
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (वालेन) शाहले काठमाडौंका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सक्रियता देखाएका छन् । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुखसमेत रहेका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमा लेख्दै वर्षौँदेखि दोहोरिँदै आएको डुबान र असुरक्षित बसोबासको समस्या अन्त्य गर्ने लक्ष्य लिएको बताएका छन् ।
उनले हरेक वर्ष वर्षायाममा काठमाडौंका खोला किनारमा रहेका हजारौँ परिवारले बाढीका कारण ज्यान जोगाउन आफ्ना सबै जायजेथा छोडेर भाग्नुपर्ने नियति रहँदै आएको बताउँदै यस समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नु नै नागरिकको अधिकार भएको बताएका हुन् ।
अधिकार र भोटको राजनीतिका नाममा उनीहरूलाई जोखिमयुक्त अवस्थामै राख्नु मानवीयता नहुने भन्दै प्रधानमन्त्री शाहले सुरक्षित स्थानान्तरणको आवश्यकतामा जोड दिएका छन् । उनले थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूका कारण उपत्यकाको ढल निकास प्रणाली निर्माणमा समेत गम्भीर अवरोध पुगेको उल्लेख गर्दै यसले गर्दा नदीहरू दुर्गन्धित र प्रदूषित भइरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले बस्ती स्थानान्तरणपछि काठमाडौंको ढल निकास प्रणाली सहज हुने, नदी–खोलाहरू सफा र सुन्दर बन्ने र पूर्वाधार विकासका कार्यहरू द्रुत गतिमा अघि बढ्ने बताएका छन् छन् ।
उनले सरकारले देशभरका सुकुम्बासी समस्या समाधान गर्न अतिक्रमणकारी र वास्तविक पीडित छुट्याउने स्पष्ट नीति लिएको बताउँदै सरकारको १०० वटा गर्नै पर्ने कामको बुँदा नम्बर ९१ र ९२ मा उल्लेख भए अनुसार सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने कार्यलाई प्राथमिकतामा राखेका छन् ।
प्रधानमन्त्री शाहले काठमाडौं महानगरको यो समन्वयले वास्तविक सुकुम्बासीहरूलाई प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने र स्थायी समाधान खोज्ने वाचा गरेका छन् । बल प्रयोग नगरी मानवीय संवेदनासहित यो समस्या सुल्झाउन आन्तरिक तयारीहरू तीव्र पारिएको जानकारी दिएका छन् । उनले यस कदमले दशकौँदेखि बल्झिरहेको सुकुम्बासी समस्या समाधान हुने र काठमाडौं उपत्यकाले नयाँ स्वरूप पाउने विश्वास लिएका छन् ।
प्रतिक्रिया