश्वकर्माले गगन थापाले आधिकारिकता पाइसकेको सन्दर्भमा १४औँ महाधिवेशनबाट निर्वाचित नेता–कार्यकर्ता परिचालन गरेर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सम्बन्धमा छलफल भएको उनको भनाइ छ । ‘यो बैठकमा १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने, सबै साथीलाई समान सम्मानका साथ कसरी सहभागी गराउन सकिन्छ भन्ने छलफल भएको छ,’ उनले भने ।
देउवा–खड्का समूहका अर्का नेता रामहरि खतिवडाले आगामी रणनीति बनाउन तल्ला तहका नेता, कार्यकर्ताको आवाज सुन्न बैठक गरिएको बताए । पार्टीभित्र बृहत् एकता आवश्यक भएको भन्दै उनले तल्ला कमिटीहरूको कुरा सुन्दै र उनीहरूको भावनाको सम्बोधन हुने गरी पार्टीलाई अघि बढाउन जोड दिने बताए । मंगलबारको बैठकमा नेता खड्काले सम्बोधन गरेका थिए भने केही जिल्ला सभापतिले पनि धारणा राखेका थिए । जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले आज बुधबार पनि बैठक जारी रहने जनाइएको छ ।
०००
‘विशेष महाधिवेशनकै कारण चुनावमा हार बेहोर्नुपर्यो’
नेता खड्काले २१ फागुनको चुनावमा पार्टी पराजयको मुख्य कारण विशेष महाधिवेशन भएको बताए । उनले एकताबद्ध पार्टी चुनावमा जान सकेको भए कम्तीमा ६० सिटभन्दा माथि जित्ने दाबी गर्दै हारको जिम्मेवारी विशेष महाधिवेशन गर्ने नेताहरूले लिनुपर्ने बताए । यसैबीच, देउवा–खड्का समूहले गुट राजनीति कायम रहने बताएको छ । पार्टीमा विचार, दृष्टिकोण र संगठन सञ्चालनको तौरतरिकामा फरक हुँदा गुट र समूह स्वाभाविक भएको नेताहरूले दाबी गरेका छन् ।
गगन थापा नेतृत्वले आधिकारिकता पाएर आगामी १६–१९ मा १५औँ महाधिवेशन गर्ने गरी काम अघि बढाइसकेको छ । तर, इतर समूहले भने वैधानिकताको लडाइँ जारी राख्ने भएको छ । पूर्णबहादुर खड्काले कांग्रेस आधिकारिकताको विषयमा सर्वोच्चको आदेश स्विकारे पनि व्याख्यामा चित्त नबुझेको भन्दै पुनरवलोकनमा जाने संकेत गरे । ‘पुनरवलोकनमा जाने वैधानिक बाटो बाँकी छ । त्यसका लागि ६० दिन म्याद हुन्छ । संयुक्त इजलासविरुद्धमा सर्वोच्चमै पुनरावेदन जाने कानुनी अधिकार बाँकी भएकाले यसका लागि सल्लाह भइरहेको छ,’ उनले भने ।
नेता डा. प्रकाशशरण महतले कांग्रेसको वर्तमान नेतृत्वले नै गर्ने १५औँ महाधिवेशन स्विकार्न नसकिने बताए । उनले महाधिवेशन गराउन सहमतिमा साझा संयन्त्र बनाउनुपर्ने भन्दै त्यसरी गरिने महाधिवेशन मात्रै स्विकार्न सकिने बताए । सौर्यसँगको कुराकानीमा उनले ठुलो समूहले विशेष महाधिवेशन नस्विकारेकाले संस्थापन इतर समूह झनै ठुलो भएको उल्लेख गरे । ‘अहिले त झन् ठुलो समूह विशेष महाधिवेशनमा सहभागी थिएन । सबैको सहभागितामा विशेष महाधिवेशन नभएकाले छुट्टै समूह बन्नु र छलफल गर्नु झनै स्वाभाविक छ,’ उनले भने ।
०००
शेखर कोइरालाले बोलाए छुट्टै बैठक
सर्वोच्च अदालतको फैसलाअघिसम्म तत्कालीन देउवा समूहका बैठकमा सहभागी हुँदै आएका नेता डा. शेखर कोइरालाको समूह देउवा–खड्का समूहको बैठकमा जान छाडेको छ । मंगलबारको बैठकमा कोइराला समूहका कोही पनि उपस्थित भएनन् ।
आधिकारिकता जता हुन्छ, त्यतै रहने रणनीति बनाएका उनले संस्थापनभित्रैबाट छुट्टै समूह चलाउने रणनीति बनाएका छन् । यससँगै कांग्रेस शक्ति संघर्षमा अब स्पष्ट ३ गुट देखिने भएको छ । उनले भोलि बिहीबार बाग्मती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद र प्रदेश समितिका पदाधिकारीहरूसँग छलफल गर्न लागेका छन् ।
प्रतिक्रिया