कर्णालीमा भर्नाअगावै पुग्यो पाठ्यपुस्तक

पहिलो चरणमा कर्णालीका हिमाली जिल्लाहरूमा र बाँकी जिल्लामा दोस्रो चरणमा पाठ्यपुस्तक पठाइएको जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय सुर्खेतकी प्रमुख जमुना ढकालले बताइन्

सुर्खेत । सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यार्थी भर्ना सुरु हुनुअगावै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइएको छ । गत चैत १ गतेदेखि पाठ्यपुस्तक पु¥याउन सुरु गरी भर्ना सुरु हुनुअघि सबै जिल्लामा पु¥याइसकिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतकी प्रमुख जमुना ढकालले बताइन् । ‘कर्णालीका १० जिल्लाका लागि १० लाख थान पुस्तक ल्याइएको थियो,’ उनले भनिन्, ‘धेरै स्थानमा पुस्तक पु¥याइसकिएको छ । छुटेका केही ठाउँमा पठाउने काम भइरहेको छ ।’

कर्णालीका हिमाली जिल्लाहरूमा पहिलो चरणमा र बाँकी जिल्लामा दोस्रो चरणमा पाठ्यपुस्तक पठाइएको उनले बताइन् । चैत १ गतेदेखि १४ गतेसम्म डोल्पा र हुम्ला, चैत ५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालिकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते ३ दिन सुर्खेतमा पाठ्यपुस्तक वितरण गरिएको उनले बताइन् । सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ वैशाख र पठनपाठन १६ वैशाखबाट सञ्चालन गर्ने भनेको छ । कर्णालीका केही स्थानीय तहले भने भर्ना अभियान सुरु गरिसकेका छन् । विद्यार्थी भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाएपछि समयमै पठनपाठन सुरु हुने विश्वास गरिएको छ । जनक शिक्षाले सबै जिल्लामा पाठ्यपुस्तक पठाइसक्दा गोदाममा ७ हजार थान मौज्दात रहेकाले आवश्यकताअनुसार पठाउने तयारी गरिएको छ ।

कर्णालीका पहाडी जिल्लामा भर्ना अभियान सुरु भइसकेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाले वैशाख ७ गतेदेखि पालिकाभर भर्ना अभियान सुरु गरेको जनाएको छ । ९ देखि १५ गतेसम्म भर्ना अभियान र १६ गतेदेखि पठनपाठन सुरु गर्ने तयारी भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख विवेक विकले जानकारी दिए । डोल्पाको मुड्केचुला, शे–फोक्सुण्डो गाउँपालिका र सानीभेरी नगरपालिकाले पनि भर्ना अभियान सुरु गरिसकेका छन् ।

केही स्थानीय तहमा आइतबार विद्यालय बिदा नहुने

कर्णालीका कतिपय स्थानीय तहले सरकारले दिएको हप्तामा २ दिन बिदा कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएकाले उनीहरूले आइतबार बिदा नदिने निर्णय गरेका हुन् । नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारतभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिहरूको भनाइ छ ।

मुगुको छायानाथ रारा नगरपालिका, डोल्पाको मुड्केचुला, शे–फोक्सुण्डो गाउँपालिका गाउँपालिका र सानीभेरी नगरपालिका, जुम्लाको कनकासुन्दरी, सिंजा र तातोपानी गाउँपालिकालगायत स्थानीय तहले आइतबार बिदा नदिने निर्णय गरेका छन् । ‘सरकारले थप गरेको आइतबार बिदाले पाठ्यभार पूरा गर्न नसकिने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो,’ छायानाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुख विकले भने, ‘नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने भएका छौँ ।’

३ वैशाखमा बसेको डोल्पाको मुड्केचुला गाउँपालिकाको शिक्षा समिति बैठकले सरकारको गरेको निर्णय लागू गर्न नसकिने निर्णय गरेको हो । हिमाली जिल्लामा चिसोका कारणले पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार बिदाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गोपाल बुढाले बताए । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले वैशाख १५ गतेसम्म भर्ना अभियान र १६ गतेबाट पठनपाठन सुरु गर्ने शिक्षा शाखा प्रमुख केशराज जैसीले बताए ।

डोल्पाको ठुलीभेरी नगरपालिकाले पनि सरकारको निर्णय कार्यान्वयन नगरी पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा समितिले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरूमा पनि पठनपाठन सुचारु हुने जनाएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालन गरिनेछ । सिंजा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यहाँका कनकासुन्दरी, सिंजा र तातोपानी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक कार्यक्रम सुरु गरेका छन् । गत चैत १२ गते बसेको संघीय मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार गरी हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया