
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र असन्तुष्ट नेताहरुसँग संवाद गर्ने जिम्मेवारी पार्टी सभापति गगन कुमार थापालाई दिएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टी अहिले १५औँ महाधिवेशनको तयारीमा रहेकाले महाधिवेशन गराउने गरी असन्तुष्ट रहेका सबै पक्षसँग छलफल गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको बताए ।
‘जो जिम्मेवारीमा छ, जो संस्थापन हो उसैको जिम्मेवारी हो, त्यसकारण पार्टीका सभापतिलाई हाम्रा पूराना अग्रज नेता, पुराना पदाधिकारीसँग संवाद गर्ने र पन्ध्रौं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि समन्वय गर्नका लागि पार्टी सभापति गगन कुमार थापाजीलाई जिम्मेवारी दिएका छौँ,’ उनले भने ।
केही नेताहरू असन्तुष्ट रहेको विषय आइरहेको भन्दै प्रवक्ता चालिसेले यससँग सम्बन्धित नेता, पुराना पदाधिकारी र केही महत्त्वपूर्ण नेताहरुसँग सभापति थापाले संवाद गर्ने बताए । महाधिवेशनको वातावरण बनाउन असन्तुष्ट पक्षसँग संवाद गर्ने निर्णय उनको भनाइ छ ।
यता आज बसेको कांग्रेस अनुशासन समितिले कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने प्रष्टीकरण सोधेको छ । खड्काले कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत रुपमा प्रेस विज्ञप्ति जारी गरेर विधान विपरित काम गरेको समितिले ठहर गरेको छ ।
प्रतिक्रिया