
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । प्रतिनिधिसभाका १० वटा समिति छन् भने दुई वटा संयुक्त समिति छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखा समितिबाहेक सबै समितिको नेतृत्व आफैसँग राख्ने तय गरेको छ । लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने विषयमा छलफल चलिरहेको छ ।
यस्तोमा कांग्रेसले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तय भएको कांग्रेस सांसद भीष्मराज आङदेम्बेले बताए । ‘लेखा समितिको सभापतिमा उम्मेदवारी दिन्छौँ, अन्य समितिबारे विपक्षी दलसँग छलफल गरेर तय गर्छौँ,’ आङदेम्बेले भने ।
लेखा समितिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरी सदस्य छन् । उनीहरूमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरिएको छ । कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको आङदेम्बेले बताए ।
आज दिउँसो १ देखि ४ बजेसम्म सपभातिमा उम्मेदवारी दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजै दिउँसो साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ । संसदीय समितिका सभापतिका लागि शुक्रबार निर्वाचन हुँदै छ।
प्रतिक्रिया