
काठमाडौं । निजी विद्यालयसँग सम्बन्धित प्रमुख संघ–संस्थाहरूले विद्यालय शुल्कसम्बन्धी विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको भ्रामक तथा अतिरञ्जित सामग्रीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्णप्रसाद अधिकारी, एपेनका अध्यक्ष बद्रीप्रसाद दाहाल, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका अध्यक्ष युवराज शर्मा र एनएमएकि अध्यक्ष पवित्रा लिम्बूद्वारा जारी विज्ञप्तिमा निजी विद्यालयहरू नेपाल सरकारबाट विधिवत् अनुमति प्राप्त संस्था भएको र प्रचलित शिक्षा ऐन, नियमावली तथा स्थानीय तहका कानुनको दायराभित्र रही सञ्चालन हुँदै आएको स्पष्ट पारेका छन् ।
उनीहरुले शुल्क निर्धारणसम्बन्धी व्यवस्था पनि कानुन अनुसार नै तय हुने भएकाले कानुनी सीमाभन्दा बाहिर गएर शुल्क असुल गर्ने कार्य स्वीकार्य नहुने जनाएका छन् ।
विज्ञप्तिमा कुनै विद्यालयले अनाधिकृत रूपमा शुल्क लिएको पाइएमा सम्बन्धित निकाय वा सम्बन्धित समितिमा औपचारिक गुनासो दर्ता गर्न अभिभावकलाई आग्रह गरिएको छ । साथै विद्यालयलाई एकपक्षीय रूपमा नकारात्मक ढंगले प्रस्तुत गर्ने प्रवृत्तिले अभिभावक र विद्यार्थीमा भ्रम सिर्जना गर्नुका साथै सिकाइ वातावरणमै असर पार्ने चेतावनी दिइएको छ ।
संस्थाहरुले भर्ना शुल्क, मासिक पढाइ शुल्क, वार्षिक शुल्क तथा कानुनले तोकेका अन्य शुल्कहरूका अतिरिक्त भोजन, यातायात, विशेष प्रशिक्षणजस्ता सेवा उपभोग गरेबापत अभिभावकले शुल्क व्यहोर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेका छन् ।
यस्ता विषयमा अन्योल भएमा सम्बन्धित विद्यालयसँग प्रत्यक्ष संवाद गरी समाधान खोज्न सुझाव दिइएको छ । विज्ञप्तिमा निजी विद्यालयहरुले कुनै सरकारी अनुदान वा दान प्राप्त नगर्ने हुँदा शिक्षक–कर्मचारी व्यवस्थापन र भौतिक पूर्वाधार सञ्चालनका लागि शुल्क आवश्यक पर्ने उल्लेख गर्दै वैशाख महिनामा लाग्ने शुल्क यथावत रहने जनाइएको छ ।
‘शुल्क नलाग्ने’ वा ‘निःशुल्क हुने’ भन्ने प्रचार भ्रामक रहेको भन्दै त्यसप्रति सचेत रहन अभिभावकलाई आग्रह गरिएको छ । संस्थाहरुले शिक्षा क्षेत्रलाई साझा जिम्मेवारीका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयले देशको जनशक्ति निर्माणमा योगदान दिइरहेको बताएका छन् । त्यसैले सबै पक्षले जिम्मेवार, सकारात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया