महान्यायाधिवक्ता नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै परेको रिटमा कारण देखाऊ आदेश गरेको छ । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश कुमार रेग्मीको इजलासले कँडेललाई पदमुक्त गर्नु नपर्ने कारण भए लिखित रूपमा पेस गर्न विपक्षीका नाममा आदेश गरेको हो । सर्वोच्चले महान्यायाधिवक्ता कँडेललाई कुनै कामकाज गर्न नदिन अन्तरिम आदेश मागबारे छलफल गर्न १७ वैशाखमा दुवै पक्षलाई झिकाएको छ ।

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध बुधबार छुट्टाछुट्टै तिनोटा रिट परेका थिए । बिहीबार ती रिटमा प्रारम्भिक सुनुवाइ भएको हो । महान्यायाधिवक्ता कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै शिवराज बराल, माधव बस्नेत, दीपकराज जोशीलगायत अधिवक्ताले रिट दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको दाबी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानुन व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता कँडेलको सो अनुभव नभएको रिट निवेदनकको जिकिर छ ।

प्रतिक्रिया