
काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको १२ वैशाखमा १ महिना पूरा भइसक्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको नेता छान्न सकेको छैन । एकपछि अर्को विकल्पमा छलफल भइरहे पनि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको फरक–फरक रोजाइ हुँदा सहमति जुट्न सकेको छैन । दुवै जना आ–आफ्नो रोजाइको व्यक्तिका नाममा सहमति जुटाउने प्रयासमा लाग्दा टुंगो लाग्न सकेको छैन । पुस्तान्तरणको कुरा उठाएर विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पुस्तान्तरण नचाहेर पुरानै पुस्ताका नेताहरूलाई अगाडि बढाएका हुन् । गगन–विश्वको रोजाइभन्दा फरक व्यक्ति अघि सार्दा पनि एकले अर्काको अस्तित्व नस्विकार्दा सहमति जुट्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ । सहमति जुटाउन कार्यदल गठन गरिए पनि कहिलेसम्म सहमति जुट्छ भन्ने यकिन हुन नसकेपछि कांग्रेस संसदीय दल अन्योलमा छ ।
शपथग्रहणपछिका केही दिन कांग्रेसले अन्य दलको नेता चयन र सार्वजनिक प्रतिक्रिया हेर्नकै लागि नेता चयन प्रक्रियालाई थाती राखेको थियो । अर्कातर्फ, पार्टी आधिकारिताको विषय पनि सर्वोच्च अदालतमा विचाराधीन रहेकाले गुट–उपगुटको अंकगणितका कारण पछि दलको नेतृत्व आफ्नो कमान्डबाट फुत्किन सक्नेमा सभापति सचेत देखिएर नेता चयन प्रक्रिया होल्ड गरेका थिए । पछि समानुपातिकतर्फबाट निर्वाचित अर्जुननरसिंह केसीलाई दलको नेता बनाउने गृहकार्य भएको थियो । तर, नाताले सभापति थापाका ससुरा केसीलाई नेता बनाउँदा नातावाद, कृपावादको आरोप लाग्ने भएपछि सभापति थापा दोस्रो विकल्पमा गएका थिए । थापाले रसुवाबाट प्रत्यक्ष निर्वाचित मोहन आचार्यलाई दलको नेतामा अघि सारेका थिए । तर, उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसद भीष्मराज आङ्दाम्बेलाई अघि सारेसँगै निर्वाचन प्रक्रिया नै रोकिन पुगेको हो ।
गत शुक्रबार मतदाता नामावलीसमेत प्रकाशित भइसकेको अवस्थामा अन्तिम समयमा आएर निर्वाचन प्रक्रिया रोकियो भने सहमति निकाल्ने भन्दै कार्यदल गठन गरियो । शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको नेता तथा कार्यसमिति चयन गर्ने प्रक्रियामा पार्टीको तर्फबाट समन्वय गर्न भन्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे रहेको कार्यदल गठन गरेको हो ।
केसीको विकल्प खोज्दा सभापति थापाले प्रत्यक्षतर्फ निर्वाचित सबैभन्दा सिनियर नेतालाई बनाउनुपर्ने भन्दै आचार्यलाई अघि सारेका हुन् । आचार्य रसुवाबाट लगातार ३ पटक निर्वाचित भइसकेका छन् । तर, शर्माले विगतमा देउवा समूहमा रहेका र पार्टीको सहमहामन्त्रीसमेत भइसकेको व्यक्ति भएकाले पार्टीभित्रको सिनियारिटी र सन्तुलन मिलाउन भन्दै आङ्दाम्बेलाई नेता बनाउनुपर्ने अडान कसेका छन् । यता, केसीले प्रत्यक्ष निर्वाचित सांसदलाई दलको नेता चयन गर्ने हुँदा आफू ब्याक हुने भन्दै समानुपातिकबाट चयन गर्ने हो भने आफू पनि उम्मेदवार रहेको भन्दै आङ्दाम्बेलाई सर्वसम्मत हुन नदिन अर्घेल्याइँ गरिरहेको कांग्रेस स्रोत बताउँछ । यसरी त्रिपक्षीय भिडन्तलाई देखाएर दलको नेता चयन नगरिए पनि गगन–विश्व एक ठाउँमा आए सहजै चयन हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
‘अर्जुननरसिंह केसी मोहन आचार्यलाई दलको नेता बनाउने सभापतिको निर्णयलाई साथ दिँदै आफू ब्याक भइसक्नुभएको छ । तर, आङ्दाम्बेलाई सर्वसम्मत उम्मेदवार हुन नदिन उहाँको अर्घेल्याइँ कायमै छ,’ ती नेताले भने, ‘आचार्य र आङ्दाम्बेमध्ये कसलाई बनाउने भन्नेमा सभापति र उपसभापतिबीच सहमति कायम हुन सकेमा सहजै दलको नेता चयन हुने अवस्था छ ।’
सभापति थापालाई नैतिक संकट
गत २०७९ को चुनावयता कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाको हरेक निर्णय र राजनीतिक लाइनलाई साथ दिँदै आएका विश्वप्रकाश शर्माले यस पटक भने आङ्दाम्बेका लागि सभापतिसँगै साथ मागेका छन् । शर्माले गत प्रतिनिधिसभाको संसदीय दल नेतामा तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध गगनलाई उम्मेदवार बनाउँदै उनको पक्षमा खुलेर लागेका थिए । विशेष महाधिवेशनबाट थापालाई सभापति बनाउन आफूले कुनै पनि पद नलिने घोषणा नै गरेका थिए । तर, थापालगायत नेताहरूकै जोडबलमा उपसभापति बनेका थिए । गत २१ फागुनको चुनावमा पनि पार्टीभित्र अरूलाई अवसर दिने भन्दै उनी उम्मेदवार बनेनन् । यसरी आफूलाई साथ दिँदै आएका शर्माले दलको नेता भने आफूअनुकूलको व्यक्ति बनाउन खोजेपछि सभापति थापा नैतिक संकटमा परेका हुन् । यद्यपि उनी प्रत्यक्ष र समानुपातिकको कार्ड खेलेर आचार्यलाई नै नेता बनाउने मौका हेरिरहेका छन् । उपसभापति शर्मा नेतृत्वको कार्यदलको बैठक शनिबार बसे पनि निष्कर्ष निकाल्न नसकेको अर्की उपसभापति तथा कार्यदल सदस्य पुष्पा भुसालले जानकारी दिइन् । आज आइतबार पनि बैठक बोलाइएको उनले बताइन् ।
०००
आचार्य ढुक्क, गगनको मन जित्ने कोसिसमा आङ्दाम्बे
सभापति थापाको समर्थन पाएका मोहन आचार्य संसदीय दलको नेता बन्नेमा ढुक्क देखिएका छन् । सौर्यको सम्पर्कमा आएको आचार्य निकट स्रोतले दलको नेता प्रत्यक्षतर्फबाट नै हुनुपर्ने बलियो माग दलभित्रै रहेको र ३ पटक निर्वाचित सांसद भएकाले दाबेदारी स्वाभाविक रहेको दाबी गर्यो । सभापति स्वयंको उम्मेदवार भएकाले अन्ततः आङ्दाम्बे पछि हट्ने जिकिर उसको छ ।
यता, आङ्दाम्बेले भने आफू देउवा पक्षमा नरहेको भन्दै संस्थापन पक्षलाई आश्वस्त पारेर मन जित्न खोजेका छन् । उनले आफू सभापति थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न प्रतिबद्ध रहेको भन्दै आफूलाई कुनै पनि समूहको लेबल नलगाउन आग्रह गरेका हुन् । ‘संसदीय दलको नेतामा मैले इच्छा र दाबी प्रकट गरिरहँदा मलाई यो या त्यो समूहको भन्ने लेबल नलगाउन आग्रह गर्छु,’ उनले भनेका छन्, ‘पार्टीको नयाँ योजना र सभापतिको स्पिरिटसँग कदम मिलाएर अघि बढ्न हामी सबै प्रतिबद्ध छौँ ।’
प्रतिक्रिया