
काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले शपथग्रहण गरेको ३२ दिनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । पार्टी आधिकारिता विवाद र आन्तरिक शक्ति संघर्षका कारण लामो समय खाली रहेको संसदीय दलले नेतृत्वमा समानुपातिक सांसद भीष्मराज आङ्देम्बेले बाजी मारेका हुन् । सोमबार बसेको ३८ सदस्यीय कांग्रेस दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत नेता निर्वाचित गरेको हो । पछिल्लो समय आङ्देम्बेसँगै मोहन आचार्य पनि दलको नेतामा आकांक्षी थिए । दल नेता चयनका लागि निर्वाचन प्रक्रिया नै सुरु भइसकेको अवस्थामा सहमतिमा चयन गर्न भन्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको कार्यदलले उम्मेदवार आकांक्षीहरूसँग छलफल गरेसँगै आङ्देम्बेको नाम केन्द्रीय कार्यसम्पादन समितिमा सिफारिस गरेको थियो । कार्यसम्पादन समितिले आङ्देम्बेको नाम अनुमोदन गरेसँगै बसेको दलको बैठकले उनलाई नेता निर्वाचित गरेको हो । दल नेता चयनमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच मतान्तर भए पनि अन्ततः विश्वले रोजेकै व्यक्ति नेता बनेका छन् ।

यस्तो छ दलको नेता चयनको ३२ दिने दौड
कांग्रेस संसदीय दलको नेता बन्न पाका नेता अर्जुननरसिंह केसीले इच्छा जाहेर गरेका थिए । केसी नाताले कांग्रेस सभापति गगन थापाका ससुरा हुन् । यद्यपि उनी कांग्रेसमा लामो राजनीतिक पृष्ठभूमि बोकेका शीर्ष नेतामध्ये हुन् । उनी प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा केही दिन सभामुखको भूमिकामा बस्नुपरेपछि दलको नेता चयन प्रक्रिया नै अवरुद्ध हुन पुगेको थियो । उनी दलको नेता बन्दा नातावादको आरोप लाग्ने र कांग्रेस पुस्तान्तरणको सन्देश नजाने भएपछि सभापति गगन थापाले रसुवाबाट लगातार ३ पटक निर्वाचित मोहन आचार्यलाई अघि सारे । तर, शेरबहादुर देउवा–शेखर कोइराला पक्षधरको समर्थन पाएका आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्माले समेत समर्थन गरेपछि उनको पल्ला भारी भएको थियो । गत शुक्रबार निर्वाचन कार्यतालिकाअनुसारको प्रक्रिया अघि बढेर मतदाता नामावलीसमेत प्रकाशित भइसकेको अवस्थामा प्रक्रिया रोकेर केन्द्रीय कार्यसम्पादन समिति बैठकले दल नेता चयनमा समन्वय गर्न भन्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको लगातारको बैठकले सहमति जुटाएसँगै अन्ततः कांग्रेसले दलको नेता पाएको हो ।

०००
आङ्देम्बेले जब गगनको स्प्रिरिटमा हिँड्ने प्रतिबद्धता गरे
१४औँ महाधिवेशनबाट सहमहामन्त्री बनेका आङ्देम्बे निवर्तमान सभापति शेरबहादुर देउवानिकट हुन् । उनी देउवा गुटका प्रमुख नेतामध्येमै पर्छन् । उनलाई तत्कालीन सभापति देउवाले नै समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा सिफारिस गरेका थिए । यता, ७८ वर्षीय केसी खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा सिफारिस भएका थिए । सहमतिका नाममा आफूलाई दलको नेतामा अघि सारेका केसीले चुनाव भने नलड्ने घोषणा गरिसकेका थिए । तर, आङ्देम्बे भने चुनावी प्रतिस्पर्धाका लागि पनि तयार थिए । गुटको शक्ति संघर्षमा आफूअनुकूल चलाउन नसकिने आशंकामा सभापति थापा उनीप्रति सकारात्मक देखिएका थिएनन् । तर, थापालाई सभापति बनाउन विभिन्न त्याग गर्दै आएका उपसभापति शर्माले आङ्देम्बेलाई दलको नेता बनाउन चाहेपछि थापा शर्मासँग सम्झौतामा आउन बाध्य भए ।

यसका लागि आगामी दिनमा गुट नचलाउने र सभापतिसहितको केन्द्रीय कार्यसमितिको नेतृत्वलाई हृदयदेखि मानेर जाने प्रतिबद्धता गरेपछि उनलाई दलको नेता बनाउन थापा सहमत भएका हुन् । उनले सभापति थापाको स्पिरिटमा हिँड्ने भन्दै सार्वजनिक घोषणा नै गरेका थिए । दल नेता चयनका लागि कार्यदलले छलफल गरिरहँदा आइतबार आङ्देम्बेले आफू सभापति थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न प्रतिवद्ध रहेको बताएका थिए भने आफूलाई कुनै पनि गुट–उपगुटमा कित्ताकाट नगर्न आग्रह पनि गरेका थिए ।
त्यसो त गत १९ चैतमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमै उनले दलको प्रमुख नेताको हैसियतमा सम्बोधन गरेका थिए । तत्कालीन समयमा विशेष महाधिवेशनको विरुद्धमा देउवा समूह सर्वोच्च अदालतमा मुद्दा लडिरहेको भए पनि उनले विशेष महाधिवेशनलाई स्विकार्दै पार्टी बदलेर आएको बताएका थिए । सांसद निर्वाचित भएयता पार्टीको शक्ति संघर्षमा कतै नदेखिएकाले पनि आङ्देम्बेलाई दलको नेता बन्न सहज भएको हो ।
आङ्देम्बे दलको नेता निर्वाचित भएसँगै ३ पटक प्रत्यक्ष निर्वाचित सांसद भइसकेका र हालसम्म राजकीय पद पनि नपाएका मोहन आचार्य पुनः सांसदमा मात्रै सीमित भएका छन् भने केसी आफ्नै ज्वाइँका कारण दोस्रो पटक कार्यकारी भूमिकामा जान रोकिएका छन् । कांग्रेसको १३औँ महाधिवेशनमा गगन पनि उम्मेदवार बनेका कारण केसीले महामन्त्री पदमा हार बेहोर्नुपरेको थियो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिका उम्मेदवार थिए भने ३ प्यानल चुनावी प्रतिस्पर्धामा थियो । केसी देउवा प्यानलबाट महामन्त्री उम्मेदवार बनेका थिए भने थापा सिटौला प्यानलबाट उम्मेदवार थिए । अन्ततः महामन्त्रीमा पौडेल पक्षबाट डा. शशांक कोइराला निर्वाचित भए । डा. शशांक १ हजार ४१७ मत ल्याएर विजयी हुँदा केसीले १ हजार १७ मत र थापाले ५८४ मत पाएका थिए ।
बासनालाई प्रमुख सचेतक र निष्कललाई सचेतक बनाउने तयारी


कार्यदलले संसदीय दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि टुंग्याएको छ । दैलेख–१ बाट निर्वाचित बासना थापालाई प्रमुख सचेतक बनाउने समझदारी बनेको हो । ४५ वर्षीया थापा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् भने कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एकजना मात्रै महिला हुन् । त्यस्तै, सचेतक इलाम–१ बाट निर्वाचित ३५ वर्षीय निष्कल राईलाई बनाउने समझदारी बनेको छ । प्रमुख सचेतक र सचेतक संसदीय दलको नेताले नियुक्त गर्नेछन् । नवनिर्वाचित दलका नेता आङ्देम्बेले २४ घन्टाभित्र प्रमुख सचेतक र सचेतक नियुक्त गर्ने बताइसकेका छन् ।
संवैधानिक परिषद्ले पायो पूर्णता
प्रमुख प्रतिपक्षी दलको नेता चयन भएसँगै संवैधानिक परिषद्ले पनि पूर्णता पाएको छ । संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेताको हैसियतमा आङ्देम्बेको सहभागिता रहनेछ । परिषद्का अन्य सदस्यमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रियसभा अध्यक्ष रहने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया