
काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुलाई पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुको तत्काल रिहाइको माग गरेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आज एक प्रेस वक्तव्य जारी गर्दै नेविसंघका केन्द्रीय सदस्य ईं. भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल विसीलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विरोध गरेका हुन् ।
कांग्रेसले लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको मौलिक अधिकारमाथि प्रहार भएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ, ‘वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार हुन्, यस्ता अधिकारहरुको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व हो ।’
पक्राउ परेका नेताहरुलाई थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको ठहर छ । असहमतिलाई दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता र संविधानको मर्म विपरीत भएको प्रवक्ता चालिसेले उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसले असहमति र विरोधलाई दमन गर्नुको साटो संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरुलाई विना शर्त तत्काल रिहा गरियोस् र भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि कुनै प्रकारको अतिक्रमण गर्ने कार्य बन्द गरियोस् ।’

प्रतिक्रिया